तीजको दरले कास्की कांग्रेसको विवाद छताछुल्ल
प्रदेश सभापति शर्मालाई कारबाही गर्न कास्की सभापतिको माग

पोखरा ।
नेपाल महिला संघ कास्कीको ब्यानरमा शुक्रबार पोखराको दीपसागर पार्टी प्यालेसमा भव्य कार्यक्रम भयो । कार्यक्रमको सभापतित्व शारदा गिरीले गरेकी थिइन् । प्रमुख अतिथि थिए कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा । प्रदेश सभा सदस्यदेखि कांग्रेसका जिल्लास्थित नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो, सञ्चार माध्यममा समाचार पनि आयो ।
शनिबार विन्ध्यवासिनी पार्टी प्यालेसमा महिना संघकै व्यानरमा अर्को भव्य कार्यक्रम भयो । जसमा प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि थिए । कास्की कांग्रेस सभापति किशोरदत्त बराल मात्र होइन केन्द्रीय सदस्य शारदा पौडेल, क्षेत्रीय सभापति मनोज गुरुङ पनि त्यहाँ थिए ।
यसले प्रस्ट हुन्छ कास्कीमा महिला संघको समानान्तर समिति छ । समानान्तर समितिलाई मिलाएर एउटै बनाउन नसकेको आरोप कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले खेप्दै आएका छन् । कांग्रेसका भातृ संगठनहरुको म्याद सकिएपछि केन्द्रमा तदर्थ समिति बनायो । महिला संघको जिम्मा उषा राउत मिश्रले पाइन् । उनले जिल्ला तहमा त्यसै अनुसार समितिहरु गठन गरिन् । जसै कास्कीमा उषाले मिना पाण्डेलाई जिम्मेवारी दिइन् उसै शेखर कोइराला समूहले शारदा गिरीलाई सभापति भनेर पठायो । विवाद सुरु त्यहिँबाटै भएको थियो । त्यो त कास्कीमा भातृ संगठनहरुमा समानान्तर समिति गठन यो नै पहिलो भने होइन । नेविसंघमा पनि उस्तै थियो ।
शनिबार मीना पाण्डे नेतृत्वको महिला संघले गरेको कार्यक्रममा कास्की कांग्रेस सभापति किशोरदत्त बरालले केन्द्रीय सभापति र केन्द्रीय समितिको निर्णय र निर्देशन नमान्नेलाई स्पष्टीकरण सोधेर कारवाही गर्न माग गरेका छन् । उनले नाम त लिएनन् तर लक्ष्य भने कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माप्रति थियो । उनले भने, ‘हिजो कार्यक्रम र उपस्थिति संगठनप्रतिको बेइमानी थियो, कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णयलाई नमान्ने गर्न पाइन्छ ?’ केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र शारदा पौडेलले यसको जवाफ दिनुपर्ने उनको भनाइ थियो । आफूलाई काम गर्नै नदिएर कमजोर बनाउन खोजिएको सभापति बरालले बताए । उनले भने, ‘हामीलाई पनि काम गर्ने वातावरण गर्न दिनुहोस् । कास्कीमा महिला संघको विवादले काम गर्न पाइएन भनेर हामीले केन्द्रमा पनि बारम्बार भनेको छौं, तर सुनुवाई भएको छैन ।’
हिजोका कार्यक्रममा महिला दिदीबहिनीहरुप्रति गुनासो नरहेको भन्दै सभापति बरालले भने, ‘मेरो गुनासो छ गण्डकी प्रदेश समितिको नेतृत्वप्रति । नेतृत्वले जे मन लाग्यो त्यहि गर्न पाइँदैन । कांग्रेसको विधानको विपरीत कार्य गर्ने अधिकारी कसैलाई छैन ।’ या हिजोको कार्यक्रम अवैध थियो, या आजको कार्यक्रम अवैध थियो केन्द्रीय सदस्यहरुबाट उनले जवाफ मागे । उनले भने, ‘या उषा रावतले बनाएको मीना पाण्डे किन अवैध हो, या तपाई अवैधानिक हो, या उषा राउत अवैधानिक हो मलाई जवाफ चाहियो, कांग्रेसको विधानलाई लातले हान्ने अधिकार कसलाई छैन ।
मिना पाण्डेको यो मनोनयनका बिरुद्ध सभापति शर्माले नेपाली कांग्रेसको विधान विपरीत समानान्तर समिति निर्माणमा सहयोग गर्ने, विधान विपरित गतिविधि सञ्चालन गर्ने गराउने कार्य गरी नेपाल महिला सघ, कास्कीका महिलाहरुलाई दिग्भ्रमित पार्दै महिला सघ कास्कीलाई कमजोर बनाउन लागेकोले नेपाल महिला सघको मर्यादा र गरिमालाई बचाउनका लागि उनले पार्टी नेतृत्वसँग माग गरेका हुन् ।
गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भातृ संगठनहरुको म्याद सकिएपछि तदर्थ समिति बनाइएको भन्दै उषा राउतलाई दिएकाले उनले जसलाई कास्कीको सभापति लेखेर दिएको हो ऊ नै आधिकारिक सभापति हो रहेको प्रष्ट पारे । उनले भने, ‘कास्कीमा मीना पाण्डे नै वैधानिक सभापति हो । कसैलाई कमिटीको बारेमा चित्त नबुझ्न सक्छ, ती कुरालाई पार्टीको आधिकारिक फोरममा राख्न सकिन्छ ।’ उनले भने, ‘हामीले नेतृत्वमा रहेर यस्ता विवादास्पद क्रियाकलाप गर्नु हुँदैन । व्यक्तिगत रिसइवीका कारण पार्टीलाई कमजोर बनाउन पाइँदैन, आधिकारिक फोरमबाटै संगठनका क्रियाकलाप अगाडि बढाऔं ।’ निर्वाचनको परिणामले कास्कीमा कांग्रेस कमजोर देखिएको भन्दै मुख्यमन्त्री पाण्डेले आगामी चुनावमा मिलेर कास्कीका सबै सिटमा कांग्रेसले जित्नुपर्ने भनाइ राखे ।
तपाईको प्रतिक्रिया