निर्मल स्पोर्टिङ र नीलगिरि थाक भलिबल च्याम्पियन 

समाधान संवाददाता २०८१ असोज ८ गते ९:०१

जोमसोम ।
निर्मल स्पोर्टिङ क्लब (लेते) र नीलगिरि युवा क्लब (टुकुचे) मुस्ताङको मार्फामा भएको ५१ औं संस्करणको थाक भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजना तथा मिलिजुली युवा क्लब मार्फाको सहआयोजनामा प्रतियोगिता भएको हो ।

Advertisement


सोमबारको फाइनल प्रतिस्पर्धामा निर्मल स्पोर्टिङ क्लबले अन्नपूर्ण युवा क्लब (ताक्लुङ)लाई ३—१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्यो । नीलगिरि युवा क्लब (टुकुचे)ले आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संघलाई सोझो ३ सेटमा हराउँदै खुला महिलातर्फ विजेता बन्यो ।


पुरुष भलिबलको निकै रोमाञ्चक प्रतिस्पर्धामा निर्मल स्पोर्टिङले २५—२३, २५—२३ र २५—१९ को सेटले अन्नपूर्णलाई पराजित गरेको हो । अन्नपूर्णले २५—१९ले एक सेट जितेको थियो । ६ क्लबको सहभागिता रहेको प्रतियोगितामा मिलिजुली युवा क्लब मार्फा र नीलगिरि युवा क्लब टुकुचे समूह चरणबाटै बाहिरिएका थिए ।


त्यसअघि निर्मल स्पोर्टिङ मिलिजुली युवा क्लब मार्फालाई र अन्नपूर्ण युवा क्लब धौलागिरी युवा क्लब कोवाङलाई सेमीफाइनलमा हराउँदै फाईनलमा पुगेका थिए । महिलातर्फ आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संघसहित ३ टिम सहभागी थिए । जसमा निर्मल स्पोर्टिङ लेते समूह चरणबाट बाहिरिएको थियो । नीलगिरी युवा क्लब टुकुचे र आयोजक टिम फाइनलमा पुगेका थिए ।

५१ औं संस्करणको थाक भलिबल प्रतियोगितामा भलिबल, तारा खेलसहित विभिन्न प्रतियोगिता भएका छन्

Advertisement


प्रतियोगितामा नीलगिरिले न्यू डायमन्डबाट खेल्ने प्रतिभा माली, सलिना श्रेष्ठ र प्रगतिनाथ गरी ३ राष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको थियो । उता, आयोजक संघले गण्डकी प्रदेशक जुनियर भलिबल खेलाडीलाई मैदानमा उतारेको थियो ।


पुरुष भलिबलतर्फ निर्मल स्पोर्टिङ लेतका युरिक गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भए । अन्नपूर्ण युवा क्लबका वीरेन्द्र शेरचन उत्कृष्ट लिफ्टर हुँदा महिला भलिबलतर्फ नीलगिरि युवा क्लवबाट खेलेकी सलिना बुढामगर सर्वोत्कृष्ट खेलाडी ठहरिइन् ।


पुरुषतर्फको च्याम्पियन निर्मलले नगद १ लाख ५० हजार र उपविजेता अन्नपूर्ण ताक्लुङले नगद १ लाखसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् । महिला भलिबलको च्याम्पियन नीलगिरिले नगद १ लाख र उपविजेता थाक खेलकुद तथा सांस्कृतिक विकास संघले नगद ७५ हजार पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् । दुवै खेलका सर्वोत्कृष्ट खेलाडी तथा लिफ्टरले जनही नगद ५ हजार पाएका छन् ।


४९ औं र ५० औं थाक खेलकुदको च्याम्पियन बन्न चुकेर उपविजेतामा सीमित रहेको अन्नपूर्ण युवा क्लब ताक्लुङले यस पटक पनि उपाधि चुम्न सकेन । अन्नपूर्ण ताक्लुङले लगातार ३ संस्करण उपविजेता बन्दै उपविजेता सिल्ड पाएको छ ।


फाइनल प्रतिस्पर्धाको पहिलो सेट जितेको अन्नपूर्ण ताक्लङले दोस्रो सेटको २२—२३ हुँदा खेलाडी योगेन्द्र घाइते हुँदा त्यसपछिका लगातार गुमाउन पुग्यो । टिमका मुख्य स्पाइकर घाइते भएकै कारण प्रतियोगितामा हार व्यवहोर्नु परेको अन्नपूर्णका खेलाडी वीरेन्द्र शेरचनले उल्लेख गरे । ‘हामीलाई भाग्यले साथ दिएन, उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै हाम्रा खेलाडी लडेर घाइते भए,’ शेरचनले भने, ‘त्यसपछि पनि हामी खेलमा फर्किने प्रयास ग¥यौं, तर हाम्रो दोस्रो तहको स्पाइक चल्न नसक्दा हार भयो ।’


४० वर्षमाथिको सादा धनुष वाँण (तारा) खेलमा निर्मल स्पोर्टिङ युवा क्लब (लेते) च्याम्पियन बनेको छ । ७ डोरमा भएको प्रतियोगितामा सर्वाधिक अंक बटुल्दै निर्मल स्पोर्टिङ च्याम्पियन बनेको हो । प्रतियोगितामा अन्नपूर्ण युवा क्लब ताक्लुङ उपविजेता बनेको छ । प्रतियोगिताका उत्कृष्ट धनुर्धर अन्नपूर्णका बुद्ध शेरचन घोषित भए । योसँगै तारा खेलको च्याम्पियनले नगद ५० हजार र उपविजेताले नगद ३५ हजारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।


आधुनिक धनुष वाँण (आर्चरी) प्रतियोगितामा धौलागिरी युवा क्लब (कोवाङ) च्याम्पियन बन्यो । निर्मल स्पोर्टिङ उपविजेतामै सीमित रह्यो । आर्चरीतर्फ सर्वोत्कृष्ट खेलाडी निर्मल स्पोर्टिङका रिजन गौचन घोषित भए । प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ५० हजार र ३५ हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारे ।


सांस्कृतिक नृत्य विधातर्फ नीलगिरि युवा क्लब प्रथम, सिक्ससोल्टिज क्लब घासा द्वितीय र धौलागिरि युवा क्लब तृतीय भए । सर्वोत्कृष्ट महिला कलाकार धौलागिरी युवा क्लबकी सृजना फगामी घोषित भइन् भने सर्वोत्कृष्ट पुरुष कलाकार नीलगिरिका रोशन थापा भए । सांस्कृतिक विधातर्फ सर्वोत्कृष्ट थकाली गीत रचनाकारको पुरस्कार निर्मल स्र्पोिर्टङका विशनमणि गौचनले हात पारे ।


अनुशासित क्लबतर्फ मिलिजुली युवा क्लव (मार्फा), उत्कृष्ट भेषभूषातर्फ अन्नपूर्ण युवा क्लव (ताक्लुङ) र उत्कृष्ट मार्चपास र उत्कृष्ट प्रतिभा प्रदर्शनतर्फको पुरस्कार नीलगिरि युवा क्लब (टुकुचे)ले पाएका छन् ।


सोही अवसरमा घरपझोङ गाउँपालिकाले पालिकास्तरीय कृषि मेलासमेत आयोजना गरेको छ । कृषि प्रदर्शनीतर्फ विभिन्न कृषि उपज राखिएका थिए । पालिकाले उत्कृष्ट किसानहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको कृषि शाखाका अधिकृत रोशन थकाली बताए ।


विभिन्न खेलका बिजेता क्लब र खेलाडीहरुलाई संघीय सांसद योगेश गौचन थकाली, क्लबका अध्यक्ष कृष्णकुमार शेरचन लगायतले पुरस्कार तथा सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरे । मुस्ताङमा २०२७ मा तल्लो क्षेत्रमा छरिएर रहेका क्लबहरुलाई एकत्रित गर्दै मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघ गठन गरिएको थियो ।

तपाईको प्रतिक्रिया