जलवायु परिवर्तनः कृषि र पर्यटनक्षेत्रमा नकारात्मक प्रभाव

समाधान संवाददाता २०७६ भदौ १२ गते १३:३४

एसके थकाली
जोेमसोम

मुस्ताङ सदरमुकाम जोमसोममा मंगलबार इको प्रणाली अनुकूलन गोष्ठी भएको छ । विश्वकै चिन्ताको विषय बनेको जलवायु परिवर्तन र त्यसले पार्ने वातावरणीय दुष्प्रभाव न्यूनीकरणमा आधारित पारिस्थितिकीय प्रणाली अनुकूलन सिकाइ आदानप्रदान गोष्ठी भएको हो ।

अन्तर्राष्ट्रिय प्रकृति सरक्षण संघ (टियुसिएन) को आयोजनामा भएको गोष्ठीको डिभिजन वन कार्यालय मुस्ताङले समन्वय गरेको हो । अन्तर्राष्ट्रिय दातृराष्ट्रको आर्थिक सहयोग तथा वन तथा वातावरण मन्त्रालयको साझेदारीमा संस्थाले देशका विभिन्न जिल्लामा इको अनुकूलनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सिनियर प्रोजेक्ट मेनजर अनु अधिकारीले जानकारी दिइन् । उनले विश्वमै भइरहेको जलवायु परिवर्तनको असरले मानव अस्तित्व नै संकटमा पर्दै गइरहेको उल्लेख गरिन् । पछिल्लो समय जलवायु परिवर्तन तथा मानव स्वैच्छाचारील गतिविधिले प्राकृतिक स्रोतसम्पदा लोप हुँदै गइरहेको उल्लेख गर्दै अधिकारीले इको प्रणालीमा ह्रासका कारण समग्र कृषि र पर्यटनक्षेत्रमा नकारात्मक प्रभाव पर्न गएको उल्लेख गरिन् ।

Advertisement

मानव र प्राकृतिक सम्पदा सन्तुलनलाई दिगो र भरपर्दो तुल्याउन अन्तर्राष्ट्रिय संस्था युएनडिपी र युनेपले साझेदारी गरेको प्रोग्राम मेनेजर अधिकारीले बताइन् । उनका अनुसार संस्थाले कास्की, पर्वत र स्याङ्जासँंग जोडिएको पञ्चासे क्षेत्रमा अनुकूलन कार्यक्रम सञ्चालन भइरहेको छ । संस्थाले तराई तथा पूर्वका केही जिल्लामा सिकाइ अनुकूलन प्रशिक्षण भएको र हिमाली जिल्लामध्ये मुस्ताङमा पहिलो कार्यक्रम भएको बताइन् ।

जिसस मुस्ताङ प्रमुख छिरिङ ल्हामो गुरुङले जलवायु परिवर्तनका कारण हिमाली जिल्लाको तापक्रम वृद्धि भएको उल्लेख गरिन् । स्याउ लगायत विभिन्न अन्नबालीमा विभिन्न प्रकारका प्रकोप देखापरेको उनले बताइन् । मुस्ताङ जिल्ला पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै जिसस प्रमुख गुरुङले प्राकृतिक सम्पदालाई संरक्षण गर्न सकिएमात्र पर्यटक क्षेत्रको दिगो विकास हुने जनाइन् ।

Advertisement

घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले संरक्षण क्षेत्रमा स्थानीय तहले कार्यसम्पादन गर्न असहज भएको बताए । कालीगण्डकी नदीको सतह बस्तीभन्दा माथि उठ्दै गइरहेको उल्लेख गर्दै यसको व्यवस्थापन चिन्ताको विषय बनेको जनाए । एक्याप प्रमुख तुलसी दाहालले संरक्षण र विकासबीचको द्वन्द्वले इको प्रणालीमा दूरगामी प्रभाव परेको धारणा राखे ।

यसअघि प्रोगाम मेनेजर अनु अधिकारीले पारिस्थितिकीय अनुकूलन सिकाइ आदानप्रदान सम्बन्धी प्रस्तुति गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया