कविता

हँ, नेता ज्यू ?

नारायणप्रसाद सापकोटा २०८१ कार्तिक १० गते ७:२०
नारायणप्रसाद सापकोटा

दौरा सुरवालमा ठाँटिनुहुन्छ,

Advertisement

सबैका अगाडि ओठ चलाउनुहुन्छ,

पद तथा गोपनीयताको सपथ,

सुन्नुहुन्न कि बुझ्नुहुन्न, नेताज्यू ?

मुकाममा नै बस्नुहुन्छ,

Advertisement

सिसा भित्रबाट हेर्नुहुन्छ,

सडक र आवासका संघर्ष,

देख्नुहुन्न कि बुझ्नुहुन्न, नेताज्यू ?

कहिलेकाहीं टिभीमा पनि देखिनुहुन्छ,

ताल न बेतालका कुरा गर्नुहुन्छ,

बैठकमा मस्त झकाउनुहुन्छ,

राति सुत्नुहुन्न कि निदाउनुहुन्न, नेताज्यू ?

चुनाब जित्नुहुन्छ, सांसद, मन्त्री बन्नुहुन्छ,

भीड लिएर हिँड्नुहुन्छ, भुइँमा टेक्नुहुन्न,

आफैले बाँडेका घोषणापत्र र आश्वासन,

हेर्नुहुन्न कि सम्झिनुहुन्न, नेताज्यू ?

जनता-जनता अनि विकास र समृद्धि भन्नुहुन्छ,

जे सोधे नि अब गर्नुपर्छ भन्नुहुन्छ,

जिम्वेवारीको कुर्चीमा बसेसि,

काम गर्न सक्नुहुन्न की चाहनुहुन्न, नेताज्यू?

आलुजस्तो जे मा नि मिल्नुहुन्छ,

बोलेको कुरा भक्खरै बिर्सनुहुन्छ,

मनुष्यको एउटा चोला चिरञ्जीवी छैन,

पाप र धर्म जान्नुहुन्न कि ख्याल गर्नुहुन्न, नेताज्यू ?

तपाईको प्रतिक्रिया