मुस्ताङीले स्याउ बेचेर कमाए ८३ करोड
गत वर्षको तुलनामा यस वर्ष २ हजार ३ सय ५५ टन स्याउ बढी उत्पादन


जोमसोम ।
मुस्ताङमा स्याउ निकासीबाट यस वर्ष ८३ करोड भित्रिएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब ७ हजार ३ सय ३० मेट्रिक टन स्याउ उत्पादन हुँदा उक्त रकम भित्रिएको हो ।
कृषि ज्ञान केन्द्र मुस्ताङले स्याउको पोस्ट हाभेस्ट गर्नुअघि किसानको बगैंचामा पुगेर उत्पादन सर्भे गर्ने गर्छ । केन्द्रले जिल्लाका किसानको बगैंचामा पुगेर क्रप कटिङ, स्याउको क्षेत्रफल र स्थानीय किसानसँग प्रत्यक्ष सोधपुछ गरी बर्सेनि स्याउ उत्पादनको तथ्यांक निकाल्ने गर्छ । केन्द्रको प्रारम्भिक अनुमान अनुसार यस वर्ष स्याउ उत्पादन राम्रो भएकाले अहिलेसम्मकै ठूलो रकम स्याउ बिक्री निकासीबाट जिल्ला भित्रिएको जनाएको छ ।
यस वर्ष स्थानीय जातका ६ हजार ८० टन स्याउ उत्पादन भएको छ । इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित स्याउ (हाइब्रिड) १ हजार २ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएको हो । स्थानीय जातका स्याउ प्रतिकेजी १ सय १० रुपैयाँ र हाइब्रिड स्याउ प्रति केजी २ सय रुपैयाँमा निकासी हुँदा मुस्ताङमा ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले बताए ।
‘स्याउको अझै पूरै डेटा आइसकेको छैन, स्याउ हार्भेस्ट अन्तिम चरणमा छ,’ कार्यालय प्रमुख गुरुङले भने, ‘तैपनि हामीले सम्बन्धित किसानको बगैचामा क्षेत्रफल र क्रप कटिङ गरी प्रारम्भिक तथ्यांक निकालेका हौं, यो वर्ष स्याउ उत्पादन अपेक्षाकृत राम्रो भएको देखियो ।’
यस वर्ष स्याउ उत्पादन अहिलेसम्मकै उच्च हो । स्याउको फूल फूल्ने समयमा अनुकूल मौसमसँगै स्याउमा परागसेचन राम्रो भएकाले यस वर्ष स्याउ उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । त्यसो त यस वर्ष मुस्ताङका स्याउ किसानको बगंचामा विभिन्न रोगकीराको संक्रमण देखिएको भए पनि केन्द्र, कृषि प्राविधिक र स्थानीय किसानको पहलमा छिटो, छरितो नियन्त्रणमा लिन सकेकै कारण स्याउ उत्पादनमा असर नपुगेको हो ।
गत वर्ष मुस्ताङमा स्याउ बोटमा प्रतिकूल मौसमका कारण परागसेचन हुन नपाउँदा स्याउ उत्पादन घटेको थियो । त्यस वर्ष मुस्ताङमा ४ हजार ९ सय ८५ टन स्याउ उत्पादन भएको थियो । केन्द्रका अनुसार जलवायु परिवर्तनको असरका कारण मौसम प्रतिकुल हुँदा स्याउ उत्पादनमा प्रत्यक्ष असर पुगेको थियो । गत वर्षको तुलनामा यस वर्ष २ हजार ३५५ मेट्रिक टन स्याउ बढी उत्पादन भएको हो ।
पोहोर भने मुस्ताङमा ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन भएको केन्द्रको रेकर्डमा उल्लेख छ । पोहोरकै तुलना गर्दा पनि यस वर्ष ७३४ मेट्रिक टन स्याउ बढी फलेको छ । त्यस वर्ष मुस्ताङबाट ५१ करोड ३७ लाख बराबरको स्याउ निकासी भएको थियो । गत वर्ष औसत ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएको थियो । गत वर्षको निकासा तथ्यांक हेर्दा यसवर्ष करिब ३० करोडको स्याउ बढी उत्पादन भएको छ ।
मुस्ताङमा १ हजार ४ सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भईसकेको छ । जसमध्ये ५ सय ८५ हेक्टर जमिनमा लगाईएको स्याउ बोटले मात्रै उत्पादन दिने गरेको केन्द्र प्रमुख राजेश गुरुङले बताए । पछिल्लो समय स्याउको क्षेत्रफल विस्तार र उच्च घनत्व प्रविधिकोस्याउ लगाईएकाले स्याउ उत्पादन वृद्धि भएको छ ।
मुस्ताङमा ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाइब्रिड स्याउको खेती गरिएको छ । हाइब्रिड स्याउ बोटले लगाएको दोस्रो वर्षमै छिटो, छरितो स्याउ उत्पादन तथा गुणस्तर राम्रो र थोरै क्षेत्रफलमा धेरै उत्पादन हुने भएकाले यहाँका किसानको ध्यान हाइब्रिड स्याउतर्फ गएको हो ।
किसानले परम्परागत स्थानीय उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियसका स्याउ खेती गरेका छन् । उच्च घनत्वको हाइब्रिडतर्फ गाला, फुजी, गोल्डेन, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्स लगायतका जातका स्याउ खेती गरेका छन् ।
स्याउको उत्पादन हुने समय असोज महिनामा पर्यटकीय चहलपहल हुने भएकाले यहाँको उत्पादनको २५ प्रतिशत जिल्लामै खपत हुने गर्छ । बाँकी ७५ प्रतिशत स्याउ जिल्लाभित्र र जिल्ला बाहिरका स्याउ व्यापारीले बगैचा ठेक्का गरी पोखरा काठमाडौं लगायतका बजारमा पुर्याएर बिक्री गर्ने गर्छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया