तोकिएको समय काम सक्न करिडोरको अल्टिमेटम

समाधान संवाददाता २०७६ भदौ ६ गते १२:४६

मुस्ताङको छाक्ताङ खोलामा पुलको काम गर्दै । तस्बिरः एसके थकाली ।

एसके थकाली
मुस्ताङ

बेनी–जोमसोम–कोरला सडक निर्धारित समयमा सम्पन्न गर्न कालीगण्डकी करिडोरले अल्टिमेटम दिएको छ । करिडोरद्वारा बुधबार जोमसोममा आयोजित प्रगति समीक्षा अन्तक्रियामा निर्माण कम्पनीका प्रतिनिधिलाई करिडोरले ध्यानार्कषण गराएको हो । करिडोरका आयोजना प्रमुख मुकुन्द अधिकारीले भइरहेका सडक र पुलको काम तोकिएको मितिमा पूरा नगरे निर्माण कम्पनीलाइ नै कालोसूची राखिने, ठेक्का सम्झौता रद्द गराइने र ठेक्का असुल उपर गरिने उल्लेख गरे ।

Advertisement

बेनी–जोेमसोम–कोरला सडकको म्याद सकिन अब २ महिना बाँकी रहँदा निर्माण कम्पनीका प्रतिनिधिलाई करिडोरले अन्तिम पटक भनेर गम्भीर ध्यानार्कषण गराएको हो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, जिसस प्रमुख राजेन्द्र शेरचन, जिसस अधिकारी केशव विमल लगायत करिडोर सडकका अधिकारी सम्मिलित प्रगति समीक्षामा आयोजना प्रमुख अधिकारीले अब आलटाले प्रवृत्तिले विकास पूर्वाधार पूरा हुन नसक्ने उल्लेख गर्दै यथाशीघ्र सडकको कामलाई गति दिन गर्न आग्रह गरे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले राष्ट्रिय गौरवको आयोजना उत्तरी कोरला जोड्ने सडक सरकार र जनताको भाग्य रेखा भएकाले निर्माण कम्पनी स्वयं संवेदनशील रहनुपर्ने सुझाए । ‘म्याद सकिन केही महिना बाँकी छ, अब यसरी बैठक बस्दैनौं, काम नभएको पाइए सिधै कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

Advertisement

जिसस प्रमुख राजेन्द्र शेरचनले हिमाली जिल्लाको भौगोलिक कठिनाइका बाबजुद पूर्वाधार निर्माणको काम उत्तिकै चुनौतीपूर्ण रहेको बताए । राष्ट्रिय गौरवको आयोजनाले उत्तरी कोरला नाकाको सुनौलो ढोका उघ्रने उल्लेख गर्दै उनले निर्माण कम्पनीले पनि कामप्रतिको बफादारी देखाउनुपर्ने बेला आएको बताए ।

उत्तरी कोरला सडकमा आबद्ध ६ वटै निर्माण कम्पनीका प्रतिनिधिलाई एकै स्थानमा भेला गराई सडकको काम पूरा गर्न अल्टिमेटम दिइएको हो । कम्पनीका प्रतिनिधिले आफूले लिएको सडकको कार्यप्रगति विवरण सुनाएका थिए । सबै निर्माण कम्पनीले समयमै काम पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

बेनी–जोमसोम सडकखण्डको पहिलो प्याकेज लिएको शर्मा युनाइटेड विल्डर्स जेभीले आवश्यक उपकरण बढाएर ४५ दिनभित्रै तल्लो बैसरीदेखि पोखरेबगरसम्म सडकको फिनिसिङ गर्ने प्रतिबद्धता गर्‍यो । दोस्रो प्याकेजको शर्मा गजुरमुखीले तोतोपानीदेखि घासासम्म आउँदो मंसिरसम्म कटिङ पूरा नभएका स्थानका कटिङ पूरा गर्दै क्रस डोइन सम्पन्न गर्ने जनायो । उक्त कम्पनीले घाँसादेखि कोवाङ सम्मको कटिङका काम पूरा गर्ने र लेतेसम्म अस्पाल कालोपत्रे पूरा गर्ने बतायो । कोवाङदेखि जोमसोमसम्म तामाङ गौरी एन्ड पार्वती कोशी एन्ड न्यौपानेले जिम्मा लिएको हो । जोमसोमदेखि मार्फासम्म असोजभित्रै आरसीसी वाल लगाउने र जोमसोम बजार क्षेत्रमा भाद्रभित्रै केरस्टोन कार्य पूरा गर्ने प्रतिबद्धता गरेको छ ।

जोमसोमदेखि कोरला उपल्लो मुस्ताङ खण्डको तामाङ गौरी एन्ड पार्वती कोशी एन्ड न्यौपाने जेभीले चराङदेखि लोमान्थाङसम्म कामको जिम्मा लिएको हो । असोजभित्रै ट्र्याक खुलाउन र आवश्यक कटिङ गर्न निर्माण कम्पनीका प्रतिनिधि सहमत भएको छ । झैतेदेखि कोरला खण्डको चैलेदेखि भेनासम्मको असोजभित्रै घ्याकरको भीरमा ट्र्याक खुलाउने र समरको भीर र झो खोलाको भीरमा ब्लास्टिङ गरी ट्र्याक खुलाउने कन्टेक कान्छाराम कोशी एन्ड न्यौपाने जेभीले जनाएको छ । झैतेदेखि चराङसम्मको सडक निर्माणको जिम्मा लिएको दि कञ्चनजंघा लामा मोतिदान जेभीले कात्तिकभित्रै ट्र्याक खुलाउने र सडक संरचनाको काम पूरा गर्ने जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक अन्र्तगत बेनी–जोमसोम ५० प्रतिशत र जोमसोम –कोरला सडकमा ८० प्रतिशत कामको प्रगति भएको करिडोरले जनाएको छ । बेनी–जोमसोम सडकखण्डमा काम सुस्त हुनुको कारण बर्खायामको अविरल वर्षा र सवारी आवागमन आदि भएको निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् । उपल्लो मुस्ताङमा पनि भौगोलिक समस्या र रक कटिङ मुख्य समस्या भएको कम्पनीका प्रतिनिधिले उल्लेख गरे । जोमसोम–कोरला सडकको यसअघि नै म्याद थप भइसकेको छ । निर्माण कम्पनीका प्रतिनिधिले चालु आर्थिक वर्षमा कुनै हालतमा पनि सडकको पुरै काम सक्ने स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया