बलुन महोत्सवमा ३० देशको सहभागिता हुने

पोखरा ।
पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
पोखराको लौरुकदेखि चंखपुरको पामेसम्म ३ किलोमिटरमा महोत्सव आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
‘पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास, थप आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो, यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ’, अध्यक्ष बाडेले भने ।
महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले सुनाए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेन्डरमा नयाँ कार्यक्रम थप भएकोमा खुसी व्यक्त गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दै खुसी व्यक्त गरे । ‘हवाई खेलकुदका गतिविधि अधिकांश पोखराबाटै सुरु भएका छन् । हामी जुनसुकै क्षेत्रमा आबद्ध भई काम गरे पनि ती सबै राष्ट्रिय हितमै छन् । तसर्थ पोखरामा आयोजना हुन लागेको महोत्सवले पनि नेपालको समग्र पर्यटन प्रवद्र्धन नै टेवा पुर्याउनेछ,’ उनले भने ।
महोत्सवभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बेलुनको उडान गर्ने छन् । एक सातासम्म चल्ने महोत्सवमा करिब ५ सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब ३ हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब ३ सय वटा गैरव्यावसायिक उडान हुनेछन् ।
महोत्सवका अवसरमा पोखरामा मिनी बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ । महोत्सवमा एकै पटक धेरै बलुन उडान हुनेहुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक महोत्सवमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ ।
महोत्सव आयोजना गर्नका लागि ६ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिलगायतका हिमशृङ्खलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।
त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ ।
तपाईको प्रतिक्रिया