तायाः मचाः जोगाउन प्रतियोगिता

समाधान संवाददाता २०७६ साउन २६ गते १२:०१

समाधान संवाददाता
पोखरा

अचेल पोखराका नेवारी बस्तीमा साँझको समय फरक किसिमको संगीतको गुञ्जन सुन्न सकिन्छ । ती बस्ती र टोलमा मृदंग, ढोलकी, झ्याली लगायत बाजा बजिरहेका हुन्छन् । नजिक जाँदा परी बनेका हुन्छन्, त कोही जोकर । जोकर अर्थात स्थानीय भाषामा लखरपाँडे ।

त्यो संगीत र नृत्य तायाः मचाः नृत्य प्रतियोगिताको अभ्यासका लागि हो । जुन प्रतियोगिता नेवाः खलः कास्कीले २०५४ सालदेखि प्रत्येक गाईजात्रामा गर्दै आइरहेको छ । प्रतियोगिता यस वर्ष साउन ३१ र ३२ गते पोखरा महेन्द्रपुलमा हुने खलःले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

Advertisement

संस्कृतिविद् तीर्थ श्रेष्ठका अनुसार तायाः मचाः दिवंगतहरुका सम्झनामा मनाइने गरेको छ । ‘किम्बदन्तीअनुसार यो प्रताप मल्लले आफ्ना छोरा गुमाएपछि दुखी भएकी कान्छी राजकुमारीलाई खुसी बनाउन हस्यौली र ठट्यौली क्रियाकलाप गर्न लगाएका थिए । यो त्यहींबाट सुरु भएको मानिन्छ ।’ उनले तायाः मचाः मा ४ वटा परी र एउटा लखरपाँडे नाच्ने गर्छन् ।

श्रेष्ठले दिवंगत पुरुष र महिलाका लागि फरक फरक तरिकाले तायाः मचाः मनाइने जानकारी दिए । उनले भने, ‘दिवंगत पुरुषका लागि गोरुको सिङ र उसको फोटो प्रयोग गरिन्छ । महिलाका लागि गाईको सिङ र कपडा प्रयोग गरिन्छ ।’ उनले संगीतको तालमा घन्टौं नाच्न सकिने बताए ।

Advertisement

नेवा खलः कास्कीले प्रत्येक वर्ष फरक फरक टोललाई प्रतियोगिता गर्न जिम्मा दिने गर्छ । सोही योजनाअनुसार यसवर्ष महेन्द्रपुल तायाः मचाः समितिलाई प्रतियोगिता गर्ने जिम्मेवारी छ । ‘अर्को वर्ष महोहरिया टोललाई प्रतियोगिताको जिम्मा दिएका छौं,’ खलःका अध्यक्ष अशोक पालिखेले भने ।

कास्कीमा खलःका ४१ शाखा छन् । त्यसमध्ये यस वर्षको प्रतियोगितामा ३१ टोलले भाग लिने पालिखेले जानकारी दिए । ‘टोलटोललाई नै हामी जिम्मा दिँदै आएका छौं । यसो गर्दा उनीहरुलाई पनि अपनत्व फिल हुन्छ । टोलले टोलका लागि सहयोग गर्ने पनि वातावरण निर्माण हुन्छ,’ उनले भने । उनले आगामी वर्षमा सबै शाखा प्रतियोगितामा भाग लिने गरी योजना बनिरहेको सुनाए ।

‘पहिले नेवारी समुदायका मात्रै तायाः मचाः भिन्तुनाःमा सरिक हुन्थे । तर, अहिले अवस्था फेरिएको छ,’ पालिखेले भने, ‘अहिले त गुरुङ, मगर, व्राह्मण, क्षेत्री सबै सामेल हुन थालेका छन् ।’ प्रतियोगिताले संस्कृति पनि जोगिएको र सबै समुदायबीच भातृत्व सम्बन्ध पनि कायम भइरहेको उनको भनाइ थियो ।

विगतको तुलनामा अहिले तायाः मचाः नृत्यमा धेरै जातजाति तथा समुदायको उल्लेख्य उपस्थिति भइरहेको दाबी प्रतियोगिता संयोजक मानकाजी माकाजुको छ । उनले विगतमा पोखराका ५÷७ वटा टोलमा मात्र नाचिने तायाः मचाः अहिले ३५ भन्दा बढी टोलमा पुगेको जानकारी दिए । ‘प्रतियोगिताको निरन्तरताले पनि यसको प्रवद्र्धन र जगेर्नामा ठूलो सहयोग पुगेको हामीले ठानेका छौं,’ उनले भने, ‘यसले सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुगेको छ ।’

प्रतियोगितमा विभिन्न ८ विधाबाट प्रतियोगीलाई पुरस्कृत गरिने माकाजुले बताए । नृत्यमा पहिलो हुने समूहले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १० हजार रुपैयाँ र सान्त्वनाले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट वाद्यवादक, परी र जोकले प्रतिव्यक्ति २ हजार ५ सयका दरले प्राप्त गर्ने समितिले जनाएको छ । ‘कार्यक्रममा प्रतियोगिताबाहेक विभिन्न ब्यान्डले आफ्ना प्रस्तुत राख्नेछन् । नेवारी खानाका स्वाद पनि चाख्न पाउनेछन्,’ उनले भने । समितिले प्रतियोगिता गर्न २० लाख खर्च लाग्ने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया