लामाचौर कपः साविक विजेता गण्डकीको हार

पोखरा ।
साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ । चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा उत्रिएको घरेलु टिम सोझो सेटमै रोकिएको हो ।
पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो । गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो । अघिल्ला सेट उसले २५–१७ र २५–२१ मा जितेको थियो । पहिलो र दोस्रो सेट तुलनामा तेस्रोमा निकै सुधारिएको खेल पस्के पनि घरेलु टिमले आफ्ना समर्थकलाई निराश बनायो ।
लामाचौर कपमा महिलातर्फ ११ औं संस्करण भइसक्दा २ वर्षअघि मात्र पुरुषतर्फ पनि प्रतिस्पर्धा हुन थालेको हो । पहिलो र दोस्रो संस्करणमा पनि गण्डकी र पुलिसले नै फाइनल खेलेका थिए । पहिलो संस्करण भने वर्षाले बिथोलिएपछि दुवै टिमले पुरस्कार बाँडेका थिए ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत मंगलबारदेखि लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । ईन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा ४ दिनसम्म चल्ने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान चार टिम सहभागी छन् ।
एपिएफले महिला तथा पुरुष दुवैतर्फ जित हात पार्दा महिलातर्फ साविक उपविजेता डायमन्डले विजयी सुरुआत गरेको छ । महिलातर्फ उद्घाटन खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल एसोसिएसनलाई ३–१ सेटमा हराएको छ । एपिएफले अघिल्ला २ सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट गुमाएको हो । उसले २५–१४, २५–१४, २४–२६ र २५–२३ सेटले जितेको हो ।
महिलातर्फ दोस्रो खेल टिपटप न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले जित्यो । डायमन्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेट २५–१४, २५–१२ र २५–१७ मा पराजित गरेको रेफ्री डेलिगेट टहलसिंह थापाले बताए ।
पुरुषतर्फ पहिलो खेलमा एपिएफले ट्राभल इक्वायरी गलकोटलाई ३–१ सेटमा हराउँदै विजयी यात्रा सुरु गरेको हो । एपिएफले २५–१७, २५–२७, २५–१६ र २६–२४ मा गलकोटलाई हराएको हो । दोस्रो दिन बुधबार महिलातर्फ न्यू डायमन्ड र गण्डकी तथा दोस्रो खेलमा एपिएफ र एभरेष्ट भलिबल क्लब खेल्नेछन् ।
पुरुषतर्फ गण्डकी र एपिएफ आमनेसामने हुने खेलकुद संयोजक शंकर केसीले बताए । राउन्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल भदौ २१ मा हुनेछ ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १ सय ११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । आयोजक संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।
भदौ २१ गतेसम्म चल्ने लामाचौर तीज महोत्सव अवसरमा अन्तरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुला तीज गीत प्रतियोगिता आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवमा कलाकारहरु सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायतको विशेष प्रस्तुति रहनेछ ।
औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु समेत राखिएको छ । तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिनेछ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइने आयोजकले जनायो ।
सो अवसरमा शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरिनेछ । महोत्सव गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान छ । बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले लामो समयदेखि एम्बुलेन्स तथा शववाहन चलाउँदै आएको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया