रविमाथि दुव्र्यवहार नभएको कास्की प्रहरीको दाबी

पोखरा ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा दुव्र्यवहार गरेको लगायतका आरोपको कास्की प्रहरीले खण्डन गरेको छ ।
आइतबार कास्की प्रहरीले विज्ञप्ति निकालेर उक्त आरोप खण्डन गरेको हो । कास्कीका नायब उपरीक्षक वसन्तकुमार शर्माले सामाजिक सञ्चालमा आएका भ्रमक सूचनामा सत्यता नभएको दाबी गरे । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । उनी पोखराको जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई कात्तिक ८ गते बिहीबार अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कास्की प्रहरीले अदालतमा उपस्थित गराउँदा प्रहरीले आदरार्थी शब्दको प्रयोग नगरेको भन्दै ध्यानाकर्षण गराएको छ ।
‘अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’ कास्की प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा रहेर मात्रै सूचना सम्प्रेषण गराउन प्रहरीले आग्रह गरेको छ ।
‘नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य, मान्यता अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ, ‘त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहिन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनु हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ ।’
पूर्व विभागीय मन्त्रीलाई विशेष सुविधासहित राखेको कास्की प्रहरी अहिले रविमाथि एकसाथ ३ अभियोगमा अनुसन्धान गर्दै छ
कास्की प्रहरी सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसहित गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीमाथि पनि अनुसन्धान गरिरहेको छ । लामिछाने, जोशी र जिबी राईले सूर्यदर्शनको रकम अवैधानिक रुपमा गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । सूर्यदर्शनमा १ अर्ब ३५ करोड हिनामिना भएको छ ।
३ कसुरमा अनुसन्धान जारी
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि ३ कसुरमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा छानबिन जारी छ ।
कात्तिक २ गते काठमाडौैंबाट पक्राउ परेका लामिछाने र असोज ६ गते पक्राउ परेका जोशीलाई बिहीबार एकै पटक कास्की जिल्ला अदालतले थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । सूर्यदर्शन सहकारी प्रकरणका अनुसन्धान अधिकारी वसन्तकुमार शर्माले ३ अभियागमा अनुसन्धान जारी रहेको जनाए । शर्माले भने, ‘अहिले अनुसन्धान जारी छ । अनुसन्धान सकिएर अभियोगपत्र पेश नहुञ्जेल बयान र अनुसन्धान जारी रहन्छ ।’
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले देशैभर सहकारी खोली गीतेन्द्रबाबु(जिबी) राईको समूहले योजनावद्ध ठगी गरेको औंल्याएको छ । समितिको प्रतिवेदनमा लेखिएको छ, ‘निष्क्रियजस्तै रहेको सहकारीमा पस्ने र त्यसबाट विभिन्न प्रलोभनमा पारेर सर्वसाधारणबाट बचत सङ्कल गरी ठगी गर्ने उक्त समूह योजनावद्ध रुपमा लागेको देखिन्छ ।’ जिबी अध्यक्ष, लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेको गोरखा मिडिया प्रालिबाट रविले दुई वर्षमै दुई वर्षमा एक करोड चार लाख पारिश्रमिक लिएको देखिन्छ । अनुसन्धानका क्रममा सूर्यदर्शन सहकारीबाट लामिछानेले एक करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
पटक पटक गरी सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी भएकोमा ३ जना पुर्पक्षका लागि थुनामा छन् भने ३ जना कास्की प्रहरीको हिरासतमा छन् । रुपन्देहीको बुटबलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी अभियोगमा लामिछाने, जोशीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको ।
२०५७ मा स्थापना भएको मैत्रेय २०७२ मा जिबी राईको समूहको प्रवेशपछि नाम परिवर्तन गरी जिबी अध्यक्ष र दीपेशकुमार पुन कोषाध्यक्ष बनेको संसदीय समितिले औंल्याएको छ ।
सहकारीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लगातार प्रदर्शन गरेपछि बचतकर्ता र सरोकारले चिन्ता जनाएका छन् । पीडित पक्षका कानुन व्यवसायी बिबी विष्ट सूर्यदर्शनसहितका सहकारीमा वैधानिक तवरले पैसा उठाएर अवैधानिक तवरले खर्च भएको उल्लेख गर्छन् ।
‘यो समूहले वैधानिक तवरले पैसा उठाएर अवैधानिक तवरले खर्च र ठगी गरेको देखिन्छ,’ विष्ट भन्छन्, ‘अदालतमा मुद्दा विचाराधीन रहेका बेला राष्ट्रिय राजनीतिक दलले गरको प्रदर्शनले कानुनी राज्यको खिल्ली उडाएको छ ।’
सहकारीपीडित सङ्घर्ष समिति संयोजक किरण श्रेष्ठ सर्वसाधारणको अर्बाै हिनामिना गर्नेहरुमाथि अनुसन्धान नगर्न माग गर्दै आन्दोलन हुनु दुखद् भएको उल्लेख गर्छन् । ‘हाम्रो आन्दोलन न्याय र बचत फिर्ताका लागि हो, हामी कुनै दल वा व्यक्तिको विरुद्धमा छैनौँ,’ श्रेष्ठ भन्छन्, ‘देशको ठूलो राजनीतिक शक्तिले नै अनुसन्धान प्रभावित हुने गरी आन्दोलन गर्न हामी त्रसित र दबाबमा हुनु अनौठो भएन ।’
तपाईको प्रतिक्रिया