मेसु नहुँदा अस्पतालको सेवा प्रभावित

मोहसिन अलि मियाँ
गोरखा
जिल्लाको १ मात्र सरकारी अस्पताल २ महिनादेखि प्रमुखविहीन छ । गोरखा अस्पतालमा यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी भरतपुर अस्पतालमा सरुवा भएपछि गण्डकी प्रदेश सरकारले प्रमुख खटाउन चासो दिएको छैन । जसका कारण अस्पतालको व्यवस्थापन भद्रगोल बनेको छ ।
अहिले अस्पताल करारका डाक्टरकै भरमा चलेको छ । अस्पतालमा कार्यरत स्थायी डाक्टरहरुको एकपछि अर्को गर्दै अन्यत्र जिल्ला सरुवा भएपछि गोरखा अस्पताल करारका डाक्टरले धान्नुपर्ने अवस्था आएको हो । ‘अस्पतालमा समस्याका चाँङ छन्,’ निमित्त मेसु डा. सफलनाथ सुवेदीले भने, ‘व्यवस्थापकीयदेखि आर्थिकसम्म सबैजसो प्रमुखकै भरमा हुन्छन्, यही बेला भवन भत्किएको छ, स्थायी डाक्टर पनि छैनन्, हामी सबै करारका हौं ।’ करारका कर्मचारीलाई पर्याप्त अधिकार पनि नहुने, तर सेवा चाहि दिनुपर्ने हुँदा साह्रै समस्या भएको गुनासो डा. सुवेदीले गरे । संघीयता पश्चात जिल्ला अस्पताल प्रदेश मातहतमा छ ।
तत्कालीन प्रमुख तिवारीले स्थायी मेडिकल अधिकृत सिलु अर्याललाई निमित्त दिएर गएका थिए । तर अर्याल समेत समायोजनका कारण म्याग्दी जिल्ला अस्पतालमा सरुवा भएर गएपछि करारमा रहेका सुवेदीले निमित्तको जिम्मेवारी सम्हालेका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रमुख खटाउन ढिलाई गर्दा अहिले अस्पतालमा औषधी र अन्य अत्यावस्यक सामग्री समेत अभाव भएको छ ।
त्यसो त दरबन्दी अनुसार कर्मचारी नहुँदा सँधै समस्याको भुमरीमा फस्दै आएको जिल्ला अस्पतालमा हाल भएका पनि अन्यत्र सरुवा हुँदा सेवा झनै खस्किएको छ । ‘स्टाफ धेरै कम छन्, भएका पनि धेरै गएसकेका छन्,’ निमित्त प्रमुख सुवेदीले भने ।
अस्पताल विकास समितिका तर्फबाट पटक पटक प्रदेश सरकार र मन्त्रालयमा अनुरोध गर्दा समेत सुनुवाई नभएको अध्यक्ष पुरुषोत्तम अर्यालले गुनासो गरे । ‘हामीकहाँ भएका डाक्टर तुरुन्त अन्त पठाइहाल भन्ने अनि यहाँ पठाउन नपर्ने यो कस्तो नियम हो।’ अर्यालले दुखेसो गरे ‘पटक पटक मन्त्री र सांसदलाई भन्यौ, यत्रो महिना भइसक्यो, हुन्छ हुन्छ मात्रै भन्छन् ।’
केही समययता गोरखा अस्पतालको प्रमुखमा डा. गुणराज लोहनी नै आउने चर्चा चले पनि आइतबार मात्रै उनले कोशी अञ्चल अस्पतालमा प्रमुखको पदभार सम्हालिसकेका छन् । उनी यस अघि समेत गोरखा अस्पतालमा प्रमुख भएर काम गरिसकेका थिए । हाल जिल्ला अस्पतालको भवन निर्माणका क्रममा रहेकाले त्यसै त भद्रगोल अवस्थामा रहेको बेला महिनौदेखि प्रमुखविहीन बन्दा सेवाग्राही महंगो शुल्क तिरेर निजी अस्पताल र मेडिकल धाउन वाध्य छन् ।
पुरानो भवन भत्काएर झण्डै ३० करोडको लगानीमा सुविधासम्पन्न भवन बन्ने क्रममा छ । हाल चिकित्सक बस्ने आवास र घर भाडामा लिएर सेवा प्रवाह हुँदै आएको छ । त्यस्तै अस्पतालमा रहेका एक्सरे, भिडियो एक्सरेसमेत गुणस्तरीय नहुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका छन् ।
गत शनिबार जिल्ला आएका संघीय सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादव र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखा अस्पतालमा चाँडै डाक्टर खटाउने आश्वासन दिएका थिए । समायोजनका कारण केही समस्या भएको उनीहरुको तर्क थियो ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया