संविधानले विभेद गरेका कारण स्थानीय तहका जनप्रतिनिधिलाई सेवा सुविधा

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानले विभेद गरेको कारण प्रदेशले स्थानीय सरकारका प्रतिनिधिलाई पारिश्रमिक, सेवा र सुविधाको लागि कानुन बनाएर सहयोग गरेको बताएका छन् ।
मुख्यमन्त्री गुरुङले संविधानले संघीय तथा प्रदेशसभाका सदस्यलाई पारिश्रमिकको व्यवस्था गरे तापनि स्थानीय सरकारका प्रतिनिधिका लागि विभेद गरेको उल्लेख गरे । जोर्ज जोन शिक्षा प्रतिष्ठान नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा शनिबार शिक्षासेवी र उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्ने कार्यक्रममा मुख्यमन्त्री गुरुङले स्थानीय सरकारका प्रतिनिधिको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुन बमोजिम हुने व्यवस्था गरेको धारणा राखे । ‘मैले बुझेको संघीय प्रणालीमा गाउँ कार्यपालिका र नगर कार्यपालिका सरकार हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘हेर्दै जाँदा संविधानमा विभेद रहेछ । त्यही भएर प्रदेश सरकारले कानुन बनाएर सहजीकरण गरेको हो ।’ उनले प्रदेश सरकारले कानुन बनाए तापनि सेवा तथा सुविधा सम्बन्धित स्थानीय तहले गर्नुपर्ने बताए ।
हात्तीलाई १० भारी, गाईलाई २ भारी घाँस आवश्यक भए जस्तै बाख्रालाई १ मुठा घाँस चाहिने उदाहरण दिँदै मुख्यमन्त्री गुरुङले फेरि पनि ठूला ठालुले मात्र मोज मस्ती गर्ने सानाले नपाउने अवस्था आएपछि समानताको सिद्धान्त लागु गरेको धारणा राखे । उनले स्थानीय तहका वडा अध्यक्ष र कार्यपालिका सदस्यको सेवा सुविधा समान भएपछि काम पनि बराबरी हुनुपर्ने तर्क गरे । प्रदेश सरकारले मन्त्रालय बनाएर कार्य विभाजन गरेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तहका प्रमुखले जिम्मेवारी बाँडफाँडमा ध्यान दिनुपर्ने सुझाव दिए ।
प्रमुखले कार्यपालिकाका सदस्यलाई स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, सडक ऊर्जा हेर भन्न सक्नुपर्ने उल्लेख गर्दै उनले कार्यपालिकामा निर्वाचित भएर आएका महिला, दलित, सीमान्तकृत र अल्पसंख्यकलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे ।
कर्मचारीको गाडी मागेर कार्य सम्पादन गर्नुपर्ने स्थानीय तहका उपप्रमुखलाई सवारी साधनको व्यवस्था गर्न बाटो खोलेको मुख्यमन्त्री गुरुङको भनाइ छ । उनले प्रमुखले योजना कार्यान्वयन र उपप्रमुखले योजना अनुगमन तथा न्याय सम्पादन गर्नुपर्ने बताए । दोहोरो सेवा सुविधा लिन पाउने सवाललाई केन्द्रले नै नजिर बसालेको दाबी गर्दै उनले पेन्सन पाउने जनप्रतिनिधिको लागि दोहोरो सुविधाको बुँदा हटाएको जानकारी दिए । महालेखा परीक्षकले राज्यमन्त्री र पूर्व सचिवको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले दोहोरो सुविधा लिएको उल्लेख गर्दै उनले जनप्रतिनिधिले हिजोको कामको पेन्सन र आजको कामको पारिश्रमिक पाउनुपर्ने तर्क गरे ।
फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले असल गुरु जोर्ज जोनले गरेको शैक्षिक क्षेत्रको योगदानको जति सम्मान गरे पनि कम हुने बताए । उनले जोन सर आफ्नो मन मुटुमा राखेको आदर्श व्यक्ति भएको धारणा राखे । आफू मुख्यमन्त्री भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाँदा जोर्ज जोन टेकनाथ बराल लगायत व्यक्तित्वको घरमा पुगेर राय सुझाव लिएर काम गर्न आग्रह गरेको जानकारी दिँदै उनले अब असल व्यक्तिको सम्मान र राय सुझाव लिएर चल्ने बताए । प्रदेश सरकारले जोर्ज जोनलाई कुनै न कुनै रुपमा सम्मान गर्ने घोषणा गर्दै मुख्यमन्त्री गुरुङले विन्ध्यवासिनी मातालाई साक्षी राखेर जोन दम्पत्तीलाई शताब्दी पुरुष र महिलाको रुपमा देख्न चाहेको धारणा राखे ।
कार्यक्रममा शिक्षासेवीहरु पोखरा १३ का विश्व सिग्देल, पोखरा २ का चन्द्रदेवी उदास शाह, पोखरा १९ का मदनबहादुर केसी, तनहुँ खैरेनीटारका केशवराज घिमिरे र म्याग्दी बेनीका दीपक श्रेष्ठलाई अभिनन्दन गरिएको थियो ।
सोही अवसरमा शैक्षिक सत्र २०७५÷०७६ मा मानविकी संकायको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका कृष्णप्रसाद आचार्य, विज्ञान तथा प्रविधि संकायतर्फ स्नातक तहमा सर्वेात्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका लोकराज घोडासैनीलाई सम्मान गरिएको छ । कार्यक्रममा व्यवस्थापन संकायमा स्नातक तहमा सर्वोत्कृष्ट अंक हासिल गर्ने पृथ्वीनारायण क्याम्पसका स्मृति पुर्जा र शिक्षा संकाय स्नातक तहमा सर्वोत्कृष्ट अंक हासिल गर्ने पृथ्वीनारायण क्याम्पसका वसन्त परियारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री तथा जोर्ज जोन शैक्षिक प्रतिष्ठानका पूर्व अध्यक्ष राधेश्याम कमारो, शिक्षासेवी जोर्ज जोन, संस्थाका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, उपाध्यक्ष रामगोपाल ढेवाजु, गण्डकी प्रदेशसभाका सदस्य तथा संस्थाका सचिव राजीव पहारी, संस्थापक अध्यक्ष प्रकाशमान गुभाजु, पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष बिन्दु कोइराला सुवेदी, नेपाल प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका सभापति स्थानेश्वर सुवेदी, शिक्षासेवी विश्व सिग्देल, संस्थाका कार्य समिति सदस्य अर्जुन अधिकारी, मेलम्बु संस्थाका अध्यक्ष एकदेव देवकोटा लगायतले बोलेका थिए ।









सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया