उत्तरी गोरखामा बाक्लो हिमपात

समाधान संवाददाता २०७५ माघ ११ गते १२:३९

मोहसिन अलि मियाँ, गाेरखा

मंगलबारदेखि देशभर मौसम परिर्वतन हुँदा उत्तरी गोरखामा हिमपात भएको छ । एक्कासी मौसम फेरबदल हुँदा उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लगायतका ठाँउमा भारी हिमपात भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । ‘छेकम्पार लार्के सामा गाउँ लगायतका क्षेत्रमा ३ फिटसम्म हिउ जमेको भन्ने जानकारी आएको छ’ उनले भने ‘चिसोका कारण स्थानीबासी घरबाट बाहिर निस्कन सकेका छैनन् ।

उत्तरी गोरखाका २ हजार ५ सय मिटर उचाइ भन्दा माथिका क्षेत्रमा हिमपात भएको हो । हिमपातका उत्तरी गोरखाको अधिकांस क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्तरी गोरखामा ढिलो गरी हिमपात भएको स्थानीयबासीले बताएका छन् । ‘अत्याधिक हिमपात भए पछि स्थानीय घरभित्र आगो तापेर बस्न बाध्य छन्, बाहिर निस्कन सक्ने अवस्था छैन ।’ चुमनुव्री गाउँपालिका ६ चुम्चेतका सेराप गुरुङले भने ।

Advertisement

हिउँले मनासलु हिमाल आसपासका क्षेत्र पूरै ढाकेको स्थानीयको भनाई छ । अत्याधिक हिमपातका कारण अस्थायी टहरामा बस्दै आएका भूकम्प पीडितले भने सास्ती खेप्नु परेको छ । अघिल्लो वर्षहरुमा कात्तिक लाग्ने बित्तिकै हिउँ पर्ने गरेको भए पनि यस वर्ष ढिलोगरी हिउँपरेको स्थानीयले बताएका छन् । यसैगरी तल्लो मनास्लु भने चिनिने धार्चेका विभिन्न ठाउँमा पनि हिमपात भएको छ । ‘हिउँले गुम्पी पाखा पूरै ढाकेको छ, अहिले पनि हिउँ पर्ने क्रम जारी छ’ धार्चे ४ लाप्राक वडाध्यक्ष राज गुरुङले भने ‘केही दिन यस्तै रह्यो भने तल गाउँसम्म पुग्छ ।’

धार्चे लेक, गुम्दा, लापु लगायत विभिन्न अग्ला डाडाँमा हिउँ परेको छ । माथिल्लो क्षेत्रमा हिउँ परेसँगै तल्लो भूभागमा वर्षा भएको छ । वर्षाका कारण चिसो बढ्नुका साथै जनजीवन प्रभावित बनेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र अशक्तलाई प्रत्यक्ष समस्या परेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया