पहेंलपुर रत्नेचौर, तोरी खेतीको ‘हब’ बन्ने सम्भावना

समाधान संवाददाता २०७५ माघ ११ गते ७:२९

राकेश शर्मा-म्याग्दी

म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर गाउँ तोरी खेतीको हब बन्दै गएको छ । रत्नेचौरका किसानले तोरी खेतीलाई नगदेबालीदेखि पुर्खौली बालीको रुपमा लगाउन थालेका छन् ।

रत्नेचौर तोरी खेतीको हबकारुपमा विकास हुने स्थानीयले बताएका छन् । रत्नेचौर लगायतका ठाउँका अधिकांश किसानले जंगली जनावरले नखाने र नष्ट पनि नगर्ने भएपछि तोरी खेतीलाई विकल्पको खेतीमा अंगाल्दै आउन थालेका हुन् । यतिखेर तोरीको फूल फुलेर सिंगो गाउँनै पहेंलपुर भएको छ । सिञ्चाइ पनि धेरै नचाहिने र वन्यजन्तुले पनि हानी नगर्ने भएकाले तोरी खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

Advertisement

तोरी खेतीलाई हिजो बाध्यताले लिइन्थ्यो, अव त्यो अवस्था नभएको भन्दै वैकल्पिक खेती सुरु गरिएको किसान बताउँछन् । चाहेको समयमा बिक्री हुने र मनग्ये पैसा पनि आउने र आज भोली बजारको तेलको प्रयोग गर्दा अखाध्य वस्तु मिसाइएको हुने भएकाले गाउँ घरमै तोरी उत्पादन थालिएको ढुक्क बताउँछन् । स्थानीयले आफैले उत्पादन गरेको तोरीको तेल प्रयोग गर्दा आनन्दा आएको बताउन थालेका छन् ।

एकपटक छरेपछि गोडमेल र सिञ्चाइ पनि गर्नु नपर्ने भएकाले आफूहरुलाई तोरी खेती सहज र दरिलो नगदेबाली लागेको किसान सन्तोष सुवेदीले बताए । ‘हिउँदमा गहुँ खेती गरे पनि गहुँलाई उत्पादन गर्न निकै खर्चिलो र समय बढी लाग्ने भएकाले हामीहरु यसतर्फ आकर्षित भएको हौं ।’ सुवेदीले भने, ‘गहुँ छर्दा बाँदरले खाने, बँदेलले खाने हैरानै परिन्थ्यो ।’ अहिले गाउँभरि तोरी खेती हुन थालेको छ । सिञ्चाइ सुविधा भएको ठाउँमा गहुँबारी भित्र लगाए पनि दुबै बाली हुने भएपछि तोरी खेती फस्टाउन थालेको छ ।

Advertisement

५ सय रोपनी खेतमा स्थानीयले तोरी खेती गरेको किसान भरत खत्रीले बताए । तोरी बालीलाई सिञ्चाइ नचाहिने र स्वाद नमिठो हुने भएकाले बन्यजन्तुले पनि हत्तपत्त नोक्सान नगर्ने उनको भनाइ छ । रत्नेचौरको सिमानामा पर्ने बागलुङ क्षेत्रमासमेत तोरी खेती गर्न लागिएको उनको भनाइ छ । गाउँकोबीचमा रहेको खेती योग्य जमीनमा सबैले तोरी खेती लगाएका छन् । ‘रत्नेचौरका किसानको नगदेबालीकारुपमा वैकल्पिक खेतीतर्फ ध्यान जान थालेको छ’ खत्रीले भने, ‘आकाशे खेती गर्दा भदैया धानबाहेक अन्य धान पनि उब्जदैन,’ कतिपय किसानको खेत बाँझै छ ।

सरकारी निकायले तोरी खेती गर्ने किसानलाई कुनै सहयोग नगरेको किसानहरुको सामुहिक विरोध छ । किसानले तोरी खेतीको लागि उपयुक्त ठाउँ भनेर चिनिने रत्नेचौरमा कृषि ज्ञान केन्द्रलेसमेत कुनै सहयोग नगरेकामा चिन्ता गरेका छन् । जिल्ला कृषि विकास कार्यालय र नारायणी सिञ्चाइ डिभिजन कार्यालयको ध्यान नपुग्दा किसान समस्यामा पर्दै आएको उनीहरुको गुनासो छ ।

यता सिञ्चाइको समस्या र वन्यजन्तुले बालीनाली नष्ट नगरेको र तोरी खेतीबाट आम्दानी पनि राम्रो हुन थालेपछि किसानहरु तोरी खेतीतर्फ आकर्षित भएका कृषि कार्यालयलको भनाइ छ । ‘गाउँकोबीचमा पहेंलपुर तोरी फुलेको छ, यहाँ आउने आन्तरिक पर्यटक खुसी हुँदै फोटो खिच्ने गरेका छन्’ भरत खत्रीले थपे, ‘यसले यहाँको पर्यटन विकासमा ठूलो सहयोग पुगेको छ ।‘

रत्नेचौरमा उत्पादन हुने तोरी तथा तरकारी खेती गर्ने किसानलाई वडा र नगरपालिकाबाट सहयोग गरिने वडाध्यक्ष टेकबहादुर रावलले बताए । ‘हामीले नगरपालिकाले १ वडा १ उत्पादन क्षेत्र कार्यक्रम अन्तर्गत रत्नेचौरलाई तोरी र तरकारी खेतीको लागि सिफारीस गरेका छौं’ उनले भने, ‘जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख पनी आएर यहाँको भूगाले हेरेर जानुभएको छ, अब छिट्टै राहत पाउँछन् ।’ वडाको विकास र वडामा उत्पादन हुने सामग्रीको बजारका लागि वडाबाट पहल हुने रावलले जनाए ।

तपाईको प्रतिक्रिया