लोकदोहोरी प्रतिष्ठानको सभामा सम्मान

समाधान संवाददाता २०८१ भदौ ९ गते १६:२५

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको २३ औं साधारण सभा शनिबार भएको छ । कार्यक्रममा अग्रज कलाकार, सल्लाहकार, वर्षभरी उत्कृष्ट कार्य गर्ने कार्यसमितिका सदस्यलाई सम्मान गरिएको छ ।
सभाले कार्यवहाक सचिव सुनील गायकले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषध्यक्ष नवराज अधिकारीले पेश गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षत्रीले जानकारी दिइन् ।

Advertisement


कार्यक्रममा अग्रज लोक गायिका सीता केसी, सल्लाहकार संयोजक सोमनाथ बास्तोलासहित सबै सल्लाहकार, कार्यसमितिका उत्कृष्ट सदस्य कृष्ण भट्टराई र उत्कृष्ट वर्ष सदस्य पूजा योन्जन मगरलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापामगरले कार्यक्रमको उद्घाटन गर्दै संस्थागत गतिविधिका कारण प्रतिष्ठान गरिमामय र ऐतिहासिक सामाजिक संस्था बनेको बताइन् । उनले प्रतिष्ठानको नेतृत्वमा बस्ने प्रशंसा खोज्नुभन्दा काम गरेर देखाउने दाबी गरिन् ।


‘संस्थाको विधान नपढ्ने र अधिवेशनमा मात्र चासो दिने सदस्य देख्दा रिस उठ्छ,’ उनले भनिन्, ‘सबै सदस्य विधि, विधान, नियम कानुन अनुसार चल्नु पर्छ ।’ उनले प्रतिष्ठान नेपालको २४ औं केन्द्रीय वार्षिक साधारण सभा तथा विधान अधिवेशन आगामी असोज ११ र १२ गते पोखरामा गर्ने जानकारी दिइन् । गण्डकी प्रतिष्ठानको मातृ प्रदेश भएको उल्लेख गर्दै उनले प्रतिष्ठान मासिने र नासिने अवस्था आएमा कास्की र गण्डकीले सम्हाल्नुपर्ने बताइन् । प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले पोखरा दोहोरी समूहको सक्रियताले संस्था खुलेको दाबी गरे । दोहोरी साँझ पोखराबाट सुरुवात भएको उल्लेख गर्दै उनले पोखरा लोक संस्कृतिको उर्वरभूमि भएको बताए ।


प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष पुरुषोत्तम न्यौपानेले संस्थागत विकास तथा संस्थालाई सुदृढीकरण गर्नका लागि नेतृत्वमा बस्ने कठोर बन्दा प्रतिष्ठानको मान सम्मान बढेको उल्लेख गरे ।
प्रतिष्ठान नेपालका भूगोलतर्फका सचिव घनश्याम रिजालले प्रतिष्ठानको जिल्ला तहमा नेतृत्वमा बस्नेले संस्था छोड्दा सांगठनिक काममा कठिनाई भएको बताए ।

Advertisement


कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीकासंरक्षक यमबहादुर गुरुङ, लोक दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष प्रेमराज अधिकारी, सल्लाहकार संयोजक सोमनाथ बांस्तोला, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, कार्यवहाक सचिव सुनील गायक लगायतले लोक दोहोरी क्षेत्रक बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया