अनलाइन फर्मका नाममा सेवाग्राहीबाट चर्को शुल्क !

समाधान संवाददाता २०७६ साउन २८ गते १२:२०

विकास रोकामगर
पोखरा

श्रम तथा वैदेशिक रोजगार कार्यालयअघि रहेको भवनको सटर नम्बर ३ । बाहिरबाट लेखिएको छ, ‘म्याग्दी मगर फोटो स्टुडियो ।’ बाहिर फोटो स्टुडियो लेखे पनि भित्र २ वटा प्रिन्टरबाहेक अन्य सामान देखिँदैन । तर, त्यहीं छ सेवाग्राहीको ठूलो भीड ।

स्याङ्जाका रामु थापा साउदी जान श्रम स्वीकृत गर्न श्रम तथा वैदेशिक रोजगारको कार्यालयमा आएका थिए । कार्यालयका कर्मचारीले ‘सबै काम अनलाइनबाट हुन्छ, त्यतैबाट गरेरमात्रै यहाँ आउनू’ भन्ने आदेश दिएपछि उनी बाहिर निस्किए ।

Advertisement

श्रम कार्यालयसँगै रहेको फोटो स्टुडियो सबै काम अनलाइनबाट भरिदिन्छ भन्ने थाहा पाएपछि त्यहाँ पुगेका थिए थापा । पसलले श्रमका लागि आवश्यक सबै काम गरिदिए पनि एउटा काम रोकिदियो र भन्यो, ‘तपाईंको पहिलेको पासर्वड बिग्रेको रहेछ । त्यो बनाउन १ हजार रुपैयाँ थप लाग्छ ।’ उनले सबै गरेर ८ हजार रुपैयाँ तिरे ।

‘पासवर्ड बिग्रेको काम पोखरा शाखाबाट नहुँदो रहेछ । काठमाडौंकै आइटीमा सम्पर्क गर्नुपर्छ । उनीहरु आफैंले सम्पर्क गरिदिए,’ थापाले भने, ‘पासवर्ड चेन्ज गर्दा पैसा लाग्दैन भन्ने थाहा थिएन । उनीहरुले सबै शुल्क जोडेर दिँदा होला नि भन्ने लाग्यो ।’ उनले पछिमात्रै थाहा पाए बिचौलियाले १ हजार ५ सय रुपैयाँभन्दा बढी ठगेका रहेछन् ।

Advertisement

लेखनाथबाट श्रम स्वीकृत गर्न आएका रामबहादुर सुनारलाई पनि बिचौलियाले त्यसैगरी ठगे । तिर्नुपर्ने ६ हजार भए पनि उनीबाट ८ हजार रुपैयाँ रुपैयाँ उठाइछाडे । ‘यति महँगो लाग्दैन भन्ने थाहा भएर के गर्नु ? आफूलाई काम गर्न हतार हुन्छ । उनीहरुले नगर्दासम्म आफ्नो काम हुँदैन,’ सोमबार श्रम कार्यालय अघि भेटिएका उनले गुनासो गरे ।

सेवाग्राही बिचौलियाबाट ठगिए पनि त्यसबारे उनीहरु अनभिज्ञ छन् । बागलुङदेखि श्रम स्वीकृत गर्न पोखरा आएका लेखनाथ लामिछानले ‘प्रोसेस’ थाहा नभएकै कारण आफू ठगिएको बताए । ‘अनलाइन फर्म भरिदिनेले मलाई साढे ८ हजार लाग्छ भन्यो । त्यसबारे मलाई थाहा हुने कुरा भएन,’ उनले भने, ‘थाहा नै पाए पनि कसलाई भन्न जानु ? विकल्पै छैन ।’

श्रम कार्यालयकी शाखा अधिकृत विन्दु भण्डारी सेवाग्राहीले अनलाइन फर्म भर्न नजान्दा ठगिने गरेको प्रतिक्रिया दिइन् । ‘श्रमको सबै काम अनलाइनबाटै गर्नुपर्छ । उहाँहरुलाई त्यो गर्न आउँदैन । अनि बाहिर अरुलाई फर्म भर्न दिँदा उनीहरु ठगिने गरेका छन्,’ उनले भनिन् ।

बिचौलियाको ठगीबाट सेवाग्राहीलाई बचाउन निश्चित सेवाशुल्क तोकिनुपर्छ भन्ने मान्यता भण्डारीको छ । ‘सबै सेवाग्राहीले अनलाइन फर्म भर्न जान्दैनन् । त्यसका लागि पनि व्यवसायीले यतिमात्र रकम लिन पाउने भन्नेबारे निश्चित शुल्क तोकिदिए कारबाही गर्न सजिलो हुन्थ्यो,’ उनले भनिन् । शुल्क नतोकिएकै कारण सेवा शुल्क भन्दै १ हजारदेखि ३ हजार रुपैयाँसम्म बिचौलियालाई तिर्न बाध्य छन् ।

अधिकृत भण्डारीले श्रम गर्न आउने सेवाग्राहीले आफ्नो पासवर्ड बिर्सिए त्यसलाई परिवर्तन गर्ने अधिकार कास्कीलाई नभएका कारण पनि बिचौलियाबाट सेवाग्राही ठगिने गरेको बताइन् । ‘त्यो काम विभागको आइटी शाखाले मात्रै गर्न पाउँछ । हामी समक्ष गुनासो गर्न आएका सेवाग्राहीको हामी नै विभागमा मेल गरेर निशुल्क परिवर्तन गरिदिने गरेका छौं,’ उनले भनिन्, ‘कोही सेवाग्राही बाहिरबाटै गर्दा रहेछन् । उनीहरुबाट आइडी परिवर्तन गरेको पनि हजार रुपैयाँसम्म उठाइँदो रहेछ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र नागरिक समाजले सोमबार श्रम, नापी र मालपोत कार्यालयमा अनुगमन गरेको छ । त्यही अनुगमनकै क्रममा अनलाइन फर्मका नाममा बिचौलियाले सेवाग्राहीबाट चर्को असुलिँदै आएको पत्ता लागेको हो ।

सेवाग्राही सेवा शुल्कबारे बेखबर हुँदा बिचौलियाले चर्को शुल्क उठाउने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कास्की प्रमुख काशीराज दाहालले बताए । ‘सेवाग्राहीलाई जति सक्दो काम छिटो गरौं भन्ने हुन्छ । तर, बिचौलियाले फर्म भरेबापत सेवा शुल्क भन्दै बढी रकम उठाइरहेको पाइएको छ,’ उनले भने । पहिलोपटकका लागि ती व्यवसायीलाई चेतावनी दिएर छोडिएको उनले बताए ।

‘सर्भर’ बिग्रँदा श्रम स्वीकृति ठप्प
सर्भर कहिले बन्छ भन्ने कार्यालयका अधिकारी बताउन सक्दैनन्
स्याङ्जाबाट रामु थापा श्रम स्वीकृत गर्न ३ घन्टा लगाएर पोखरा आए । शनिबार आएका उनी आइतबार काम हुने विश्वासमा थिए । वैदेशिक रोजगारको प्रदेश कार्यालयमा आइतबार धाउनुमात्रै भयो । साउदी जाने तयारी गरिरहेका उनको काम सोमबार पनि भएन । कार्यालयकै अधिकारीहरुले उनलाई भनेअनुसार ‘सर्भरमा समस्या आएका कारण’ २ दिनसम्म उनको काम नभएको हो ।

‘हिजो पनि अबेरसम्म बसियो । आज पनि काम नबन्ने भएपछि घरै फर्किंदैछौं,’ परिवारसहित पोखरा आएका थापाले भने, ‘कहिले बन्छ भन्दा कर्मचारीले नै थाहा छैन भन्छन् । कर्मचारीले सही जानकारी नदिँदा हामी बाहिर कुरेका कुर्‍यै हुन्छौं ।’ कार्यालयको सम्पर्क नम्बर लगेर घर फर्किन लागेका उनी त्यतैबाट बुझेरमात्रै पोखरा आउने योजनामा छन् ।

बागलुङबाट श्रम स्वीकृति लिन पोखरा आएका लेखनाथ लामिछाने सोमबार श्रम कार्यालयकै परिसरमा भेटिए । आइतबार साँझैसम्म कुरेर बसेका उनले सोमबार पनि दिन त्यहीं बिताए । ‘बागलुङदेखि यता आएको ३ दिन भइसक्यो । सर्भर बिग्रेको छ भन्छन् । कहिले बन्छ भन्दा थाहा छैन भन्छन्,’ उनले गुनासो गरे, ‘अब कति दिन यतै बिताउनपर्ने हो थाहै भएन ।’ उनले आफू कतार जान श्रम स्वीकृति बनाउन आएको बताए ।

श्रम तथा रोजगार कार्यालयको सर्भर २ दिनदेखि काम गरिहेको छैन । जसको प्रत्यक्ष मार सेवाग्राहीले भोगिरहेका छन् । काम नहुँदा सेवाग्राहीको समय कार्यालय परिसरमै बित्ने गरेको छ । ‘बिग्रेको भए पनि अहिले बन्छ भनेर समय तोकिदिए त पनि सजिलो हुन्थ्यो नि !’ कतार जान श्रम स्वीकृत लिन आएका प्रकाश शर्मा आचार्यले गुनासो गरे, ‘काठमाडौंभन्दा यता सजिलो हुन्छ भनेर आएको झनै तनाव भो ।’

श्रम तथा वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले ‘माइक्रो टिट डिभाइस’मा खराबी आएका कारण समस्या उत्पन्न भएको बताए । ‘यो विभागसँगै लिंक हुन्छ । साधारण नेटले सेफ नहुने भएकाले यो प्रयोगमा ल्याएका हौं,’ उनले भने, ‘यसले बायोमेट्रिक आँखा चेक गर्छ । जुन यहाँको कम्प्युटर र विभागसँग सीधै जोडिएको हुन्छ ।’

श्रेष्ठले एउटा डिभाइसमा देखिएको समस्याले कार्यालयको सबै काम प्रभावित भइरहेको र आफूहरु त्यसलाई सल्टाउन लागिरहेको जानकारी दिए । ‘हामी विभागसँग त्यसबारे निरन्तर कुरा गरिराख्या छौं । यसैलाई बनाउने कि अर्को वैकल्पिक मगाएर प्रयोग गर्नेबारे छलफल भइरहेको छ । भोलिसम्ममा यो समस्या समाधान हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया