कोरलामा बल्यो बिजुली

सुन्दरकुमार थकाली २०८१ असोज ४ गते १२:५७

जोमसोम ।
उपल्लो मुस्ताङको लोमान्थाङ स्थित कोरला नाका क्षेत्रमा बिहीबारदेखि बिजुली बलेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र जनप्रतिनिधिको पहलमा नेपाल विद्युत प्राधिकरणले कोरलानाकामा बिद्युत विस्तार गरेको हो ।

Advertisement


यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरेको थियो । उपल्लो मुस्ताङीलाई कोरला नाका खुला गरिएपछि त्यहाँ नेपाल बिद्युत प्राधिकरणले विद्युत प्रशारण लाइन पुर्‍याएको थियो । नाकामा अध्यागमन कार्यालय र सुरक्षा पोस्ट स्थापना गर्ने तयारी स्वरुप बिद्युत प्रशारण लाइन र मोबाइल टावर तथा इन्टरनेटको पहुँच पुर्‍याउने काम धमाधम भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।


‘नाकामा अध्यागमन र अस्थायी सुरक्षा पोस्ट राख्ने तयारी छ, त्यसैका लागि हामीले अथक प्रयास गरेर आवश्यक पूर्वाधार निर्माणको काम थालिसकेका छौं,’ पन्तले भने, ‘केही हप्ताको प्रयासपछि कोरलामा विद्युत प्रशारण लाइन विस्तार गरी बिजुली बाल्न सकेका छौं । अब मोबाइल टावर र इन्टरनेट जडान गर्ने कार्यमा ध्यान छ ।’

Advertisement


पन्तले नाकामा अध्यागमन र भन्सार कार्यालयलाई विद्युत र मोबाइल नेटवर्क आवश्यकता पर्ने भएकाले त्यसको व्यवस्थापनमा जुटेको जानकारी दिए । नाकाका अस्थायी संरचनामा बत्ती बालिएको छ ।


मुस्ताङको उत्तरी कोरला नाका गत कात्तिक २७ गते चीनले औपचारिक रुपमा उपल्लो मुस्ताङका दुई पालिकालाई खुला गरेको थियो । नाकामा उपल्लो मुस्ताङीको आउजाउ बढेको छ । नाका खुला भएपछि उपल्लो मुस्ताङीले वैकल्पिक रोजगारी पाएका छन् ।

Advertisement

नाकामा असोजभित्रै भन्सार, अध्यागमन र अस्थायी सुरक्षा पोस्ट स्थापना गर्ने तयारी छ


नाकामा केहीले त्रिपाल टाँगेर व्यापार, व्यवसाय समेत चलाएका छन् । नाकामा कोभिडपछि चीनले केही थान प्रिफाइभ कन्टेनर दिएको थियो । गत वर्ष प्रदेश सरकारले ५० लाखमा निर्माण गरेको एसवाई प्यानलको भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री ६ कोठे अस्थायी संरचना निर्माण भइसकेको छ ।


उक्त अस्थायी संरचना र चीनले दिएको प्रिफाइप कन्टेनरमा अध्यागन र सुरक्षा पोस्टलाई व्यवस्थापन गर्ने तयारी गरिएको मुस्ताङका प्रजिअ पन्तको भनाइ छ । नाकामा दैनिक कार्यालयका गतिविधि सञ्चालन हुने र साँझ त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी नेचुङमा बस्ने तयारी छ ।


अध्यागमन कार्यालय बसेपछि भन्सार राजस्व संकलन कार्यलाई व्यवस्थित बनाइनेछ । नाकामा अध्यागन बसेपछि उपल्लो मुस्ताङीलाई चिनियाँ क्षेत्रमा जान सहज हुनेछ । नाकामा पशु क्वारेन्टाइन, खाद्य क्वारेन्टाइन र पेय पदार्थको क्वारेन्टाइनसमेत राख्ने तयारी छ ।


अध्यागमन र अस्थायी सुरक्षा पोस्टलाई लक्षित गरी विद्युत र सञ्चार पहुँच पुगेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए । योसँगै नाकाको दश गजा क्षेत्रमा केन्द्रीय विद्युत प्रशारण लाइनको बत्ती बल्न थालेको छ ।
केही दिनमा सञ्चारको पहुँच पुग्ने विष्टले जनाए । नाकामा बिजुली पुगेपछि त्यहाँ त्रिपाल टाँगेर व्यवसाय चलाउने उपल्लो मुस्ताङीहरु निकै उत्साहित भएका छन् ।


बिजुली पुगेपछि त्यहाँ प्रतिकूल मौसममा समेत हिटर तापेर बस्न सकिनेछ भने टिभी हेर्न सुविधासमेत हुनेछ । नाकामा करिब एक दर्जन मुस्ताङीले चीनको तिब्बती भूमी लिजीमा पुगर सामान आयात गरी पर्यटक तथा व्यापारीलाई बिक्री गर्ने गर्छन् ।
पछिल्लो समय कोरलामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।


नाकामा असोज ८ गते भन्सार, अध्यागमन र अस्थायी सुरक्षा पोस्ट स्थापना गर्ने तयारी गरिएको भए पनि आन्तरिक समस्याका कारण त्यसको तय अझै हुन सकेको छैन । तर, असोज महिनाभित्रै ती कार्यालयहरु स्थापना हुने स्रोत बताउँछ ।


गत कात्तिक २७ गते उपल्लो मुस्ताङीका लागि मात्रै खुला गरिएको कोरला नाकामा जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुस्ताङको तल्लो क्षेत्रका ३ पालिकाका नागरिकलाई पनि चीन जान पाउने सीमापार वितरण गर्ने कार्य सुरु गरिसकेको छ ।

यसका लागि प्रशासनले सम्वन्धित तहको सिफारिसमा सीमापार पास उपलब्ध गराउन थालेको हो । गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मेरुदण्ड मानिएको उत्तरी कोरला नाकामा स्थायी पूर्वाधार निर्माण गरी दीर्घकालीन रुपमा सञ्ञ्चालन हुने सके यसले चौतर्फी फाइदा हुनेछ ।


कोभिडअघि चीनको स्वशासित क्षेत्र तिब्बती भूमीमा अस्थायी अल्पकालीन व्यापार मेला चल्थ्यो । त्यहाँ उपल्लो मुस्ताङीले बर्सेनि असार र भदौमा आफूलाई चाहिने घरायसी मालसमान, लत्ताकपडा, किराना, कृषि उपकरण र इलेक्ट्रोनिक समान किन्थे ।


अहिले चीनले बाह्रै महिना नाका खुला गरिदिएपछि थप सहज भएको छ । उपल्लो मुस्ताङीले नेपालमा पाइने सामान, कृषि उत्पादन, यार्सागुम्बा लगायत तिब्बततर्फ निर्यात गर्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया