पब्लिक टेलिभिजनले तीज विशेष कार्यक्रम गर्ने

समाधान संवाददाता २०८१ भदौ ३ गते ११:११

पोखरा ।
पोखराबाट प्रसारण हुने पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । टेलिभिजनमा नियमित रुपमा पब्लिक लाइभ दाहोरीसमेत सुरुआत गर्ने गरी भदौ ७ गतेदेखि तीज विशेष कार्यक्रम गर्न लागेको हो ।

Advertisement


कार्यक्रम भदौ ७ गतेदेखि हरेक दिन दिउँसो २ बजेको समाचारपछि तिज विशेष लाइभ दोहोरी तथा मौलिक तिजे भाकाहरुको प्रसारण हुनेछ । सोही कार्यक्रमको पुनः प्रसारण राति ९ बजेपछि हुनेछ । अश्लील र छाडा बन्दै गएको तीजमा मौलिक तीज भाकाहरु पस्कन तीज विशेष कार्यक्रम आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए ।


तीज विशेष कार्यक्रम ऋषिपञ्चमीसम्म सञ्चालन हुनेछ । त्यसपछि भने हरेक हप्ता पब्लिक लाइभ दोेहोरीसमेत सञ्चालन हुने प्रबन्ध निर्देशक क्षेत्रीले बताए । ‘तीज भाकाहरु पर्व गीत हुन् ।

पर्व गीतको मौलिकता जोगाउन आमा दिदीबहिनीका गीतहरु स्टुडियोमा रेकर्ड गरिने दैनिक प्रशारण गरिनेछ,’ उनले भने, ‘परम्परागन लोक भाकालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।’


तीज गीतको नाममा विकृति मौलाएको बेला पब्लिक टेलिभिजनले मौलिक तीज गीतलाई प्राथमिकता दिनु महत्वपूर्ण भएको वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाले बताइन् ।

Advertisement


तीज विशेष कार्यक्रममा हरिदेवी कोइराला, पार्वती जिसी, मामा गुरुङ, सरिता सारु, मञ्जु विक, सरस्वती लामिछाने, सिमा सारुमगर, कमला सुनार, जीवन दाहाल, रामजी पौडेल, शिवहरि ढुंगाना, टेक क्षेत्री, अनिल चापागाईं, नेत्र खड्काले प्रस्तुति दिनेछन् ।

बागलुङबाट सरस्वती खड्का र अञ्जु जिसीले आफ्नो प्रस्तुति पस्किनेछन् । बाटुलेचौरका गन्धर्व आमा समूहहरुले परापूर्वककालदेखि गाउँदै आएका परम्परागन गीतहरुसमेत प्रस्तुत हुने टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले बताए । कार्यक्रम पब्लिक टेलिभिजनसहित फेसबुक र युट्वुवको माध्यमबाट प्रसारण हुनेछ ।

तपाईको प्रतिक्रिया