पैसाले मात्रै हुन्न समाजसेवा

सुरेन्द्रबावु तिवारी २०८१ असोज १४ गते १२:०८

‘सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ’ भन्ने उद्देश्यका साथ समाज कल्याण परिषद्को २०३४ सालमा स्थापना भएको हो । त्यसै भएर समाज कल्याण परिषद् स्थापना भएको दिन अर्थात असोज ६ गतेको दिन पारेर ‘सामाजिक सेवा दिवस’ मनाउन थालिएको हो । समाज सेवा विकासोन्मुख देशको बिकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्न समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन सुरु गरेको हो ।

Advertisement

समाजकल्याण परिषदका गतिविधिहरु सुस्ताएका छन् र सामाजिक सेवा दिवस पनि कर्मकाण्डमा रुमलिएको छ तर नेपाली समाजमा तथाकथित समाजसेवाको शैली जुन रुपमा फस्टाईरहेको छ त्यसको र यो रुघ्ण अभ्यासको वेलैमा उपचार नगरेमा अन्य सामाजिक अंगहरुमा क्यान्सर फैलिएर सिंगो समाजलाईनै थल नपार्ला भन्न सकिँदैन । यहाँनेर गर्नपर्ने मेजर शल्यक्रिया हो तर आफ्नै बुझाइको दायर फराकिलो नभएको र अनुभव पनि कमी भएकोले सामान्य समाजसेवाको सामान्य शल्यक्रिया गर्न यो लेख तम्सिएको छ ।


समाज भनेको यस्तो समूह वा संगठन हो जसमा धेरै मानिसहरूले नियमहरूको स्थापित गरी सँगै बस्नका लागि उपयुक्त वातावरण सिर्जना गर्दछन् । मानिसको सन्दर्भमा, धेरै मानिसहरूले लिखित वा अलिखित नियमहरू बनाउछन् भने यस्तो बसोबासलाई समाज भनिन्छ । प्रत्येक समाजका आ–आफ्ना विशेषता हुन्छन् । समाजअनुसार सामाजिक मुद्दा र समस्याहरू पनि रहेका हुन्छन् । समाजमा हुने आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक स्तरीकरण, विभेद, अन्याय, विमति, बेमेल आदिका कारण मानिसहरूका सरोकार, प्राथमिकता र आवश्यकता फरक खालका हुन्छन् । व्यक्ति, परिवार तथा विभिन्न सामाजिक एकाइ मिलेर एउटा समाज बनेको हुन्छ । व्यक्ति–व्यक्तिका आफ्ना आवश्यकता वा मुद्दा मिलेर सामाजिक मुद्दा बन्ने गर्छन् ।


समाजको आफ्नै आवश्यकता, इतिहास र स्वभावअनुसार मानिसहरूका काम, पेशा, विचार, प्राथमिकता आदिका कारण उनीहरूमा सामाजिक स्तरीकरण हुँदै आएको हुन्छ । कुन पेशा आयका मानिसहरूले कस्तो खालको जीवन निर्वाह गर्ने गरेका छन् त्यसले पनि स्तरीकरण वा सामाजिक विभेदलाई मलजल गरेको हुन्छ । समाजमा रहेको शहर–बजार, भूगोल–क्षेत्र, तह–तप्का, भाषा–शिक्षा, लवाइ–खवाइ एवं भौतिक वस्तुको प्रयोगको क्षमता र तरिका आदिका कारण पनि मानिसहरूमा विभेद हुने गरेको पाइन्छ । नेपाली समाज आधुनिकतातर्फ तीव्र गतिमा लम्किरहेको छ भने अनेकौं सामाजिक समस्यासमेत बढेर गएका छन् । समसामयिक रुपमा यी सामाजिक कुरीतिको संगठनात्मक विरोध र यिनीहरुलाई चिर्न पनि समाजसेवा एउटा महत्वपूर्ण माध्ययम बन्न सक्दछ । तर स्वयंसेवा, दान वा यस्तै परोपकारी भावनाको अर्थ र अभ्यास भने नेपाली समाजमा अलि पृथक देखिएको छ ।


दान वा समाजसेवाका सन्दर्भमा हाम्रो एउटा परम्परागत मान्यता के थियो भने एउटा हातले दिएको दान अर्को हातले थाहा नपाओस् । यद्यपि अहिले नेपालमा समाजसेवा वा दानको अर्थ पूरै बदलिएको छ । सुन्दा अलि नराम्रो सुनियला तर यो यथार्थ हामी माझ छ र स्पष्ट रुपमा भन्नुपर्दा नेपालमा समाजसेवाको क्षेत्रले विकृत रुप ग्रहण गरिसकेको छ । समाजसेवा रोजगारीमा परिवर्तन भएपछि विकृति मौलाउनु अस्वाभाविक पनि होइन । त्यसबाहेक यो व्यक्तिको आत्मप्रचार वा विभिन्न अपराध ढाकछोप गर्ने माध्यमका रुपमा विकसित हुनु निश्चय पनि विडम्बना र दुःखको कुरा हो ।

Advertisement

नेपालमा अहिले केही अपवादलाई छाडिदिने हो भने समाजसेवाको समग्र क्षेत्र नै विकृति र विसंगतिको थुप्रोमा परिणत भएको छ । जसमा सरकारी नियामक निकाय समाज कल्याण परिषद्समेत अछुतो छैन । समाजसेवाका नाममा झाँगिएको अर्को रुप धर्म प्रचार वा धर्म परिवर्तनका रुपमा समेत अगाडि आएको छ । राज्यको फितलो अनुगमन एकातिर छँदै छ, जसले पनि जहाँ पनि, जहिले पनि सामाजिक गतिविधिका नाममा जेसुकै गर्न पाउने छुट नेपालमा मात्र होला । नेपालको सन्दर्भमा अब यस्तो समाजसेवामा लगाम लगाउनै पर्छ । राज्यले कानुन सुधारेर तथा चुस्त अनुगमनका माध्यमबाट समाजसेवाको क्षेत्रमा देखिएका विकृति–विसंगति नियन्त्रण गर्न ढिलो भइसकेको छ ।

दान वा समाजसेवाका सन्दर्भमा हाम्रो एउटा परम्परागत मान्यता के थियो भने एउटा हातले दिएको दान अर्को हातले थाहा नपाओस्


सबैले समाजसेवा गर्नु नै पर्छ भन्ने पनि छैन । समाजसेवामा पैसा केही हो । तर, सबथोक होइन भन्ने बुझ्न पनि जरुरी छ । पैसाले मात्र समाजसेवा हुन्छ भन्नु एक प्रकारको दम्भमात्र हो । समाजसेवा त तन मन र वचनले पनि हुन्छ भनेर मनन गर्न सक्नुपर्छ । समाजसेवाका लागि आधारभूत शर्त पैसा होइन, इच्छाशक्ति हो । त्यसो भनेर फेरी सधैं अरुले तेल हालिदिएर गाडी चढेर हिँड्ने, राम्रै इच्छा शक्ति भएका समाजसेवीको सर्कल पनि नभएको होइन ।


समाजसेवालाई राजनैतिक आड भरोसा र शक्ति आँकलन गर्ने माध्ययम बनाउने प्रवृति पनि मौलाएकै छ । एउटा उदाहरण लिउँ यो सामुदायिक प्रहरी सेवा केन्द्रको । प्रहरीलाई समुदायको बनाउने, डेमोक्रेटिक पोलिसिङको अभ्यास र सेवामा समर्पित रहन सुरुआत गरिएको यो समितिमा निर्वाचन र अझ राजनीतिक पार्टीहरुको साख जोगाउने थलोको रुपमा परिभाषित गरी अभ्यास गरको देखिन्छ । यी र यस्ता सहयोगी निकायहरु एउटा संगठनकै रुपमा रस्साकस्सी गरेर राजनीतिक प्यानलनै बनाएर प्रतिस्पर्धा गरेको देखिन्छ । अब चुनाव जितिसकेपछि यस्ता केन्द्रको पदाधिकारीलाई मापसे छुट गराउने, लायसन्स लिन सजिलो बनाउने कुरामा भनसुनका लागि फोन आउन थाल्छ । यो अलि देखावटी भएन र ? समाजसेवा हो कि पुलिससँग नजिक भएर तथाकथित सहजकर्ता बन्ने सामाजिक खोल ?


अब कुरो लायनबादको गरौं । छ्यापछ्याप्ती गठन र सञ्चालन भएका लायन्स क्लबहरुको मक्सद यस्तो लाग्छ लायन सदस्य नभएको मनुवाले समाजसेवा को ‘स’ पनि जान्दैन, त्यो कुवाको भ्यागुतो हो । के शिक्षक के कर्मचारी, के नेता के विद्यार्थी व्यापारी सवै लागेका छन् । यस्तो लाग्छ स्वदेशमा बसेका अलिअलि पढेका पेसा व्यवसाय भएका सवै समाजसेवामा नै छन् विदेशमा त हुने नै भए । जसरी आम पब्लिक लागेको छ त्यसको सकारात्मक प्रभाव र परिणाम चाहिँ आएको पाइँदैन । पिकनिक र फेलोसिप ग्यादरिङमै भुलेको पनि नदेखिएको होइन । अर्का छन् सेलीब्रेटी समाजसेवी कलाकारिताको चमकधमकमा टिलिक्क टल्किएर विकास निर्माणमै हातहाल्दिने ! कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर ! कामको गुरुत्व एकातिर होला तर प्रचारबाजी बढी गरिदिने ।


नेपालमा सरकारको कुनै आडभरोसा नलिई जनस्तरबाट स्वतन्त्र रूपमा संस्थागत वा व्यक्तिगत तवरले समाजसेवाका गतिविधि हुन थालेको सय वर्ष नाघिसकेको छ । इतिहासका केही सम्मानित समाजसेवी हुन् माधवराज जोशी, दयावीरसिंह कंसाकार, आबाल ब्रह्मचारी षडानन्द अधिकारी, कृष्णप्रसाद कोइराला र योगमाया । इतिहासमा समाजसेवाको बलियो जग बसाल्ने महामनाहरू हुन् उल्लिखित समाजसेवीहरू । नेपालमा नीजि र सामुदायिक क्षेत्रबाट दान दातव्य संकलन गरेर महायज्ञमा चन्दा दिने समाजसेवीले समाजका विभिन्न क्षेत्रको उन्नतिका लागि ठूलो योगदान पु–याएका छन् ।

कतिले जग्गादान गरे, जहाँ अहिले ठूलाठूला शिक्षण संस्थाहरू रहेका छन् । कतिले समाजकै कुरीति र अन्धविश्वास विरुद्ध जनतालाई ज्ञान बाँडे । कतिले अस्पताल खोले, कतिले बाटाघाटा बनाए । राज्यले विगतका विशिष्ट समाजसेवीका कर्महरूको खोजीनीति वा चासो गरेको पाइँदैन । देशभरि ठूलो संख्यामा कसैको आशा नराखी आफ्नै बलबुताले जनकल्याणका कामहरू गर्ने वास्तविक समाजसेवकहरूको खोजी गरी तिनीहरूलाई राष्ट्रिय सम्मान गर्न राज्य तत्पर हुनु जरुरी छ । यतातिर ध्यान कमी भएको हो कि ?


अचेल एउटा ‘व्यवसाय’ खुबै फापेको देखिन्छ– सम्मान र अभिनन्दन । पैसावाललाई सम्मान चाहिएको छ । उनीहरुलाई सम्मान गर्ने संस्था बग्रेल्ती छन् । तपाईंलाई कति हजार वा कति लाखको पुरस्कार थाप्नु छ, भन्नुहोस् । आफैं रकम दिनुहोस् । त्यसको कार्यक्रम गर्ने खर्च व्यहोर्नुहोस्। दोसल्ला आफैं किन्नुहोस् । साथमा आयोजक संस्थालाई ‘सेवा शुल्क’ टक्रयाउनुहोस् । सम्मान पाउने तपाईंको अभिलाषा पूरा भइहाल्छ । उसको पनि व्यापार चल्छ । ‘विन–विन’ को यो धन्दा निकै फैलिएको छ । समाजसेवा यस्तै अर्को व्यवसाय बनेको छ । यसमा पनि झार्ने र कमाउने शैली उही प्रयोग हुन्छ । यस्तो टपरटुइयाँ समाजसेवी पनि देखिएकै छ । आफै एउटा संस्था खोल्यो, राज्यको सहयोग समन्वय ग¥यो, आफूलाई मन नपर्ने व्यक्ति वा राजनीतिक दलको सदस्यलाई बहिष्कार गर्‍यो, आफ्नै भजनमण्डली तयार गर्यो अनि शुरु गर्यो आफ्नै बखान !


शिक्षा र समाजसेवामा पुर्‍याएको अतुलनीय योगदानको कदर स्वरुप फलानो विश्वविद्यालयको मानार्थ विद्यावारिधि हजुरलाई प्रदान गरिएको छ भन्यो सम्मान थाप्नेले पनि थोर बहुत खर्च भएपनि अवार्ड लिने तीव्र इच्छा पूरा गर्‍यो, क्याबात ! हामीले त यो गाइँगुइँ सुनेको पैसा खर्च पनि हुने रहेछ अनि भोलिपल्ट सामाजिक सञ्जालमा डाक्टर फलानो भनेर उहाँको योगदानको चर्चा आँउछ । गज्जब छ यो प्रायोजित र सुनियोजित समाजसेवीको कदर पनि । यस्ता धेरै तथाकथित समाजसेवीले समाजलाई जोड्न भन्दा बढी भत्काउने कुरा जगजायर छ । धार्मिकताको खोल ओडेर समाजसेवा गर्ने त पशुपतिदेखि चतरासम्म र वाकरा बाकरा फू गर्ने पादरी सम्म देख्न र सुन्न पाइयो । घरपाला एनजिओको त कुरै छोडौं । आफैं बोक्सी आफै झाँक्री भनेजस्तो समाजसेवाको अवार्ड र अभिनन्दन भइनैरहेको देख्न बुझ्न पाइन्छ । यो त सरासर समाजसेवको नाममा विकृति भयो ।


कुनै पनि समाज सहृदयी एवं दूरदृष्टि भएका सामाजिक अभियन्ताका सत्प्रयासले अग्रगमनतर्फ अघि बढिराखेको हुन्छ । समाज सुसंस्कृत र समृद्ध हुन यस्ता व्यक्तित्वको सोच र चिन्तन अपरिहार्य हुन्छ । समाजसेवाको वास्तविक मर्म अझै मरिसकेको छैन । मनबाटै सहयोग र परोपकार गर्ने, प्रचारबाजीमा रुचि नराख्ने महामनाहरुको कमी त छ तर यो शून्यमा छैन । हामीले हाम्रो वरपर हुने समाजसेवाको नाममा भइरहेको विकृति टुलुटुलु हेर्नुको विकल्प खोज्नुप¥यो । समाजसेवाको क्रियाकलाप र अभ्यासलाई नियमन गर्ने र उत्कृष्ट अभ्यासलाई निरन्तरता र पुरस्कृत गर्दै जानुपर्छ । गतिशील समाजमा समाजसेवाको मर्म र धर्मलाई जीवन्त राख्नुपर्दछ ।
अस्तु

तपाईको प्रतिक्रिया