सम्पादकीय—विपदबाट नसिक्दा अकल्पनीय क्षति

समाधान संवाददाता २०८१ असोज १३ गते १२:२१

धेरैजसो विपद् अकस्मात नै आइपर्छन् । पहिला भएका विपद्बाट सिक्ने र पूर्वतयारी र सावधानी अपनाउने हो भने विपद्को क्षति शून्य बनाउन त सकिन्न तर न्यूनीकरण सम्भव छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले देशभर बाढी, पहिरोका कारण धनजनको ठूलो क्षति भएको छ । मौसमबारे पूर्वानुमान र सावधानीका लागि सूचना जारी हुँदासमेत यो स्तर क्षति अकल्पनीय नै हो ।

Advertisement

शनिबार साँझ बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता छन् । वर्षात जारी रहेकाले क्षतिको बढ्ने पक्का छ । बाढीले खेतीयोग्य जमिन बगाएको छ भने पुलसहित धेरै पूर्वाधारहरु बगरमा परिणत गरेको छ । सयौं घर, गोठहरु भत्किएका छन् उस्तै संख्यामा बाढी र पहिरोबाट पुरिएका छन् । देशकै राजधानी काठमाडौंसमेत नराम्ररी प्रभावित बनेको छ । काठमाडौंमा मात्रै ३४ जनाले ज्यान गुमाइसकेका छन् । विगतमा आएका विपत्तिबाट पाठ नसिक्दा यो मात्राको क्षति हामीले व्यहोर्नुपरेको हो ।


२० भन्दा बढी जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याएको छ । सुरक्षा निकाय र स्थानीय खोजी, उद्धार र राहतमा लागिपरको छन् । शुक्रबारदेखिको लगातार वर्षाका कारण देशभरि विपदजन्य घटनापछि शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बैठक बसेको छ । बैठकले वर्षापछिको बाढी पहिरोका कारण अवरूद्ध सडक तत्काल खुलाउने निर्णय गरेको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको छ ।

तत्काल सडक नखुलाई आवगमन सहज बनाउन र उद्धार, राहत, उपचार गर्न कठिन हुन्छ । बाढी, पहिरोको नोक्सानीको मूल्यांकन गर्ने र मृतकका परिवारलाई दिनुपर्ने क्षतिपूर्ति कानुनमुताबिक चाँडै प्रबन्ध गर्ने सरकारले निर्णय लिएको छ । भारी वर्षाका कारण जारी भएका परीक्षाहरू समेत स्थगित गरिएका छन् । सरकारले सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्ने निर्णय लिएको छ । यो बेला सरकारले निर्णय लिएरमात्र पुग्दैन, कार्यान्वयन पक्षमा पनि यथेष्ठ ध्यान दिनु जरुरी छ ।


समस्यामा रहेका नागरिकलाई प्रधानमन्त्री कार्यालयको हट लाइन, नेपाल प्रहरी, नेपाली सेना, एपिएफ र गृहम न्त्रालयको हट लाइनमा सम्पर्क गरी राहत तथा उद्धारका लागि अनुरोध गर्न भनिएको छ । विपदमा उद्धारका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको र अन्य मन्त्रालयलाई पनि आवश्यक समन्वय गर्न भनिएको छ ।

Advertisement

अव्यवस्थित रुपमा बसाइएका बस्ती, नदी, खोला किनारमा बनाइएका घरहरु बढी क्षति भएका छन् । बिना पूर्वअध्ययन जथाभावी बनाइएका पुलहरु बगेका छन् । राजमार्गहरु भत्केका छन् । राजधानी पस्ने सबै नाकाहरु अवरुद्ध छन् । अर्थात् देश विपद्बाट नराम्ररी प्रभावित बनेको छ । पहिला पीडितको उद्धार, राहत र सुरक्षित हुनेतिर ध्यान दिऔं, त्यसपछि विपद्को जोखिम रहेका बस्ती, संरचनाहरु स्थानान्तर गर्ने योजना बनाऔं ।

तपाईको प्रतिक्रिया