लामाचौरमा राष्ट्रिय पुरुष तथा महिला भलिबल हुने

समाधान संवाददाता २०८१ भदौ १२ गते ११:१३

पोखरा ।
हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा तीज महोत्सव तथा राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा २६ औँ संस्करणको ‘लामाचौर तीज महोत्सव २०८१’ को प्रमुख आकर्षणका रूपमा लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता गरिने भएको हो ।

Advertisement

संस्थाको २८ औँ वार्षिक समारोह एवं तीज महोत्सव यही भदौ १९ देखि २१ गतेसम्म लामाचौरको ईन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले बताए । संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको उनको भनाइ छ ।


राष्ट्रिय पुरुष तथा महिला भलिबलमा दुवैतर्फ नेपालका तीन विभागीय टोलीसहित पाँच/पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् । महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् ।

पुरुषतर्फ विभागीय सशस्त्र प्रहरीको एफिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेतालाई १ लाख १ सय ११, तेस्रोलाई ५० हजार १ सय ११ नगका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश भण्डारीले जानकारी दिए ।


सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कारको व्यवस्था गरिएको बताइन्छ । भलिबल भदौ १८ गतदेखि नै सञ्चालन हुने सुरु हुनेछ । अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवमा हुने छन् ।
तीज गीतमा प्रथमलाई ५० हजार १ सय ११, द्वितीयलाई ३० हजार १ सय ११, तृतीयलाई २० हजार १ सय ११ र सान्त्वना १० हजार १ सय ११ प्रदान गरिनेछ । सहभागी टोलीलाई प्रोत्साहनवापत २ हजार प्रदान गरिने भएको छ ।

Advertisement


अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४०, २५, १५, ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।


महोत्सव गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने आकलन छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले एम्बुलेन्स तथा शवबाहन सञ्चालन गर्दै आएको छ ।


कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रिय स्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिने वाचा गरे ।

तपाईको प्रतिक्रिया