लक्ष्मीपूजामा बिजुलीको माग १६०२ मेगावाट
समाधान संवाददाता
२०८१ कार्तिक १६ गते १४:३७

काठमाडौँ ।
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६ः२५ बजे पिक डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार ४३८ मेगावाट थियो । गत वर्षको भन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।
देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यसवर्ष बाढीपहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो ।
लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार ८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड एक हजार ९५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार राती स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिएको थियो ।
सम्बन्धित








धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया