पोखरामा गुरुङ समुदायले मनाए ट्होंटे पर्व !

समाधान संवाददाता २०७६ साउन २९ गते १३:२९

युनिश गुरुङ
पोखरा

गुरुङ समुदायका केटाकेटीदेखि बुढाबुढीसम्म सोमबार सबै सडकमा उत्रिए । जातीय पोसाक र बाजागाजासहित सडकमा उत्रिएका उनीहरुले सडक छपक्कै छोपेका थिए । हजारौंका संख्यामा त्यसरी सडकमा निस्किएका उनीहरुको पोखरा महेन्द्रपुल, न्यूरोड हुँदै तमु धिंमा नाच्दै गाउँदै पुगे ।

अवसर थियो, ट्होंटे पर्व । जुन गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्ये एक मानिन्छ । यो वर्ष उभौली र उद्यौली गरी वर्षमा २ पटक मनाइन्छ । चैत र साउनको अन्तिम मंगलबार धुमधामले यो पर्व मनाउने गरिन्छ ।

Advertisement

यसपटकको उद्यौली ट्होंटे पनि पोखरामा धुमधामले मनाइएको छ । टोल–टोलबाट झाँकीसहित गुरुङ समुदाय निस्किए । तमु धिं नेपालको आह्वानमा टोल–टोलबाट विभिन्न गुरुङ संगठनका ब्यानर, झाँकीसहित गुरुङ समुदाय जातीय पोसाक तथा विभिन्न जनावरदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी पोखराका सडकमा निस्किए ।

गुरुङ समुदायका विभिन्न हातहतियार, बाजा बजाउँदै झिलीमिली पोसाकमा बालबालिका, किशोरकिशोरीदेखि बुढापाकासम्म र्‍यालीमा सहभागी बने । ‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका निस्किएको र्‍यालीले बजार परिक्रमा गर्दै नयाँ बजारस्थित तमु धिंको कार्यालयमा पुगेर समापन गरियो ।

Advertisement

ट्होंटेमा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँडा, भाला लगायत विशेष हतियार लिएर ढ्याङग्रो, छेली लगायत बाजा बजाई नाचगान गर्ने चलन छ । यसले भूत, प्रेम, भगाउने, रोगब्याधी हटाउने विश्वास गरिन्छ ।

तमु धिंका द्वितीय उपाध्यक्ष हुम गुरुङका अनुसार ट्होटें दुई शब्दबाट बनेको हो । ट्हो को अर्थ गाउँ ठाउँ र टेंको अर्थ लखेट्नु हुन्छ । दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने चलन छ । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा लिइँदै आएको छ ।

ट्होंटे उभौली र उधौली चैत र साउनको ३÷३ वटा मंगलबार मनाइँदै आएको भए पनि पोखरामा भने अन्तिम मंगलबारमात्र मनाइने गुरुङले सुनाए । ‘यो अन्तिम मंगलबार ट्होंटे मनाउने चलनचाहिँ तमु धिंले सुरु गरेको हो,’ उनले भने । कार्यक्रममा पर्यटनमन्त्री विकास लम्साल, मेनकाजी गुरुङ, सिडिओ चक्रबहादुर बुढा र अध्यक्ष कर्म गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया