गाउँलाई बचाउने व्यावहारिक बाटो

सुरेन्द्रबाबु तिवारी २०८१ भदौ ४ गते १२:४७

‘धेरै वर्ष
लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कँदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरू
‘साला पहाडमे क्या है’
हो, केही छैन ‘साला’ पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा’

कवि मीनबहादुर विष्टको आजभन्दा करिब ५० वर्ष पहिलेको नेपाली अर्थराजनीतिक परिवेशमा लेखिएको ‘साला पहाडमे क्या है’ कविता संग्रहबाट साभार गरिएको माथिको कवितांश ‘केही छैन, तर जरुर केही छ पहाडमा’ अलिकति विरोधाभाषपूर्ण पनि लाग्न सक्दछ र पनि पहाडको बिम्बसँग हाम्रा गाउँहरुको वर्तमान र भविष्यबारे कुरा गर्ने जमर्को यहीँबाट सुरु गरियो ।

यहाँ ‘जरुर केही छ पहाडमा’ भनेजस्तो मलाई एक जना १५ वर्ष अगाडि युरोप भास्सिएका मित्रले विकास योजना र निर्माणको क्षेत्रमा पैसा नलाग्ने गरी, फ्रीमा एउटा बहुमूल्य सल्लाह दिए र उनको सल्लाहको सारांश भनेकै ‘गाउँलाई गाउँजस्तो बनाऔं’ भन्ने थियो।


उनले गाउँ आएको बाटो चलचित्रको चर्चित गीत ‘राई माईलाले गाउँ छोड्यो रे..’सम्झाउँदै थप कुरा पनि भने । त्यो के भने अब पनि सचेत भएर केही गरिएन भने गाउँ उठ्नै नसक्ने गरी थला पर्ने छ । ‘हजारौं राई माईलाहरुलाई योजनाबद्ध तवरले गाउँ फर्काउन सकिएन भने गाँउ त थला पर्ने नै छ सँगसँगै सामाजिक अर्थतन्त्र तंग्रयाउन पनि त्यति सजिलो हुने छैन । केही न केही त गर्नै पर्दछ । मेरा अनन्य मित्रका विचार र प्रस्तुति रोचक र समाधान उन्मुख छन् ।

Advertisement


सामाजिक उद्यमशीलताले नै उत्पादकत्व बढाउन सकिने र गाउँलाई गाउँ जस्तै राखेर विकास गर्न सकिने उनका तर्क सुनिरहूँ जस्तो लाग्छ । उनले स्वदेशको र आफू विदेशमा रहँदाको आफ्नो अनुभव र अनुभूति गज्जब तरिकाले सुनाए । धेरै विषयवस्तु उठाएकोमा टड्कारो रुपमा उनले मानव स्वास्थ्य र प्रकृतिको तालमेल गर्दै एउटा अर्को पर्यटन उपजको कुरा गरेका छन् । जसको नाम वेलनेस टुरिजम हो । नेपालीमा उल्था गर्दा यसलाई कल्याण पर्यटन पनि भन्न सकिन्छ ।


यो छोटो लेख उनै मित्रसँगको वार्तालापमा आधारित छ । यो अभियान ‘गाउँलाई गाउँजस्तो बनाउने’मा उनलाई नैतिक बल मिलोस् भनी उनैप्रति समर्पित पनि छ । कल्याण टुरिजम एसोसिएसनले कल्याण यात्रालाई यसरी परिभाषित गरेको छ–यात्रा जसले कसैको कल्याणको भावनालाई समर्थन गर्दछ वा बढाउँछ र यात्रीलाई स्वस्थ जीवन शैली जारी राख्न, विस्तार गर्न वा सुरु गर्न अनुमति दिन्छ ।

Advertisement


दुई प्रकारका पर्यटकले वेलनेस पर्यटन उद्योगलाई बढाउन सहयोग गर्दछन् । एकथरी बौद्धिक, कल्याणप्रति सचेत यात्रीले त्यस्ता शान्त प्राकृतिक स्थानहरू, बासस्थानहरू र अनुभवहरू खोज्छन् जसले ध्यान, योग सँगसँगै व्यायामको तालिका, पौष्टिक आहार सम्मको जानकारी अद्यावद्यिक राखेका हुन्छन् । अर्काथरी जीवन कल्याणसँग सम्बन्धित चासोहरू राख्दछन् । यिनीहरु अलि बेसी आध्यात्मिक प्रकृतिका हुन्छन् ।

आत्मा, दिमाग र शरीरको सन्तुलन, प्रकृतिसँगको तादाम्यता, हावा, पानी, माटो र जैविक विविधता अक्षुण राख्दै स्वच्छ सफा, सुन्दर, सभ्य र सौम्य पर्यटकीय उपज र यसको दिगोपनासँग जोडिएका मानवीय गतिविधिसँग साक्षात्कार गर्न मन पराउँछन् । यिनीहरु गुणस्तरीय पर्यटकमा दह्रिन्छन् । यी यावत प्रकृति प्रदत्त सेवा सबै गाउँमै सम्भव छ ।


गाउँमा स्वास्थोपचारका परम्परा एवं अभ्यास, आयुर्वेदको ज्ञान, जडीवुटी, वनस्पति, झरना, खोला, पानीको मुहान, ताल पोखरी चाडपर्व, मेला पनि ध्यान स्वस्थ अनुभव र आनन्द प्राप्तिका साधन बन्न सक्छन् । हाम्रा पहाड, हिमाल, नदीका तीर, तराइका हरियाली फाँट, पानीका मुहान, जंगल, तालहरु लाखौ कल्याणकारी पर्यटन सेवा खोज्दै आउने पर्यटकका लागि तंग्रिने, स्वास्थ्य लाभ गर्ने स्थल हुन सक्छन् । यी तमाम चीज प्रकृतिमा उपलब्ध छन्, जसको प्राप्ति र उपयोग गरेर धनाढ्यहरुलाई स्वस्थ अनुभव प्रदान गरी राम्रै खर्च गराउन सकिन्छ । प्रकृति धेरै खर्च गर्न सक्ने नयाँ पुस्ताको लागि नयाँ विलासिता (न्यू लक्जरी) हुन पुगेको छ ।

गाउँ अस्तित्वको उद्गमस्थल र जीवनदाता हो, सभ्यता सिकाउने जननी हो । श्रम र सहयोगी भावना अझै कतै ज्यूँदै छ भने गाउँमा छ ।


धेरै कुराले गाँउको महŒव छ । गाउँ हाम्रो अस्तित्वको उद्गमस्थल र जीवनदाता हो । हामीलाई सभ्यता सिकाउने जननी हो । औषधिसरीका जैविक अन्नबाली तथा फलफूल गाउँमै उब्जाइन्छन् । श्रम र सहयोगी भावना अझै कतै ज्युँदै छ भने त्यो गाउँमा छ । सुन्दरता र स्वच्छता सहितको प्राकृतिक अस्पताल लाग्ने स्वस्थकर हावापानी त्यतै अनुभव गर्न सकिन्छ । अमृतमय खानेपानीका मुहान त्यतै छन् । अनेकौँ प्रकारका मृतसञ्जीवनी औषधी बनाउन सकिने जंगल/जडीबुटीका भण्डार त्यतै छन् । सर्वेक्षण, खोज, पहिचान गरी खन्न बाँकी रहेका खनिज पदार्थका खानी त्यतै छन् ।


जीवन्त अनुभव र ज्ञान दिने परिवेश गाउँमा पाइन्छ । झर्रा नेपाली शब्दसहित नेपाली भाषाको प्रयोग पनि गाउँमै हुन्छ । हाम्रा गाउँहरु गुल्जार बनाउने, हरियाली, हराभरा प्रकृतिलाई पुनर्भरण गर्ने कार्य भनेकै हाम्रै पुस्ताले गर्ने हो । हाम्रा गाउँ प्रकृति र यहाँको हावापानी र वातावरण शान्त तवरले मनोसामाजकिक रोग निदान गर्ने खुला अस्पताल बन्न सक्छन् । उनी भावुक बन्दै यी सबै कुरा धाराप्रवाह बोलिरहेका छन् । म किंकर्तव्यविमूढ भई सुनिरहेँ ।


हामीले चाहेको गाउँको भविष्य अरु कोही आएर बनाईदिने कुरा भएन । यसको सामाजिक इन्जिनियरिङ हामी आफैंले गर्नुपर्दछ । इतिहास हेर्दा थाहा हुन्छः २०२४ सालमा राजा महेन्द्रले गाउँ फर्क अभियान सुरु गरेर मन्त्री र उच्चस्तरीय सरकारी कर्मचारी श्रमदानका लागि वर्षमा १५ दिन अनिवार्य गाउँ जानुपर्ने बनाएका थिए । तर तात्किक रुपमा त्यो अभियानले गाउँको विकासको जग बसाउन सकेन । अहिले त्यो अवस्था छैन ।अधिकांश गाउँमा बाटो छ, बिजुली छ, खानेपानी सुविधा छ, सामान्य स्वास्थोपचार छ, मोबाइल, इन्टरनेट छ, राम्रो विद्यालय छ तर ५ सय जनाको वस्ती घटेर ५० मा आएको छ ।


गाउँमा बाटो पुग्यो, आँगनमा बाटोले छोयो घरमा भोटेताल्चा लागेको छ । बस्ती खाली हुँदै गएको छ, थप्पिने क्रम छैन । गाउँमा उत्पादित बस्तुको बजार छैन भने पनि हुन्छ । गाउँले पेशा र ईलम विस्थापित हुन बाध्य छन् । यसरी राज्यको दायित्व बढेको छ उत्पादनमुखी कार्यबाट फाइदा लिन नसकेकोले गाउँ बस्ने बातावरण बनेको पनि छैन । नेपालमा विकास गाउँ पुग्दै छ भने बस्ती रित्तिँदै छन् । हाम्रो विकासको मोडेल उत्पादनसँग जोडिने बनाउन सकिएको छैन । नेपालको जनगणना २०७८ अनुसार समग्र सहरीकरणको दर ५ प्रतिशतभन्दा बढी छ ।


कुनै कुनै सहर त ७ प्रतिशत हाराहारीमा बढिरहेका छन । मध्यपहाडी राजमार्गले छोएका २० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ । यसै पनि नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा मुनि (०.९२) अर्थात् विश्वको औसत वृद्धिदर १.०१ प्रतिशतभन्दा तल छ ।


गाउँमा अझै मौलिकता जीवित छ । गाउँमा आफन्तपन, न्यानोपन पनि छ । गाँउको प्रकृति, परम्परा, संस्कृति र मौलिकतालई कायम गर्दै दीर्घकालीन रूपमा नेपालमा रोजगारी सिर्जना गर्न दक्षिण एसियाका अरू देशसँग तुलना गर्दा हाम्रा लगानीका प्रतिस्पर्धी क्षेत्रमध्ये कल्याणकारी पर्यटनमा लगानी विस्तार गरी गाउँलाई गाउँजस्तो पर्यटकीय उपजको रुपमा विकसित गर्न सकिन्छ । गाउँकै जडीबुटीमा आधारित औषधी उद्योग, निर्यातबाट प्रशस्त पैसा कमाउन सक्ने प्रचुर सम्भावना भएको सूचना प्रविधि, जैविक खेती यस्तैगरी गाउँको स्वच्छ, सफा हराभरा पर्यावरणमा रहेका सार्वजनिक शिक्षालयलाई राम्रो बनाएर भारत र चीनका विद्यार्थीलाई आवासीय सुविधा दिएर पढाउन पनि सकिन्छ ।


गफैगफमा उनको मुखबाट फुत्किएका ज्ञानगुनका कुराहरु मननयोग्य लागेर यहाँ प्रस्तुत गरेको हुँ । गाउँलाई गाउँ जस्तै बनाउन उपयुक्त विकास योजनाको टड्कारो खाँचो छ । नेपालमा देशभित्रै केही गरिखाऊँ भन्ने तप्कामा समेत सामाजिक र आर्थिक असुरक्षाको महसुस भइरहेको छ । राजनीतिक स्थिरता, विकास र समृद्धिका हिसाबले देश कता जाला भन्ने अन्योल कायमै रहेको दुखेसो त्यी मित्रले गरिरहन्छन् । उनीमात्र होइन, स्वदेशमा बस्ने ठूलो पंक्ति यो मनस्थिितिबाट गुज्रिरहेको छ । आफू यहाँ गरिखाने अवस्था नभएर युरोपतीर लागेको र १५ वर्षपछि आउँदा पनि यहाँ अव यो गाउँको उजाड परिस्थितिले गर्दा आफूले चाहेर पनि बस्न नसकेको गुनासो गर्दै उनी यी कुराहरु मलाई सुनाईरहेका थिए ।


उनी थप्दै गए, ‘प्रदेश–प्रदेश, दुर्गम–सुगम, गरिब–धनीबीचको आर्थिक र सामाजिक असमानतालाई घटाउने प्रभावकारी नीति र कार्यक्रमको कार्यान्वयन भए गाउँ गाउँ जस्तो रहन्छ । अवस्था सप्रिनेछ । विदेशमा बस्नेहरुले पनि आखिर धेरै समय श्रम गर्ने नै हो । महŒवपूर्ण कुरा के भने त्यहाँ सिस्टम छ, सिस्टमले काम गर्दछ र सिस्टम प्रतिको भरोसा छ ।’


हामी आफैंले मनन गर्दा पनि एउटा कुरा अगाडि आउँछ कि नेपालको ठूलो पूँजी नेपाली ‘डायस्पोरा’ हो । आफ्नो मातृभूमिमा पैसा पठाउने हिसाबले नेपाल विश्वमा नवौं देशमा पर्छ । सन् २०२२ मा कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत जति विप्रेषण भित्रिएको छ । समाजको खुलापन र लोकतन्त्रको प्रक्रियासँगै नेपालभित्र र बाहिर के भइरहेको छ भन्ने चासो, निगरानी र जानकारी राख्ने नेपालीको संख्या पनि बढेको छ ।

मेरा मित्र जस्तै मन पनि भएका धन पनि लगानी गर्न सक्ने धेरै नेपाली तयार भईरहेका छन् । सामाजिक उद्यमशीलता विकासका कार्यक्रमहरु डिजाइन गरेर हामीले नीतिगत तहबाटै पहल कदमी गरेर कमसेकममाथि उल्लेख गरेजस्तै पर्यटकीय उपजहरु तयार गरेको खण्डमा गाउँलाई जस्ताको तस्तै राखेर आर्थिक सामाजिक समुन्नति हासिल गर्न सकिन्छ ।


नेपाली सेयर बजारमा देखिएको कारोबारले पनि लगानी गर्न इच्छुकहरु बढिरहेको देखाउँछ । तर अन्य विश्वसनीय माध्यम नभेटेको भान हुन्छ । यसरी स्वदेश र विदेशबाट लगानी भिœयाउन सकिने र गाउँलाई गुल्जार बनाउन सक्ने कल्याणकारी पर्यटकीय उपजमा लगानी, यसको सञ्चालन र विशिष्टिकरण गर्न ढिला नगर्ने हो कि ? यसो भयो भने मेरा मित्रले हृदयभित्रबाटै मलाई गरेको आव्हान हामी सबैका लागि प्रेरणादायी बन्न सक्छ । कवि मीनबहादुर विष्टको ‘तर जरुर केही छ पहाडमा’ पनि पुष्टि हुनेछ । राई माइलाहरुले पनि आफ्नो इलमको बजार नपाएर सहर भौंतारिरहनु नपर्ला । उनीहरु आफ्नै गाउँ पुनर्निर्माणमा गति थप्नेछन् । गाउँलाई गाउँ जस्तो राख्ने छन् ।


लेखक पोखरा महानगरपालिका सहरी योजना आयोग सदस्य हुन् ।

तपाईको प्रतिक्रिया