माझठानाले जित्यो वडाध्यक्ष कप भलिबल

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ वडा कार्यालयको आयोजनामा सम्पन्न भएको प्रथम वडाध्यक्ष कप भलिबलको उपाधि साविक माझठाना ८ ले हात पार्न सफल भएको छ । साविक वडा नम्बर ९ लाई सोझो सेटमा हराउँदै उपाधि उचालेको हो भने वडा नम्बर ९ उपविजेता बनेको छ भने विजेता समूहले खसी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेताले बोका , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
शनिबार साविक माझठाना वडा नम्बर ९ र वडा नम्बर ५ बिच भएको सेमिफाइनलमा वडा नम्बर ९ ले वडा नम्बर ५ लाई सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको थियो । साविक माझठाना गाविस र कालिका गाविस अन्तरगत प्रथम वडा स्तरीय वडाध्यक्ष कप भलिबल प्रतियोगिता गत असोज २२ गते उद्घाटका खेलहरु भएका थिए ।
विजेता र उपविजेता समूहलाई मेडल र प्रमाणपत्र वितरण गर्दै पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले युवाको चाहना अनुसार वडा नम्बर २८ मा खेलक्षेत्रको माध्यमबाट पोखरा २८ को गौरव, शान, मान, पहिचान स्थापित गराउन उत्कृष्ट खेलाडी उत्पादन गर्नु नै भलिबल प्रतियोगिताको उद्देश्य रहको स्पष्ट पारे ।
खेलले वडाभित्रका टोलटोल बिचमा आत्मीयता बढ्दै जाने विश्वास व्यक्त गर्दै वडाध्यक्ष लामिछानेले खेलकुदले वडावासीहरुबिचको सम्बन्धलाई थप बलियो बनाउने व्यक्त गरे ।
रत्नशोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विद्यालयको खेलमैदानमा भलिबल प्रतियोगिता हुनु गौरबको विषय भएको बताउँदै वडा कार्यालय परिवार लगायत सारोकारवाला सबैलाई धन्यवाद दिएका थिए । खेलमा जित हार स्वाभविक प्रक्रिया भएको बताउँदै प्रअ न्यौपानेले हारबाट नै जीवनको सफलताको सुरुवातको रुपमा लिन आग्रह गरे ।
त्यस्तै गरी पोखरा २८ कृषि सञ्जालका संयोजक राधाकृष्ण तिवारीले हरेक क्षेत्रमा अनुशासन महत्वपूर्ण हुने बताउँदै पोखरा २८ वडालाई खेलको माध्यमबाट परिचित गराउनुपर्नेमा जोड दिए । प्रत्येक क्षेत्रमा व्यक्तिभन्दा माथि उठेर कार्य गर्न सरोकारवाला सबैलाई उनले आग्रह गरे ।
रत्नशोभा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं नेकपा माओवादी केन्द्र कास्की जिल्ला कमिटीका सदस्य सूर्यप्रकाश तिवारीले वडा नम्बर भित्र रहेका टोल विकास मार्फत वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न सुझाव राखेका थिए ।
खेलकुदलाई मनोरञ्जनका रुपमा मात्रै नलिई उद्देश्यमूलक हुने तरीकाले खेल्नुपर्नेमा तिवारीले जोड दिएका थिए । त्यस्तै पूर्व विद्यार्थी एवं नेकपा एमाले पोखरा २८ का अध्यक्ष रामकृष्ण तिवारीले माझठानामा विगतमा पनि युवा क्बलहरुले भलिबल प्रतियोगिता आयोजना भएको स्मरण गर्दै यस्ता कार्यक्रमहरुलाई निरन्तराता दिन आग्रह गरेका थिए ।
ग्रिन डेभलोपमेन्ट बैंकका कार्यकारी प्रमुख एवं वडा शिक्षा समितिका सदस्य हरिबहादुर बुढााथोकीले खेलकुदले एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्न सहयोग गर्ने बताउँदै खेलकुदले टोल टोलका बासिन्दाहरुको आपसी बिचमा आत्मीयता बढाउने बताए ।
वडा सदस्य एवं कार्यक्रम संयोजक कमल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य डाल्डादेवी भुजले, वडा सदस्य वीरेन्द्र भण्डारी र खेलपे्रमीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वडा नम्बर २८ का सचिव विष्णु लामिछानेले गरेका थिए । सुमन दास र बुद्ध सिंह रेफ्री थिए ।
तपाईको प्रतिक्रिया