जोमसोममा वायु गुणस्तर मापन केन्द्र

समाधान संवाददाता २०८१ असोज १९ गते ११:०२

जोमसोम ।
हिमाली जिल्लामै पहिलोपटक मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना हुने भएको छ । सरकारले ३१ औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मुस्ताङमा यो प्रविधि जडान गर्न लागिएको हो ।

Advertisement


वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अंगहरुसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकुल हुन नदिने लगायत उद्देश्यसहित नेपाल सरकार वातावरण विभागले मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने तयारी गरेको हो । यसका लागि २ साताअघि वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी र विभागका प्राविधिक उपसचिव दीपक ज्ञवाली लगायतको टोलीले मुस्ताङ आएको छ ।


टोलीले वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि स्थान छनोटका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङसँग समन्वय गरेको थियो । मुस्ताङ प्रशासनसँग समन्वयमा विभागको टोली जिल्ला प्रशासन कार्यालय पछाडिको शालिग्राम उद्यान पार्कमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने फाइनल गरेको विभागका महानिर्देशक ज्ञानराज सुवेदीले जानकारी दिए । झन्डै १ करोड बढी लागतको वायु गुणस्तर मापन प्रविधि जडान गर्ने तयारी भइरहेको महानिर्देशक सुवेदीले उल्लेख गरे ।

Advertisement


सरकारले यसअघि ३० वटा जिल्लाहरुमा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा छन् । ३१ औं केन्द्रका रुपमा चालु आर्थिक वर्षभित्रै वायु गुणस्तर मापन केन्द्र स्थापना सम्पन्न हुने महानिर्देशक सुवेदीको भनाइ छ ।


वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउन पर्ने रणनीति तय गर्न वायु मापन गुणस्तर केन्द्र प्रविधिले सहयोग पुग्ने विभागका प्राविधिक उपसचिव दीपक ज्ञवालीले उल्लेख गरे । प्राविधिक उपसचिव ज्ञवालीले वायु गुणस्तर मापन केन्द्र प्रविधिले २४ सै घण्टा वायुको अवस्थाबारेमा अपडेट गर्ने बताए ।

Advertisement


बिजुली र इन्टरनेटको सहयताबाट वायु गुणस्तर मापन प्रविधिले त्यस क्षेत्रको वस्तुगत वातावरणीय अवस्थाको जानकारी गराउँछ । यो प्रविधिका माध्यमबाट गृह मन्त्रालय अन्तर्गत रहेको सेक्टर सर्वो सिस्टममा त्यस क्षेत्रको वातावरणीय डाटा इन्ट्री हुन्छ ।

विभागले यही डाटा हेरेर विभागको वेबसाइटमा अपेडट गर्ने प्राविधिक उपसचिव ज्ञवालीको भनाइ छ । मुस्ताङको जोमसोममा स्थापना गर्ने वायु गुणस्तर मापन प्रविधिले त्यस आसपासको क्षेत्रमा वायुको अवस्था बारे जानकारी दिन्छ ।

तपाईको प्रतिक्रिया