
म्याग्दी ।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीमाथिमा रहेको ऐतिहासिक महत्वको काठेपुलको जीर्णोद्धार र सौन्दर्यकरण गरिएको छ । ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एलटिएलआरपी) मार्फत एक शताप्ब्दी पुरानो पुल जीणोद्धार र सौन्दर्यकरण गरेको हो ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुलको मौलिकता नमेटिने गरी स्थानीय प्रविधि र सामग्रीको प्रयोगबाट जीर्णोद्धार गरिएको जानकारी दिए । ‘स्थानीय मौलिक सीप र प्रविधिको प्रयोगबाट एक सय वर्ष भन्दाअघि काठैकाठबाट बनेको पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको थियो’, अध्यक्ष लालचनले भने, ‘बलियो काठ प्रयोग गरेर पुरानै शैलीमा जीर्णोद्धार गरिएको पुलमा लाइट जडान गरेर रातिमा झलमल्ल देखिने गरी सौन्दर्यकरण गरेका छौँ ।’
पच्चिस मिटर लामो पुलको जीर्णोद्धारका लागि १० लाख रुपैयाँ खर्च भएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए । पालिकाको ५८ प्रतिशत र एलटिएलआरपी परियोजनाको ४२ प्रतिशत लागत साझेदारीमा उपभोक्ता समितिमार्फत पुल जीर्णोद्धार गरिएको उनले बताए ।
सोही परियोजनाअन्तर्गत काठको पुलबाट केहीमाथि रहेको मोटरेबल पुलको छेउमा २५ लाख रुपैयाँ लागतमा निर्माण भएको दुई कोठे भवनमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । जीणोद्धार भएको पुलले पर्यटक लोभ्याउन थालेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
उनका अनुसार पुल तर्ने, अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने आन्तरिक पर्यटकक आगमन बढ्न थालेको छ । जीर्ण काठेपुलमा पुराना काठका सामग्री विस्थापित गरी नयाँ काठका संरचना बनाउने, काठेपुलको रेलिङ फेर्ने र धेरै भार थेग्न सक्नेगरी साविक भन्दा थप बलियो बनाइएको छ ।
जोमसोमका ८९ वर्षीय टीकाप्रसाद शेरचनले यो पुल एक सय वर्षअघि निर्माण भएको सुनाए । मुस्ताङका स्थानीयवासी, पशु चौपाया, दामोदरकुण्ड, मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री तथा घुम्न आउने पर्यटकलाई सुरक्षित रुपमा कालीगण्डकी नदी वारपार गर्ने सुविधाका लागि काठको पुल निर्माण भएको थियो ।
जोमसोमस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि काठको पुलको प्रयोग घटेको थियो । विसं २०४४ मा कालीगण्डकीमा आएको बाढीले क्षति गरेको पुल विसं २०७२ को भूकम्पका कारण बीचभागबाट चोइटिएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया