सम्पादकीय—हिमताल र हिमपहिरोको जोखिम

पछिल्ला केही वर्षयता हिमतालहरु फुट्न थालेका छन् । हरेक वर्षजसो हिमाली क्षेत्रमा रहेका ताल फुट्ने र त्यसबाट तटीय क्षेत्रका बासिन्दाले क्षति व्यहोर्नुपर्ने अवस्था देखिँदै गएको छ । अहिलेसम्म साना पोखरी फुटेको, हिमपहिरोले थुनिएका खोलानदी खोलिएको अवस्था हो । ताल नै फुटेको अवस्थामा क्षतिको मात्रा निकै ठूलो हुने पक्का छ । जलवायु परिवर्तनको प्रत्यक्ष असरको रुपमा हिमताल विष्फोटन र हिमपहिरो जोखिम बढ्दै गएको जानकारहरु बताउँछन् ।
अहिलेसम्म सुनिदै आएको जलवायु परिवर्तनको असरका परिणाम अब देखिन थालेको आभास भएको छ । तटीय क्षेत्रका जनताको सुरक्षा र उनीहरुको उचित बसोबास तथा जीविकाका लागि पहल गर्न ढिलाइ गर्न नगर्न विज्ञहरु सुझाइरहेका छन् । केही दिनअघि सोलुखुम्बुमा आएको विपद्को समाचार सेलाउन नपाउँदै मुस्ताङमा हिमपहिरो आएको छ । भलै हिमपहिरोले क्षति गरेन, नदी लामो समय थुनिने हो र राति हिमपहिरो आयो भने त्यसले अकल्पनीय क्षति गर्न सक्छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र इसिमोडले गरेको अध्ययनले नेपालमा २१ हिमताल विष्फोटको जोखिममा छन् । अहिले ससाना ताल विष्फोटका कारण पनि ठूलो क्षति भइरहेको छ भने भोलि ठूला ताल विष्फोट भएको अवस्थामा एक प्रकारको प्रलय नै आउने खतरा हुन्छ । यसको जोखिम न्यूनीकरण गर्ने पहिलो उपाय भनेको ठूलो ताल विष्फोटन हुनबाट जोगाउनु नै हो । पछिल्लो समय हिमताल बन्ने क्रम पनि बढेको छ ।
हिमनदी पग्लिएर नयाँ हिमताल बनेका छन् । पछिल्ला दशकमा मानवसिर्जित जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएर ताल बन्ने क्रम बढेको हो । ताल फुट्दा जलाधार क्षेत्रमा ठूलो क्षति हुने गरेको छ । मानव वस्तीसँगै जलविद्युत् र सिँचाईका परियोजना पनि जलाधार क्षेत्रमै रहेकाले सबैतिर क्षति पुग्ने खतरा छ । मानव वस्ती बगाउने, पूर्वाधारमा क्षति पुग्ने र बचेका बस्ती र कृषि उत्पादनमा पनि नकारात्मक असर पर्ने कारणले तटीय क्षेत्रमा जीविकाको समस्या पनि गम्भीर बन्दै जाने खतरा छ ।
त्यसो हुन नदिन हिमतालको सुरक्षाका परियोजना अघि बढाउनु आवश्यक छ । जति बेला पनि आइपर्न सक्ने यस खालका विपत्तिको सामना गर्न प्रतिकार्यका योजना जरुरी छन् । तटीय क्षेत्रमा तटबन्ध गर्ने, बस्ती स्थानान्तरण गर्ने लगायतका काममा ध्यान दिन जरुरी छ । नेपालमा एकातिर हिमताल संरक्षणबारे आवश्यक अध्ययन जरुरी छ भने अर्कातिर बस्तीलाई थप सुरक्षित बनाउर्नैपर्ने छ ।
नेपालको जलवायु परिवर्तनको मुद्दा अहिले विश्वमै परिचित भएको छ । आफूले नगरेको कामको परिणाम नेपाल जस्ता देशले भोग्नुपरेको छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा बलियो गरी आवाज उठाउँदै प्रतिकार्यको तयारी गर्नु र हिमतालहरुलाई विष्फोटबाट जोगाउन प्रभावकारी कदम चाल्न ढिला गर्नु हुँदैन । संकट नै नपरी नचेत्ने मानसिकता फेर्नैपर्छ ।
तपाईको प्रतिक्रिया