सम्पादकीय—चाडपर्वको यात्रा

दसैं र तिहारले नेपालीलाई छोइसकेको छ । सहर बजारबाट अब यात्रा गाउँतिर हुन थालेको छ । दसैं आउनु भनेको सहर रित्तिँदै र सुनसान हुन थाल्नु अनि गाउँ गुल्जार हुन थाल्नु पनि हो । दसैंका बेला काठमाडौं उपत्यकाबाट मात्रै २५ लाख जनाले बाहिरको यात्रा गर्छन् भनिन्छ । अर्थात धेरै सवारी साधनको प्रयोग यो बेला हुन्छ ।
त्यही भएर होला गाडी दुर्घटनाको जोखिम हुन्छ । गएको वर्षमात्रै दसैं सेरोफेरोमा भएका गाडी दुर्घटनामा १ सयभन्दा बढी जनाले ज्यान गुमाएका थिए । अर्थात चाडबाडको यात्रा जोखिमपूर्ण हुन्छ । त्यसैले सचेतनापूर्वक यो बेलाको यात्रा गर्नुपर्छ । गाडीहरुमा भीडभाड, सडकमा गाडीहरुको भीडभाड र जोखिम हुन्छ ।
एकैपटक धेरैजनाले यात्रा गर्नुपर्ने भएको हुँदा भीडभाड हुनु स्वाभाविक हो । तर त्यसै अनुसारको गाडीहरुको व्यवस्था हुन सकेको देखिन्न । सडकहरु साँघुरा छन् । राजमार्गहरु नै साँघुरा छन् । जीर्ण छन् । मर्मत र स्तरोन्नतिको काम हुन सकेको छैन । झन् यसपालि बेमौसममा परेको पानीले धेरैतिर सडक भत्काएको छ ।
राजमार्गहरुकै हालत खराब छ भने गाउँगाउँ र दुर्गमतिरका सडक त झन् नाममात्रैका सडक छन् । तसर्थ चाडपर्वको यात्रामा सजगता जरुरी छ । चालकहरुले मात्रै नभई यात्रुले पनि सजगता अपनाउनुपर्छ । हतार गर्नु हुँदैन । सडकको परिस्थिति अनुसारको गाडी कुदाइ र यात्रा भएमा सुरक्षित हुन सकिन्छ । त्यस्तो सचेतना चालक र यात्रु दुवै पक्षमा जरुरी छ ।
तपाईको प्रतिक्रिया