
जोमसोम ।
पछिल्लो समय हिमालपारिको सडक समृद्ध गएको छ । बेनी जोमसोम कोरला) सडक अन्तर्गत जोमसोम कागबेनी कालोप सडक अन्तिम चरणमा पुगेको छ । सडक निर्माणका लागि २०७८ असोज ४ गते रौटाहा आत्रेय सारस जेभीसँग २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो ।
तिब्बतसंग सीमाना जोडिएको कोरला नाका र हिन्दु तथा बौद्धमागीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ जोड्ने कालोपत्र सडक निर्माणका लागि हस्तान्तरण भइसकेको ग्राभेल सडकमा कालापत्र तथा सडक स्तरोन्तति गर्न ३ वर्षअघि संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले ठेक्का सम्झौता गरेको थियो । यो जोमसोममाथि उत्तरी भेगमा आयोजनाको पहिलो कालोपत्र सडक हो ।
कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले निर्माणाधीन जोमसोम कागबेनी कालोपत्र सडकको काम अन्तिम चरण पुगेको बताए । सडकको म्याद २ वर्ष तोकिएकोमा त्यसपछि आयोजनाले थप १ वर्ष म्याद थपेको थियो । जोमसोम कागबेनी १३ किमी कालोपत्र सडक तथा स्तरोन्नतिको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत छ ।
सडकको काम करिब पूरा भइसकेको र अहिले सडक मार्किङका लागि रंगरोगन, सडक रेलिङ र साइनबोर्ड राखिँदै गरेको चापागाईले सुनाए । जोमसोम कागबेनी कालोपत्रे सडकको काम पहिलो पटक थपिएको समयअवधि भन्दाअगावै सम्पन्न हुने उनले जनाए ।
यता, निर्माण कम्पनीले एक साताभित्रै १३ किमी कालोपत्र सडक तयार हुने जनाएको छ । निर्माण कम्पनीले कागखोला आसपास सडक ग्रोभल भइसकेको र १ किमीमा कालोपत्रे गर्न बाँकी रहेको जनाएको छ ।
जोमसोमबाट कागबेनी पुग्ने सडक कालोपत्रेको काम अन्तिम चरणमा छ
यसअघि ठेक्का सम्झौता भएको सुरुवाती चरणबाटै आन्तरिक समस्याका कारण ढिलासुस्ती भएकोमा न्वाइन निर्माण कम्पनी आत्रेयले काम गर्न नसकेपछि जोमसोम कागबेनी सडक अलपत्र परेको थियो । निर्माण कम्पनीलाई पटक पटक काममा फर्किन आयोजनाले ताकेता गरेपछि रौटाहा साँढे २ वर्षपछि कालोपत्रे सडक निर्माणको काममा फर्किएको थियो ।
रोटाहाले अलपत्र परेको निर्माणाधीन जोमसोम कागबेनी सडकलाई तीव्रता दिएसँगै पर्यटन व्यवसायी तथा सरोकारवाला खुसी भएका छन् । लोमान्थाङ गाउँपालिका ५ लोमान्थाङका वडा सदस्य छेवाङ रिन्जिङ गुरुङले उपल्लो मुस्ताङ र कोरला सडक जोड्ने जोमसोम कागबेनी कालोपत्र सडकले मुस्ताङबासीलाई उत्साहित तुल्याएको बताए । उनले विगतमा उपल्लो मुस्ताङ जान सडक असहज हुँदा समस्या पर्ने गरेकोमा अब कालापत्र हुँदै गएमा जोमसोमबाट साँढे २ घण्टामै कोरला पुग्न सकिने दाबी गरे ।
आयोजना अन्तर्गत १३ किमी कालोपत्र सडकमध्ये १२ किमी मुख्य राजमार्ग सडकमा र १ किमी मुख्य राजमार्ग सडकदेखि कागबेनी श्राद्धस्थलसम्म कालोपत्रे सडक विस्तार भइसकेको छ । मुस्ताङको कागबेनी र ताङ्बे गाउँको मध्यभागसम्म सडक कालोपत्र बनिसकेको छ ।
जोमसोम कागबेनी कालोपत्रका लागि यसअघिको ग्राभेल सडकलाई चौडा गर्ने, कटिङ गर्ने, ग्रेड मिलाउने, मेसिनरी वाल निर्माण र वाल तथा सडकको आवश्यक स्थानमा ड्रेन निर्माण लगायतका काम गर्ने जिम्मेवारी तोकिएको थियो । यसअघि सुरु गरेको आत्रेयले नसकेको काम रौटाहाले ६ महिनामै कालोपत्र सडक सक्ने गरी फिल्डमा जनशक्ति तथा उपकरण परिचालन गरेको थियो ।
राष्ट्रिय गौरवको सडक अन्तर्गत २०७४ मा जोमसोम कोरला १ सय १० किमी सडक ७ खण्डमा ग्राभेल सडक स्तरोन्नति सुरु गरिएको थियो । ग्राभेल सडक अन्तर्गत चराङ छोसेर ठेकेदारको ढिलासुस्तीले गर्दा अन्तिम चरणमा पुगेर रोकिएको छ भने बाँकी ६ खण्ड ४ वर्षअगावै आयोजनालाई हस्तान्तरण भइसकेका छन् ।
हस्तान्तरण भइसकेको पहिलो खण्ड जोमसोम कागबेनी सडकमा ३ वर्षअघि सडक विभागले पहिलो पटक कालोपत्र गर्न ठेक्का आहवान गरेको थियो । आयोजनाले राष्ट्रिय गौरवको सडक अन्तर्गत बेनी जोमसोम र जोमसोम कोरला सडकमा गरी करिब ८० किलोमिटरमा कालोपत्र भइसकेको जनाएको छ ।
बेनी जोमसोम सडकको तेस्रो र चौथो खण्डमा करिब ८० प्रतिशत कालोपत्र भइसकेको छ । म्याग्दी खण्डमा पनि केही भागमा कालोप गरिएको छ । राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज बन्दै गउपछि मुस्ताङ भ्रमण गर्ने पर्यटक बढेका छन् भने यहाँ आर्थिक क्रियाकलापमा पनि बढोत्तरी भएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया