पोखरा आइपुग्यो ‘लहना र तीर’

पोखरा ।
नेपाली लेखक संघ गण्डकीले शनिबार प्रगतिवादी साहित्यकार अभय श्रेष्ठ केन्द्रीत कार्यक्रम गर्यो । अभयको नयाँ कविता कृति ‘लहना र तीर’को चिरफार गर्न मञ्चमा आइन् साहित्यकार सरस्वती प्रतीक्षा । प्रतीक्षा कुनै बेला वामपन्थी विद्यार्थी संगठनमै थिइन् ।
प्रजातन्त्रवादी लेखक संघको ब्यानरमा भएको नौलो कार्यक्रममा प्रतीक्षाले ‘एक कविलाई एक मित्रको पत्र’ शीर्षकमा कृतिमाथि टिप्पणी गरिन् । भक्तपुरको काँठका बासिन्दा कवि अभयको तेस्रो कविता सञ्चयन ‘लहना र तीर’ केही महिनाअघि बजारमा आएको हो ।
यसमा ४९ कविता सङ्गृहीत छन् । साहित्यकार सरस्वती प्रतीक्षाले श्रेष्ठको जीवन दर्शन र कविता उस्तै हुनु उनको सबैभन्दा सबल पक्ष भएको उल्लेख गरिन् । कवि श्रेष्ठले बुद्ध र कार्ल माक्र्सका विचारको जगमा कविता सिर्जना गरेको प्रतीक्षाको ठम्याइँ छ ।
‘आलोचकलाई सच्चा मित्र मान्ने अभयका कवितामा विचार र कलाको उचित संयोजन छ,’ प्रतीक्षाले थपिन्, ‘सँगसँगै बुद्ध र माक्र्सका विचारलाई पनि कलात्मक तवरले कवितामा प्रयोग गरिएको छ । यो कृति समकालीन युगको शक्तिशाली दस्तावेज बनेको छ ।’
आलोचकलाई सच्चा मित्र मान्ने अभयका कवितामा विचार र कलाको उचित संयोजन छ
सरस्वती प्रतीक्षा
अभयलाई उनले रैथाने स्वादका अर्गानिक कविका रुपमा समेत चिनाइन् । किनारीकृत, उत्पीडित र आममान्छेका मुद्दा बोक्ने कविता सङ्ग्रहका चार/पाँच कविता भने विषयवस्तुको दृष्टिले कमजोर रहेको उनले औंल्याइन् । ‘कविता संख्या ४९ बनाउँछु भनेरै राखिएका ४/५ कविता सपाट खालका छन्,’ प्रतीक्षाले भनिन्, ‘जसरी माली निर्मम नभए बगैँचा अब्बल हुँदैन, कवि पनि निर्मम हुनैपर्छ ।’
साहित्यकार सरुभक्तले कवितालाई महानगरको उपमा दिए । उनले साहित्यकारहरु दलका विभाजित हुन नहुने विचार राख्दै कवि, समालोचकले लेख्ने, बोल्ने भनेको किनारबाट महासागर नियाले जस्तो भएको तर्क गरे । भने, ‘कविता महानगर हो । कविले किनारमा पूरै महासागर देख्नै सक्दैन ।’
कवि श्रेष्ठले नेवारी र नेपाली संस्कृतिका मिथकहरु कवितामा प्रयोग गरेको जनाए । उनले नेवारी भाषाका केही शब्दलाई प्रचलनमा ल्याउन पनि नेपाली कविता संग्रहमा प्रयोग गरेको जनाए । अहिलेको सत्ता र प्रगतिवादी कित्ताका कविता लेख्न चाहनेले वर्ग सत्ता, जात सत्ता र लिंग सत्ताबारे गहिरो ज्ञान राख्न उनले सुझाव दिए । पोखरेलीलाई अभयले आफ्ना केही रोज्जा कवितासमेत सुनाए ।
नेपाली लेखक संघ गण्डकी अध्यक्ष डा ईश्वरमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ र साहित्यकार दीपक समीपले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया