
किशोरदत्त बराल
नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीज्यूले मेराविरुद्ध लेख्नु भएको फेसबुक स्टाटसका सम्बन्धमा मैले सार्वजनिक गरेको विषयलाई लिएर साथीहरूले व्यक्त गर्नुभएको चिन्ता र सुझावका प्रति म धेरै गम्भीर छु । यसैले साथीहरूको सुझावका निम्ति हार्दिक धन्यवाद व्यक्त गर्दै साथीहरूको रचनात्मक सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रण गर्दछु ।
साथीहरूका बीचमा सविनय अनुरोध यो पनि गर्न चाहान्छु कि त्यो मेरो कुनै व्यक्ति लक्षित विचार थिएन । कांग्रेसलाई कसरी बलियो र समृद्ध बनाउन सकिन्छ भन्ने चिन्ता थियो । मैले यो विचार भाबुक भएर, उत्तेजित भएर वा गैर जिम्मेवार भएर सार्वजनिक गरेको थिइनँ । यो लेख्नुभन्दा पहिला मैले धेरै पटक आफैंलाई पनि सोधें, मेरो आफ्नो जिम्मेवारीको पद सभापतिलाई पनि सम्झिएँ । यति मात्रै होइन यसबाट आउन सक्ने सम्भावित प्रतिक्रियाका बारेमा पनि सचेत थिएँ । लेखौं नलेखौं धेरै गम्भीर द्विविधामा पनि परें । यो द्विविधाका बीचबाट कांग्रेसका प्रति गुम्दै गएको जनविश्वास निर्माण गर्न उक्त कुराहरू लेख्नु पर्ने आवश्यकतालाई महसुस गरें । जे लेखें त्यो साथीहरूका बीचमा छ ।
सत्य कुरा एक्लै भए पनि बोली राख भन्ने महामानव बिपी कोइरालाको यो महान भनाइलाई आत्मसात गर्दै मैले उक्त धारणा सार्वजनिक गरेको हुँ
यसरी लेख्नुभन्दा अगाडि विसं २०५१ को मध्यावधि निर्वाचनदेखि विसं २०७९ को संघीय निर्वाचनसम्मका नेपाली कांग्रेस भित्रका घात प्रतिघातका घटनाक्रमहरुलाई सम्झिए । उक्त मध्यावधि निर्वाचनदेखि २०७९ सम्मका घटनाक्रमहरुको समीक्षा गरें । कहिँ कतै पनि आशा लाग्दो परिणाम देखिएन । प्रत्येक निर्वाचनमा पार्टीकाविरुद्ध घात प्रतिघात गर्नेहरुलाई पार्टीलाई बलियो बनाउने नाममा हामीले क्षमा दिँदै गयौं । कारबाही गर्दा पार्टी कमजोर हुने र विपक्षी खुसी हुने दलिल पेस गर्यौं । क्षमा दिँदै जाने र पार्टीकाविरुद्ध काम गर्नेलाई निर्लज्ज बचाउँदै जाने हाम्रो अराजनीतिक संस्कारले गर्दा दिन प्रति दिन पार्टी कमजोर हुने र पार्टीका विरुद्ध काम गर्दै जानेहरूको बोलवाला बढ्दै जाने परिस्थितिको सिर्जना हामीले नै गरेका रहेछाैं । जसले गर्दा पार्टी अराजकहरुको हुलमा परिणत हुन पुग्यो । परिस्थिति यतिसम्म गम्भीर बन्दै गयो कि सुरूआतका वर्षहरुमा लुकेर घात प्रतिघात हुने परम्परा झ्याङ्एिर यतिबेला खुलेआम घात प्रतिघात हुन थाल्यो । कांग्रेसको झण्डा बोकेर खुलेआम आफ्नै पार्टीका उम्मेदवारका विरुद्द अर्को पार्टीका पक्षमा हामीले भोट माग्न थाल्यौं ।
कांग्रेसका विरुद्ध भोट माग्नेलाई पनि नेता मान्ने निर्लज्ज परिस्थितिको सिर्जना हामीले नै निर्माण गर्यौं । कांग्रेस बिग्रेको चिन्ता त गर्यौं तर कांग्रेस बिगार्नेहरुलाई काखी च्यापेर कांग्रेस बिगार्ने लडाइँको बलियो साक्षी बनिरह्यौं । भोलिको समयले के भन्ला भन्ने यात हामीमध्येका कतिपय साथीहरूले कत्ति पनि चिन्ता नै गरेनौ यात घात प्रतिघातमा आफै सामेल भएको दुनियाँले मेसो पाउँछ कि भनी अपराधीको पक्षपोषण गरेर आफूलाई जोगाउने कुचेष्टा गरिरह्यौं । पार्टी बिग्रेको चिन्ता गरेर पार्टीलाई डरलाग्दो भीरमा हामीले नै पुर्यायौं । यस्तो डरलाग्दो अवस्थामा पनि केही नबोल्ने र नलेख्ने कुरा कांग्रेस सभापतिकोरूपमा मेरो कांग्रेस मनले मानेन ।
विसं २०३६ सालको विद्यार्थी आन्दोलनबाट नेपाली कांग्रेससँग जोडिएको मेरो मनले यी कुराहरु सार्वजनिक नगरी बस्न धरै दिएन । पार्टीभित्रको यस्तो डरलाग्दो परिस्थितिलाई पनि गुपचुप राखिराख्ने, चुपचाप हेरिराख्ने र सहिराख्ने हो भने हाम्रा आउँदा दिनहरु अत्यन्तै भयावह र डरलाग्दो तरिकाले घात प्रतिघातको चोटबाट झनै बढी क्षतविक्षत हुनेछन । यदि हिजोदेखि नै नेपाली कांग्रेस कास्कीभित्र भएका घात प्रतिघात र यसले निर्माण गरेको परिणामका बारेमा जिम्मेवार र सचेत भएर हामीले आवाज उठाउन र खबरदारी गर्न सकेको भए कास्की कांग्रेस यस्तो कमजोर अवस्थाबाट गुज्रनै पर्ने थिएन । कास्की कांग्रेस कमजोर हुनु र यी घात प्रतिघातका शृंखला प्रत्येक वर्ष बढ्दै जानुमा को कसको कति जिम्मेवारी छ लेखाजोखा गरौं, त्यसको खुलेआम अध्ययन र विश्लेषण गरौं र नतिजालाई सार्वजनिक गरौं । अब कांग्रेसलाई कोठाभित्र लुकेर गर्ने छलफल र कानेखुसीले बचाउन सक्दैन ।
यसैले अब पार्टीभित्र देखिएका र देखिन सक्ने यस्ता विकृतिका विरुद्द खुलेआमरूपमा आवाज उठाउन र खबरदारी गर्न ढिलो भइसकेको छ । पार्टीका आन्तरिक बैठकहरुका दृश्य त हामीले प्रत्यक्ष प्रशारण गरिसकेका छांै भने घाम जस्तै छर्लंग भइसकेका, कोही कसैबाट कहिँ पनि नलुकेका यस्ता घात, प्रतिघात र संगठन विरोधी घटनाहरुलाइ अझै पनि लुकाएर राख्ने हो भने भोलिका कांग्रेसले पार्टी बिगारेको दोष तपाईं हामी माथि जघन्यरुपमा लगाउने छन । यसैले अर्को निर्वाचन जित्नु पर्छ भन्ने यस्ता कमजोर लोभमा परी गलत मान्छेहरु र प्रवृत्तिसँग सम्झौता गरेर अगाडि बढ्दै जादा पार्टी झनै कमजोर र पातलो हुँदै जाने परिस्थितिलाई आँकलन गरी नेपाली कांग्रेस, कास्कीभित्र वर्षौंदेखि गुज्रिँदै आएको घात प्रतिघातको घटनाक्रममाथि गरिएको अध्यनको आधारमा मैले ती विचार सार्वजनिक गरेको हुँ।
साथीहरूसँग फेरि पनि सविनयपूर्वक जिज्ञासा राख्न चाहन्छु २०५१ देखि २०७९ सम्म आइपुग्दा पार्टीभित्र घात अन्तर्घात गर्दै जानेहरुलाई क्षमा दिदै जादा हामी कहाँनेर बलियो भयौ ? घात अन्तर्घात गर्दै जानेहरुलाई बोलाउँदै, छलफल गर्दै, जोगाउँदै र बचाउँदै जाने हाम्रो प्रवृत्तिले विपक्षीलाई कहाँनेर कमजोर बनायो ? पार्टीविरुद्ध काम गर्नेहरुलाई प्रत्येक पटक क्षमा दिएर पनि पार्टी भित्र अन्तर्घात गर्नेहरूको संख्यालाई हामीले किन घटाउन सकेनाैं ? यी सबै प्रश्न्हरुको एउटै उत्तर हुन्छ हामीले पार्टी भित्रको खराब प्रवृत्तिलाई निर्वाचन जित्ने र पार्टी बलियो बनाउने नाममा जोगाइराख्यौं र अरु सदस्यहरुलाई पनि बिगार्ने वातावरण निर्माण गरिरह्यौं ।
यसले के प्रमाणित गर्दछ भने पार्टीभित्र घात अन्तर्घात गर्नेहरुलाई क्षमा दिँदा पार्टी राम्रो र बलियो हुन्छ भनेर हामीले गरेको अभ्यास सत प्रतिशत गलत रहेछ । यस्तो गलत र असफल प्रयास हामीले कहिलेसम्म गरिरहने ? यो सत्यलाई हामीले अझै पनि बुझ्न् नसक्ने हो भने हामीले पार्टीलाई जोगाउँनै सक्दैनौं । इतिहासको यो सत्य घटनालाई नबुझेर अझै पनि गलत अभ्यास गरिरहने हो भने कांग्रेस बिगार्ने अपजसको भारी हामीले नै बोक्नुपर्ने हुन्छ । यसैले घात अन्तर्घात गर्नेहरुलाई क्षमा दिएर पार्टी बलियो बनाउन सकिन्छ भन्ने कुराको गलत अभ्यासलाई अब निरन्तरता दिने होइन, पार्टीकाविरुद्द गलत कर्म गर्दा अपमानित भइन्छ, कमजोर भइन्छ र बेकम्बा भइन्छ भन्ने जबर्जस्त सन्देश दिन आवश्यक छ । यसो गर्न सकिए मात्रै भोलि अर्को साथीले पार्टीविरुद्ध घात अन्तर्घात र अपराध गर्न डराउँछ । सत्य कुरा एक्लै भए पनि बोली राख भन्ने महामानव बिपी कोइरालाको यो महान भनाइलाई आत्मसात गर्दै मैले उक्त धारणा सार्वजनिक गरेको हुँ ।
पार्टी भित्र बदमासी गर्नेलाई क्षमा दिँदा र सँगै बसेर कुरा गर्दा हिजो पार्टी बलियो भएको थियो र भोलि झनै बलियो हुन्छ भन्ने साथीहरूलाई लागेको छ भने आउनुहोस् छलफल र बहस गरौं । म कहाँनेर आत्मालोचित हुनु पर्ने हो तयार छु । कुनै पनि पार्टी र मानिस सत्य र यथार्थपरक जगमा उभिएर मात्रै बलियो हुन्छ भन्ने मेरो बुझाइको आधारमा मेरो धारणा निर्माण गरेको हुँ । नेपाली कांग्रेस कास्की कहिले र कहाँबाट कमजोर हुँदै गएको हो ? र यसका लागि इतिहासको कुन कुन कालखण्डमा को को जिम्मेवार छन ? भन्ने बारेमा गहिरो अध्ययन र अनुसन्धान गरी अनुसन्धानको निष्कर्षलाई सार्वजनिक गरी सहयोग गरिदिनु हुन नेपाली कांग्रेस, कास्कीको सभापतिकोरुपमा साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।
गलत कुरालाई छोपेर पार्टी बलियो हुँदैन । सत्य कुरालाई छोप्दा पार्टी कमजोर हुने हो । जुन दिन सत्यको जगमा कांग्रेसलाई उभ्याउन सकिन्छ त्यहि दिनबाट नेपाली कांग्रेसको सुदृढीकरणको यात्रा तय गर्न सकिन्छ । म फेरि पनि भन्छु नेपाली कांग्रेस, कास्कीलाई बलियो र समृद्ध बनाउन घात, अन्तर्घात र कांग्रेसभित्र झांगिदै गएका अन्य बेथितिका बारेमा अध्ययन र अनुसन्धान गरि त्यसको निष्कर्ष नेपाली कांग्रेसलाई दिनुहोस् अनुसन्धानको उक्त निष्कर्षलाई सार्वजनिक गरी नेपाली कांग्रेस, कास्कीलाई इतिहासकै अब्बल पार्टी बनाउने जिम्मा म लिन्छु । मैले गर्ने अनुसन्धान पूर्वाग्रही भएको भन्ने आरोप लाग्न सक्ने भएकोले साथीहरूलाई अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध गरेको हुँ ।
धन्यवाद् । जय नेपाल ।
लेखक बराल नेपाली कांग्रेस कास्की सभापति हुन्
र यो पनि पढ्नुहोस् : सभापति बराल र पूर्व सभापति केसीबीच फेसबुकमा जुहारी
तपाईको प्रतिक्रिया