भुजुङ र नम्डुका घोडा च्याम्पियन

यार्तुङमा स्वादिष्ट परिकार बनाएर खाने, घोडा कुदाउने, तारा खेल्ने र स्याब्रो गीत गाउँदै नाच्ने गरिन्छ

समाधान संवाददाता २०८१ भदौ ४ गते १२:१७

जाेमसाेम ।
मुस्ताङमा हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थलमा मुक्तिनाथ क्षेत्रमा बिहीबारदेखि सुरु भएको यार्तुङ सोमबार सकिएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ यहाँ हर्षाेल्साका साथ विभिन्न कार्यक्रमसहित मनाइएको छ ।

Advertisement


हिउँद याम अन्त्यसँगै मनाइने यार्तुङ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका नागरिकले निकै महत्वका साथ मनाउने प्रचलन छ । यार्तुङ मुस्ताङको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पर्व हो । यारको अर्थ बर्खा र तुङको अर्थ अन्त्य भन्ने बुझिन्छ । बर्सेनि बर्खा यामको खेतीपातीको कामकाज सकेर हिउँद यामलाई स्वागत गर्न मनाइने यार्तुङ पर्वमा यहाँका नागरिक फुर्सदिला हुन्छन् ।


यही फुर्सदिलो समय पारेर परापूर्व कालदेखि यार्तुङलाई सांस्कृतिक रुपमा मनाउने प्रचलन रहेको हो । यो पर्वमा ईष्टमित्र, आफन्तजन, छरछिमेकी र गाउँले एक थलोमा भेला भएर रमाइलो गर्छन् । पर्वमा मौलिक भेषभूषामा सजिएर स्वादिष्ट परिकार बनाएर खाने, घोडा कुदाउने। तारा खेल्ने र स्याब्रो गीत गाउँदै नाच्ने गरिन्छ ।


पछिल्लो समय सांस्कृतिक रुपमा मनाउने गरिएको यार्तुङ लोप हुने अवस्थामा रहेकाले नागरिक निकै चिन्तित छन् । बढ्दो बसाइसराई, युवाको विदेश पलायन र पाश्चात्य संस्कृति अनुशरणले यार्तुङ पर्वको महत्व विस्तारै घट्दो क्रममा छ । सदिर्यौंदेखि निरन्तर चल्दै आएको यार्तुङ पर्व संरक्षणm प्रर्वद्धन र पुस्तान्तरण हुने नसके पर्वका साथै जातीय पहिचान नै गुम्ने स्थानीयको चिन्ता छ ।


वारागुङ १ मुक्तिनाथ स्थित जनप्रिय युवा क्लब पुराङ रानीपौवाले यस प्रकारको यार्तुङ पर्वलाई बृहत मेलाको रुपमा सञ्चालन गर्दै आएको क्लब अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । उनले विस्तारै विभिन्न कारण हिमाली क्षेत्रका चाडपर्वको रौनक र महत्व लोप हुने अवस्थामा रहेको भन्दै चिन्ता प्रकट गरे ।

Advertisement


वारागुङ मुक्तिक्षेत्र १ वडाध्यक्ष प्रमेश गुरुङले मुस्ताङको धर्म, संस्कृतिक कला, भेषभूषा र रहनसहन जोगाएर अघि बढ्नुपर्ने बेला आएको बताए । यार्तुङ हिमाली भेंगको मुख्य पर्व भएकाले यसको संरक्षण र प्रर्वद्धनका लागि स्थानीय सरकारले विभिन्न कार्य गर्दै आएको उनले जनाए ।


विगतझै यस वर्ष पनि जनप्रिय युवा क्लबले मुक्तिनाथ क्षेत्रमा यार्तुङ पर्वलाई मेलाको रुपमा सञ्चालन गरेको छ । मेलामा हिमाली सभ्यता र संस्कृतिसँग जोडिएको मौलिक संंस्कृतिक परम्परागत खेललाई प्राथमिकतामा दिइयो । आइतबार प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ रानीपौवा बजार क्षेत्रमा दुई दर्जनभन्दा बढी घोडा कुदेका थिए । साहसिक घोडा दौड र कदम घोडा दौड प्रतियोगिता आइतबार भएका हुन् ।


यार्तुङ घोडा दौडमा सहभागी हुने उपल्लो मुस्ताङ र मनाङसहित वारागुङ मुक्ति क्षेत्रका खेलाडी तथा स्थानीय नागरिकले घोडाको कलाकौशल र रेशमा भाग लिएका थिए । यसअघि बर्सेनि घोडा दौड प्रतियोगिता हुने गरे पनि मुस्ताङकै इतिहासमा फरक प्रकारको घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो । घोडा दौडमा उपल्लो मुस्ताङ र मनाङबाट एक/एक जना र वारागुङ मुक्तिक्षेत्रबाट ३ जना गरी ५ जना निर्णायक थिए ।


यार्तुङको अवसरमा आयोजना गरिएको कदम घोडा दौडमा जातीय मौलिकता, घोडाको सिंगार र घोडाको कुद्ने शैलीलाई निर्णायकले अंक दिएर विजेता छानेका थिए । ५० अंकको कदम घोडा दौड प्रतियोगितामा टंकी मनाङबाट सहभागी भुजुङ गुरुङको साक्पा घोडा प्रथम भयो । उक्त घोडा टंकी मनाङका छेन्डुक गुरुङले हाँकेका थिए । कदम घोडा दौडतर्फ वारागुङ मुक्तिक्षेत्र ३ छुसाङका कान्छा गुरुङको मनाङे घोडा दोस्रो र मनाङबाट सहभागी खुसी तामाङको रेम्बो घोडा तेस्रो बने ।


कदम घोडा दौडका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १ लाख, ५० हजार र २५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । मुक्तिनाथ क्षेत्रको खुम्जुकदेखि रानीपौवा बजारसम्मको ५ किमीमा प्रतिस्पर्धा भएको साहसिक घोडा दौडामा झारकोटका नम्डु गुरुङका २ घोडा प्रथम र द्वितीय भए । मनाङबाट सहभागी खुसी गुरुङको रेन्बो घोडा तेस्रो भयो । घोडा दौडका विजेताले क्रमश नगद ५० हजार, २५ हजार र १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।


मुक्तिनाथ क्षेत्रमा घोडा दौड हेर्न सयौं उपस्थित भएका थिए । दर्शकले खचाखच भरिएको रानीपौवा बजारमा घोडा दौडका विजेतालाई जनप्रिय युवा क्लबका पदाधिकारी र स्थानीयर्ले दिएका थिए । हिमाली क्षेत्रमा पालन गरिने घोडालाई लक्षिनको रुपमा लिने गरिन्छ । यस्ता घोडा महत्वपूर्र्ण चाडपर्वमा प्रयोग हुन्छन् भने घोडालाई भारी बोकाउने, दाउरा टिप्ने र मल बोकाउने कामकाजमा समेत प्रयोग गर्ने गरिएको छ ।


मेला अन्र्तगत हिमाली क्षेत्रमा शिकार खेल्दा प्रयोग गरिने धनुष वाँण प्रतियोगितामा जोमसोमको फाइभ स्टार ग्रुप च्याम्पियन बन्यो । तारा खेलको रुपमा विकास भएको धनुष वाण प्रतियोगितामा फल्याकको शेरघाङ लुङबुक युथ क्लव दोस्रो र ब्रदर युनाइटेड तेस्रो भए ।


यार्तुङ मेला हाइ अल्टिच्युड सेभन ए साइड फुटबल प्रतियोगितामा जन मुक्ति युवा क्लब ठिनी च्याम्पियन बन्यो भने थोरङपास युथ क्लब खिङ्गा उपविजेता भयो । मेलामा पुरुष र महिलाका लागि मनोरञ्जनका रुपमा डोरी तान्ने खेल प्रतियोगितासमेत भएको थियो ।


यार्तुङ जोगाउन युवा पुस्तालाई सक्रिय बनाउन लागिपरेको जनप्रिय युवा क्लबले खेलका माध्यमबाट युवालाई संगठित गर्ने पहल गरिरहेको छ । मेलामा ख्याति प्राप्त कलाकारले कन्सर्टसमेत देखाएका छन् ।


यार्तुङ मेलाको पाँचौ तथा अन्तिम दिन सोमबार मुक्तिनाथ रानीपौवामा धार्मिक तथा सांस्कृतिक प्रचलन अनुसार यार्तुङ पर्व मनाईएको छ । स्थानीयले मौलिक भेषभूषामा सजिएर स्थानीय भाषाको गीत गाउँदै स्याब्रो नृत्य गरेका थिए ।

तपाईको प्रतिक्रिया