पोखरामा सहकारी पीडित र रवि लामिछानेका समर्थक प्रदर्शनमा जुट्दै, संयमता अपनाउन प्रशासनको आग्रह

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्की लैजाने तयारी भइरहँदा उनका समर्थक र सहकारी पीडितहरु प्रदर्शनको तयारीमा जुटेका छन् ।
सहकारी पीडितहरुले ११ बजे राष्ट्र बैंक चोकमा जम्मा हुन आग्रह गरिरहेका छन् । सहकारी पीडितको यो सूचना कास्कीका कांग्रेस र एमाले नेता तथा कार्यकर्ताहरुले समेत सेयर गरेका छन् । उता रवि लामिछाने समर्थकहरुले साढे १२ बजे सहिदचोकमा उपस्थित हुन आग्रह गरेका छन् । जिल्ला प्रशासन र जिल्ला अदालत सहिद चोकको नजिकै छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार बिहान सर्बदलीय बैठक डाकेर प्रदर्शनका बेला संयमित हुन र भीडभाड नगरिदिन आग्रह गरेका थिए । प्रजिअ भरतमणी पाण्डेले सहकारी पिडितसँग भिन्दै बैठक गरेका थिए । वृहत आन्दोलनको तयारी भए पनि प्रजिअको आग्रह अनुसार आफूहरु संयमित भएको सहकारी पिडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताएका छन् । प्रजिअ पाण्डेले आइतबार पनि दलहरुसँग आफूले आग्रह गरेको र सहकारी पीडितहरुसँग पनि कुरा भइरहेको बताए । शान्ति सुरक्षाको प्रबन्धमा विशेष ध्यान दिइरहेको र कुनै हिंसात्मक घटना हुन नदिनका लागि दलहरुसँग आग्रह गरिएको उनले बताए ।
सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि रवि लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आज दिउँसो ३ बजे अदालत लगिनेछ ।
जिल्ला अदालत कास्कीले पक्राउका अनुमति दिएलगत्तै उनलाई शुक्रबार पार्टीको मुख्यालयबाटै पक्राउ गरेको थियो । रविकै आग्रह अनुसार उनलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा ल्याइएको थियो ।
शनिबार दिनभर रास्वपाका नेता तथा कार्यकर्ताले दिनभरजसो पोखरामा प्रदर्शन गरे । सबैजसो नेताहरु पोखरा आइपुगेका छन् । सहकारी पीडितले समेत पोखरामा शनिबार प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखिएको छ ।
संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीका ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन लामिछानेको संलग्नता देखिएको छ ।
गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परी कास्की प्रहरीकै हिरासतमा छन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया