जोमसोम— तिलिचो पदमार्ग सहज बन्दै

सुन्दरकुमार थकाली २०८१ भदौ २७ गते १६:०४

जोमसोम ।
समुद्री सतहको ४९१९ मिटर अग्लो उचाईमा अवस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल जाने (जोमसोम—तिलिचो ) पदमार्ग सहज बन्दै जान थालेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोमबाट ठिनी,नमखुलेंक र मेसोकोन्दोपास हुँदै छोटो दुरीको यात्रामा पुग्न सकिने तिलिचो पदमार्गलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले पदमार्ग स्तरोन्नतिसँगै पर्यटकीय साइन पोस्टिङ लगायत कार्यलाई निरन्तर गरिएको हुनाले (जोमसोम—तिलिचो) पदमार्ग सहज बनेको हो ।

Advertisement


अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गत पर्ने पर्यटकीय पदमार्गहरुको पहिचान, मर्मत संम्भार, पदमार्ग साइन सिग्नल, पर्यटकीय पदमार्गहरुमा सूचनामूलक साइन पोस्ट तथा साइनबोर्ड, हाइअल्टिच्युड स्थल क्षेत्र, तिलिचो पदमार्गका विशेषता, लोकेसन तथा उचाइको जानकारी, जैविक विविधता अवलोकन तथा अध्ययन क्षेत्र, जोखिमयुक्त पहिरो जानसक्ने पदमार्ग सूचना र फोहोर मैला व्यवस्थापन लगायतका पर्यटक लक्षित जानकारीमूलक पूर्वाधार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले व्यवस्थापन गरेको एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।


यसअघि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजनाले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा पर्ने थोरङफेदीदेखि मुक्तिनाथ हुँदै लुप्रासम्मको पर्यटकीय पदमार्गको स्तरोन्नति तथा पर्यटकीय साइन पोस्टिङ सम्पन्न गरेको थियो । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक तथा गाउँगाउँ जोड्ने शाखा सडकका कारण वर्षौ पुराना पर्यटकीय पदमार्ग मासिन थालेका छन् । एक्यापले सडक छोडेर वैकल्पिक पदमार्गमा यात्रा गर्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पदमार्ग स्तरोन्नति तथा पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको एक्याप प्रमुख रेग्मीको भनाई छ ।

Advertisement


आयोजनाले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्ग मर्मत सुधारलाई प्राथमिकतामा राखेर काम गरेको र चालु आर्थिक वर्षभित्रै मुस्ताङको तल्लो क्षेत्रमा वैकल्पिक पदमार्गको मर्मत सुधार तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिइरहने उनले जानकारी दिए । आयोजनाले गतवर्ष मुस्ताङको तल्लो क्षेत्र अन्तर्गत चोखोपानी, सौरु, लेते कैकु र मिसीमा पदमार्ग मर्मत सुधार गरेको र चालु आर्थिक वर्षमा साईन पोष्टिङको काम हुने बताए ।


लमजुङको बेसीसहरदेखि मनाङ हुँदै तिलिचो जाने आन्तरिक तथा बाह्य पर्यटकलाई बेनी —जोमसोम सडकमार्ग हुदै जोमसोमबाट तिलिचो ताल जाने सबैभन्दा छोटो र उपयुक्त पर्यटकीय पदमार्ग भएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे ।

Advertisement

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मुस्ताङ—तिलिचो पदमार्गको प्रसार/प्रसार, व्यवस्थापन, प्रवद्र्धनका साथै तिलिचो ताल जाने पर्यटकलाई पदयात्रा सहज बनाउने उद्देश्यले पदमार्ग स्तरोन्नतिसंगै पर्यटकीय पूर्वाधार व्यवस्थापनमा जोड दिएको एक्याप प्रमुख रेग्मीको भनाई छ । गत वर्ष एक्यापले पुराना पदमार्गको मर्मत सुधार तथा आवश्यक स्थानमा नयाँ पदमार्ग निर्माण गरेको उनले बताए ।


मुस्ताङको ठिनीबाट नमखुलेंक हुँदै समुद्री सतहको ५२४५ मिटरको उचाइमा पर्ने मेसोकोन्दोपास कटेपछि डेढ घण्टाको पैदल यात्रापछि तिलिचो ताल पुग्न सकिन्छ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाले चालु वर्षको सुरुआती चरणमै तिलिचो पदमार्गको आवश्यकीय पूर्वाधार निर्माण सम्पन्न गरेको हो । आयोजनाले मुस्ताङको नमखुलेकदेखि तिलिचो पदमार्गमा पर्ने विभिन्न स्थानमा नयाँ पुराना र सानाठूला गरी ४३ वटा पदमार्ग सूचना बोर्ड स्थापना गरेको एक्याप प्रमुख रेग्मीले बताए । आयोजनाले गत आर्थिक वर्षमा तिलिचो पदमार्गमा पर्ने विभिन्न स्थामा पदमार्ग स्तरोन्नति तथा मर्मतसम्भारको काम सम्पन्न गरेको थियो ।


तिलिचो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि बास बस्न यसअघिनै नमखुलेकमा ठाँटी निर्माण भईसकेको छ । तर, नमखुलेंकबाट माथि तिलिचोसम्म कुनै पर्यटक बाँस बस्न ठाउँ छैन भने बिचको स्थानमा कुनै होटल तथा रेस्टुरेन्टहरु छैनन् ।
मुस्ताङ हुँदै तिलिचो जाने पर्यटकले पदमार्गमा यात्रा गर्दा आफूलाई चाहिने आवश्यक इकुमेन्टसहित समूहगत यात्रा गर्नुपर्ने हुन्छ ।

विश्वकै अग्लो उचाइमा अवस्थित तिलिचो यात्रामा निस्किने पदयात्रीले औषधि, बस्नका लागि टेन्ट र खाने बस्ने आवश्यक बन्दोबस्तीका सामान साथमै लिएर जान उपयुक्त हुने एक्यापको भनाइ छ । मनाङ र मुस्ताङको सिमानामा पर्ने तिलिचो ताल जाने उपयुक्त समय हिउँदयामको मंसिर, पुस, माघ र फागुन महिनाबाहेक अन्य महिनामा उपयुक्त र अनुकुल समय हुने आयोजनाले उल्लेख गरेको छ ।


अग्लो स्थानमा अवस्थित तिलिचो पदमार्गको एकतर्फी यात्रा करिव ७ देखि ९ घण्टाको पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । त्यसो त तिलिचो ताल जानका लागि पैदल यात्रा गर्न नसक्ने पर्यटकलाई ठिनी गाउँमा घोडा समेतको व्यवस्था छ ।


यस पदमार्गलाई जोड्ने गरी विगतका वर्षहरुमा गण्डकी प्रदेश सरकारले ठिनी हुँदै नमखुलेकसम्म कच्ची सडक विस्तार गरेको थियो । नमखुलेकबाट ठाँडो उकालो उक्लिएर मेसोकोन्दो पहाड चढेपछि तिलिचो ताल पुग्न सकिन्छ । तिलिचो पदमार्ग अन्तर्गत मुस्ताङको नमखुलेंक देखि यात्रा गर्दा पर्यटकहरु त्यहाँको पर्यटकीय सुन्दरता देखेर मोहित हुन्छन् । घरपझोङ—५ ठिनी गाउँका स्थानीय निरज थकालीले तिलिचो पदमार्गमा यात्रा गर्दा पर्यटकले प्राकृतिक सुन्दरता देखेर सम्पूर्ण थकान बिर्सने उल्लेख गरे । खासै चर्चामा आउन नसकेको मुस्ताङदेखि तिलिचोसम्मको पदमार्गको प्रचार/प्रसार गर्नुपर्ने बताए ।


नमखुलेकदेखि तिलिचो पदमार्गको मेसोकोन्दो पासको यात्रा गर्दा चरनक्षेत्रमा याकचौरीका बथान देख्न पाइन्छ । जैविक विविधता अन्तर्गत हिमचितुवा, कस्तुरी मृग, नाउर र संरक्षित विभिन्न प्रजातिका चराहरुको उक्त स्थानमा बाँसस्थान रहेको आयोजनाले जनाएको छ । पदयात्राका क्रममा निलगिरी, धौलागिरी, मानापाथी र धम्पुस पिक लगायत हिमाल, कालिगण्डकी करिडोर, जोमसोमदेखि तलका खेतीयोग्य भू—भाग र त्यस आसपासका बस्तीहरु मनमोहक देखिन्छ ।


अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्ने सार्क मुलुकका पर्यटकले १ हजार र अन्य मुलुकका विदेशी पर्यटकले ३ हजार रुपैयाँ पर्यटन शुल्क वापत एक्याप कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकले नेपाल सरकार अध्यागमन विभागलाई १० दिने प्रवेशाज्ञा अनुमतिपत्र स्वरुप ५ सय डलर रोयल्टी बुझाउनुपर्ने हुन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया