गण्डकीका १० जिल्लामा डेंगीबाट साढे ८ हजार संक्रमित हुँदा जाँच्ने किटसमेत अभाव

पोखरा ।
डेंगी भाइरसबाट संक्रमित लामखुटेले टोक्दा डेंगी रोग लाग्छ । यो रोगबाट अहिले पोखरा र समग्र गण्डकी प्रदेश आक्रान्त भएको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् भने संक्रिमित हुनेको संख्या बढ्दै जाँदा जाँच गर्ने किटको समेत अभाव हुन थालेको छ ।
पछिल्लो तथ्यांक अनुसार गण्डकीका १० जिल्लामा ८ हजार ६ सय २० जनामा डेंगी देखिएको छ । यो संख्या भदौ पहिलो हप्तासम्म २ हजार ६ सय ९१ थियो । गण्डकीका ११ जिल्लामध्ये संक्रमितको संख्या कास्कीमा सबैभन्दा बढी छ ।
कास्कीमा ४ हजार २ सय ४५ जनामा डेंगु संक्रमण देखिएको छ । कास्कीका ५ पालिकामध्ये पोखरा महानगरपालिकामा ४ हजार १ सय ४२ जनामा डेंगी पोजेटिभ देखिएको छ । पर्वतमा ७ सय ८२ जनामा डेंगु पोजेटिभ देखिएको छ । गोरखामा ३ सय ९९, स्याङ्जामा ३ सय १०, बागलुङमा २ सय ४३, म्याग्दीमा १ सय ९, नवलपुर १ सय ४, लमजुङमा ९४ र मुस्ताङमा ३ जना डेंगु संक्रमित छन् ।
डेंगु संक्रमित बढ्दै जाँदा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र निजी अस्पतालसमेत बिरामीले भरिएका छन् । उच्च ज्वरो, आँखा दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी र बान्ता हुने लगायतका लक्षण बढ्दै जाँदा अस्पताल पुग्नेहरुको संख्या पनि बढिरहेको छ ।
अस्पतालका बेडहरु भरिँदै जाँदा गण्डकीमा डेंगु जाँचका लागि आवश्यक पर्ने किट पनि अभाव हुन थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले अहिले स्वास्थ्य कार्यालयसँग किट २ सय वटामात्र किट रहेको सुनाए ।
उनका अनुसार पालिकाहरुको माग बमोजिम किट पुर्याउन सकिएको छैन । ‘हामीसँग बजेट पनि कम छ । स्वास्थ्य संस्थाहरुले माग गरेबमोजिम किट पुर्याउन नसकिएको अवस्था छ,’ उनले भने, महामारीका लागि भनेर सरकारले २ लाख रुपैयाँ दिएको थियो । त्यो पैसाले किन्ने प्रक्रियामा जाने भन्ने छलफल भएको छ ।’ पाँच सय माग्नेलाई एक सय कीट दिँदै कार्यालयले म्यानेज गरेको उनले सुनाए ।
जनस्वास्थ्य कार्यालयले किट उपलब्ध नगराएपछि बागलुङको धौलागिरी अस्पतालले आन्तरिक व्यवस्थापन गरी डेंगीको परीक्षण गरिरहेको छ । ‘आपूर्तिबाट प्राप्त भएको छैन । स्वास्थ्य कार्यालयबाट पनि प्राप्त भएको छैन । अस्पतालले आन्तरिक स्रोतबाट किनेर काम चलाइरहेका छौं’, अस्पताल स्रोतले भन्यो ।
गण्डकीमा जेठ महिनादेखि डेंगी संक्रमण बढ्न थालेको हो । साउनदेखि संक्रमण ग्राफ बढ्न थालेको हो । उच्च ज्वरो आउने, जीउ, टाउको र जोर्नी दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण संक्रमितमा देखिन्छ । असोज महिनासम्म संक्रमतिको संख्या उच्च रहने स्वास्थ्यकर्मीको अनुमान छ । पानी जम्न नदिने, लामखुट्टेका लार्भा नष्ट, घर बाहिर हिंड्दा सतर्कता अपनाउने लगायत उपाय अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ ।
पोखरामा कवाडी संकलन केन्द्र, ग्यारेज, वर्क सप, टायर पसल बढी भएकाले २ वडामा संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । घरघरबाट चासो नदिए झनै भयभह हुने जनस्वास्थ्य प्रमुख नेपालीले चेतावनी दिए । प्रदेश सरकारले यसअघि असारमै डेंगु परीक्षणका लागि आवश्यक आरडिटी किटका लागि मात्र लाग्ने शुल्क लिन प्राइभेट अस्पताललाई निर्देशन दिइएको थियो ।
सरकारले डेंगु नष्ट गर्न अभियानसमेत सञ्चालन गरेको थियो । सरकारले सञ्चालन गरेको अभियानले समेत डेंगु नष्ट गर्न सकेन । अहिले अवस्था भयभह बन्दै गएको छ । स्वास्थ्यकर्मीहरुले आफ्नो घर, कार्यथलो आसपासमा राम्ररी सरसफाइ गरेमा यो लामखुट्टे फैलन नसक्ने बताएका छन् ।
यसबाट बाँच्न पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्नुपर्छ । ताकि त्यहाँ यो लामुखट्टेले फूल पार्न नपाओस् । पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरबाहिर बोत्तल, टायर, प्लाष्टिकमा पानी जम्दा लामखुट्टेले आफ्नो वासस्थान बनाउन सक्ने स्वास्थ्यकर्मीहरु औंल्याउँछन् ।
तपाईको प्रतिक्रिया