शेर्पा एडभेन्चरलाई गल्फ उपाधि

काठमाडौं ।
शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङ शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो ।
विजेताले दुबईको चार राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । मुस्ताङ ग्लफ क्लबबाट ईन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए ।
उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरुले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे ।
व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे ।
विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरे ।
एनसेलले प्रतियोगिताकी लागि संकलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ । यो रकम एनसेल फाउन्डेसनमार्फत देशभरका विद्यार्थीलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ ।
प्रतियोगितामा सहयोगका लागि जाब्बोरले गोकर्ण फरेस्ट रिसोर्ट र अन्य साझेदारप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन गरिएको सहयोगको महत्त्वलाई प्रकाश पारे । ‘खेलभन्दा बाहिर समेत महत्व बढाउदै यो हाम्रो सामूहिक प्रयासको प्रभावले शिक्षा र सामुदायको विकासमा सहयोग पुर्याउने विश्वास छ,’ जाब्बोरले भने ।
प्रतियोगितामा ५५ टिमको सहभागित थियो । एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउन्डेसनमार्फत सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्ने छ । यसका लागि एनसेलले हरेक टिमबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर ३० लाख बनाएर सामाजिक कार्यमा खर्च गर्ने छ ।
तपाईको प्रतिक्रिया