तिब्बती शरणार्थी नागरिकता प्रकरणः २ तिब्बतीसहित ८ पक्राउ

समाधान संवाददाता २०७६ साउन २६ गते १२:०६

ईश्वर देवकोटा
पोखरा

तिब्बती शरणार्थीलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाइ जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरेको झुठो विवरणमा सनाखत गर्ने पोखरा १८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने २ युवतीसहित सर्जमिन मुचुल्कामा दस्तखत गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीका छोरी (नातिनी)लाई नागरिकता दिलाउन लेखबहादुरले बाबु भएको झुठो विवरण पेस गरेको खुलेको कास्कीका सिडिओ चक्रबहादुर बुढाले बताएका छन् ।

नेपाली आमा र तिब्बती बाबुबाट जन्मिएका सरु थापामगर र तासी आङ्मो थापामगरले जेठ २५ र असार ६ गते जिल्ला प्रशासन कास्कीबाट नागरिकता लिएका थिए । लेखबहादुर थापका छोरी बनेर सरु थापामगरका नाममा जेठ २६ गते ४६–०१–०७६–२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते नम्बरका २ नागरिकता जारी भएका छन् । सरुले २७ वर्ष र तासी २६ वर्षको उमेरमा नागरिकता लिएका हुन् । कागजका आधारमा ती दिदीबहिनीको उमेरमा ७ महिनाको अन्तर छ ।

Advertisement

सर्जमिन मुचुल्कामा दस्तखत गर्ने पोखरा १८ सराङकोट नै बस्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर समेत प्रहरी हिरासतमा छन् । जिल्ला प्रशासन कास्कीले गरेको अनुसन्धानपछि ८ जना पक्राउ परेको सिडिओ बुढाले जानकारी दिए ।

उनीहरु विरुद्ध मुद्दा चलान गरी थप कारवाही अघि बढाउन पक्राउ गरेको प्रजिअ बुढाले बताए । ‘लेखबहादुरले २ जनालाई आफ्नो छोरी भएको दाबी गर्छन् तर उनीहरु उनको छोरी होइनन् भन्ने स्पष्ट भयो,’ उनले भने, ‘वडामा पहिले वास्तविक बाबुको नाम र पछि हजुरबुबा अर्थात् लेखबहादुरको नाम उल्लेख भएको जन्मदर्ता भेटिएको छ ।’

Advertisement

लेखबहादुरकी १ छोरी तिब्बतीयन नागरिकसँग बिवाह गरेको र उनीहरुका २ छोरीलाई वंशजका आधारमा नागरिकता दिलाउन लेखबहादुरले झुठो विवरण पेस गरेको खुल्ल आएको हो ।

विद्यालयको अभिलेखमा समेत उनीहरुको वास्तविक बाबुको नाम उल्लेख भएको प्रजिअ बुढाले बताए । ‘विद्यालयमा भर्ना गर्दा वास्तविक बाबुको नाम तर नागरिकता लिन पेस गर्दाको सर्टिफिकेटमा लेखबहादुरको नाम छ,’ उनले भने, ‘प्रशासनको अनुसन्धानपछि ती २ युवती लेखबहादुरको छोरी होइन भन्ने कुरा पुष्टि भएको छ ।’

नागरिकता उपलब्ध गराउने कार्यमा संलग्न पाइएका नागरिकता फाँटका ४ जना र पोखरा १८ वडा कार्यालयका २ जनालाई समेत विभागीय कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । प्रजिअ बुढाले भने,‘वडाका कर्मचारीले २ पटक जन्मदर्ता गरेका छन् । २ पटकमा फरकफरक बाबुको नाम छ । १ पटक वास्तविक बाबुको नाम छ र अर्कोपटक हजुरबुबा अर्थात् लेखबहादुरको नाम छ ।’

झुटा विवरण पेस गरी नागरिकता लिएको भन्दै ‘राष्ट्रप्रेमी नेपाली समूह’ले अख्यितार पोखरा कार्यालय, जिल्ला प्रशासन लगायतका निकायमा उजुरी दिएको थियो । उजुरीपश्चात्त विषय बाहिरिएपछि सिडिओ बुढाले अनुसन्धान थालेका हुन् । अनुसन्धान सुरु गर्दा नै दुवैले लिएको नागरिकता प्रशासनले जफत गरिसकेको छ । ती २ युवतीले राहदानी भने बनाउन नभ्याएको सिडिओ बुढाले बताए ।

नागरिकता दिँदा सबै प्रक्रिया प्रमाण पुगेको भए पनि केही शंकास्पद गतिविधिका आधारमा प्रशासनले केरकार सुरु गरेको थियो । २६÷२७ वर्ष पुगेपछि नागरिकता लिन आउनु, दिदी बहिनीको जन्मान्तर ७ महिनामा मात्र हुनु लगायत शंकाका आधारमा आधारमा प्रशासनले थप प्रमाण जुटाउँदै निश्कर्षमा पुगेको हो । लेखबहादुरले बयानका क्रममा उनीहरु आफ्ना छोरी भएको बताए पनि तर उनका छोराले भने उनीहरु आफ्ना बहिनी नभई भान्जी भएको बताएका छन् ।

के हुन्छ सजाय?
नागरिकता ऐन, २०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता लिएमा १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि १ लाखरुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । झुठो विवरण पेस गरी लिएको नागरिकता रद्द हुने कानुनी प्रावधान छ । झुठो विवरणका आधारमा विदेशीलाई नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । प्रचलित ऐन विपरित त्यस्ता व्यक्तिलाई नागरिकता दिलाउने कार्यमा संलग्न कर्मचारीलाई भने विभागिय कारबाही हुने व्यवस्था छ ।

चक्रबहादुर बुढा
प्रमुख जिल्ला अधिकारी, कास्की
तिब्बतीयन नागरिकसँग विवाह गरेकी छोरीकी छोरी (नातिनी)लाई नागरिकता दिलाउन लेखबहादुर थापाले झुठो विवरण पेस गरेको पाइयो । विद्यालयमा वास्तविक तिब्बतीयन बाबुको नाम छ । पहिले गरेको जन्मदर्तामा वास्तविक बाबुकै नाम छ । जन्ममिति ७ महिना मात्रै फरक छ । प्रशासनले लिएको बयानपछि हामी स्पष्ट भयौं की उनीहरु तिब्बतीयन नागरिक नै हुन् । थप कारवाहीका लागि मुद्दा चलान गरी अदालत पठाएका छौं । फैसलाले घटनाबारे थप पुष्टि गर्छ । हामीले हाम्रो छानबिन सकेका छौं ।

तपाईको प्रतिक्रिया