पोखरा रंगशालामा पौडी पोखरी बनाउन माग

पोखरा ।
गण्डकी प्रदेश पौडी संघ पोखरा नेपालले पोखरा रंगशालाभित्र पौडी पोखरी (स्विमिङ पुल) निर्माण गर्न माग गरेको छ । प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापालाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र पौडी पोखरी निर्माण कार्य अघि बढाउन माग गरेको पौडी संघ गण्डकीका अध्यक्ष आनन्द कुँवरले जानकारी दिए ।
उनले पौडी खेलको विकास र विस्तारका लागि रंगशालाभित्र अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी निर्माणका लागि लामो समयदेखि २२ रोपनी छुट्टाएको बताए । ‘पौडी पोखरी निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद्ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी संरचना निर्माण गर्ने योजना बनाएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘हालका मितिसम्म पनि निर्माणका लागि कुनै चासो नदेखाएकाले पौडी संघले बाध्यताबस रंगशाला बाहिर पौडी सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।’
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार र संघका अध्यक्ष कुँवरले संयुक्त रुपमा जारी ज्ञापनपत्रमा प्रदेशमा पौडी पोखरी नबन्दा प्रशिक्षण गरी पौडी खेलको स्तर बढाउन कठिनाई भएको उल्लेख छ । अध्यक्ष कुँवरले समग्र खेलकुदमा लागेका खेलाडी तथा आम नागरिकका लागि पौडी एक जीवन उपयोगी महत्वपूर्ण सीप भएको जनाए ।
उनले ‘स्वास्थ्यका लागि पौडी, राष्ट्रका लागि खेलाडी’ भन्ने नारासहित प्रशिक्षण दिएर गण्डकीमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने बताए । पोखरामा अन्तर्राष्ट्रिय स्तरका पौडीका कार्यक्रम गरे पौडी पर्यटनको विकास गर्न सकिने उनले उल्लेख गरे ।
गण्डकी प्रदेश पौडी संघका सचिव अनिल थापाले पोखरा रंगशाला परिसरमा लामो समयदेखि पौडी पोखरीको निर्माण कार्य अगाडि बढ्न नसकेकाले छानबिन गरी पौडी पोखरीको संरचना निर्माणका लागि मन्त्री थापाको ध्यानाकर्षण गराएको बताए । ज्ञापनपत्र बुझ्ने क्रममा खेलकुद मन्त्री थापाले स्थलगत रुपमा अवलोकन गरी पौडी पोखरीको निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।
मन्त्री थापाले दिएको आश्वासनमा पौडी संघका पदाधिकारीहरु उत्साहित बनेका छन् । संघका सचिव अनिल थापाका अनुसार मन्त्रालयले यसबारे गम्भीर रुपमा चासो लिएको र संरचनाकै कारणले रोकिएको हो सोको बारेमा मन्त्रीलाई नै विशेष ध्यानाकर्षण गराइएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया