साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा

पोखरा । साफ वुमन्स च्याम्पियनसिप फुटबलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
भर्खरै दशरथ रंगशालमा भएको खेलमा तनावका बीच नेपालले भारतलाई हराएको हो ।
नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–० ले हराएको हो ।
त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
आज खेल निकै तनावग्रस्त बन्यो । गोल विवादले झन्डै सवा घण्टा खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।
त्यसअघि खेलको ७१ औँ मिनेटमा नेपालले विवादित गोल गरेको थियो । तर, त्यो गोलले मान्यता नपाएपछि खेल अवरुद्ध भएको थियो ।
दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको विवादित प्ले अन ह्विसिल पछि नेपालले गोल गरेको थियो ।
तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको बराबरी गोल खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको थियो । त्यतिबेला नेपालकी प्रीति राईले गोल गरेकी थिइन् ।
त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् ।
रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो ।
अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।
तपाईको प्रतिक्रिया