
गण्डकी ।
गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको संख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको संख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो ।
पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार यहाँस्थित पन्छी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो । सन् २०२३ मा तीन सय ८७ गिद्ध अध्यावधिक गरिएकामा यस वर्ष यो संख्या बढेर चार सय ७१ पुगेको उनले जानकारी दिए । अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको संख्या बढेको पाइएको उनले बताए ।
कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी–भुम्दी, विजयपुर खोला करिडोर, लामेआहाल तथा तनहुँको गाछेपानी, सिशुवा/भतेरी र दमौली ल्याण्डफिलसाइट गरी एकैपटक आठ स्थानमा छुट्टाछुट्टै टोलीले गणना गरेको घिमिरेले बताए ।
गणनामा सङ्कटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति–संकटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डंगर गिद्धको संख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ । राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ ।
सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३–२०२९’ लागू गरेको छ । साथै देशभरका चरा तथा वन्यजन्तु संरक्षणमा लागिपरेका संघसंस्थाले विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाएका छन् ।
सरकारले विसं २०६३ देखि गिद्धलाई अति हानिकारक मानिएको ‘डाइक्लोफेनेक’ (पशुको उपचारमा प्रयोग गरिने औषधि) प्रतिबन्ध लगाएसँगै गिद्धको संख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको घिमिरेले जानकारी दिए । सिनोमा हुने विषादी, हाइभोल्टेज तथा बिजुलीका तारमा ठोक्किएर मर्नेक्रम भने लगातार बढेको उनले बताए । समाजले सन् २०१७ देखि पोखरा आसपासमा गिद्धको संख्या अध्यावधिक गर्दै आइरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया