दीपकको ‘ठुटे’ सार्वजनिक

पोखरा ।
युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बजारमा आएको छ । दीपशिखा साहित्य संगमद्वारा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे ।
सरुभक्तले लेखनमा संख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने धारणा राखे । ‘दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्,’ उनले भने, ‘विश्वका कैयौँ बेफुर्सिदा मानिसहरूले पढेर नै सफल जीवन बाँचेका हुन् ।’ लेखक स्वयम्ले पठन संस्कृतिलाई बढावा दिनुपर्ने उनको भनाइ थियो । दीपक सापकोटाले ठुटेमा प्रस्तुत गरेको नेपाली समाजको यथार्थले पाठकको मन जित्ने विश्वास सरुभक्तले प्रकट गरे ।
आयोजक दीपशिखा साहित्य संगमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले दीपकले पहिलो उपन्यासमै धेरै विषयवस्तु उठान गरेको बताए । जनयुद्ध कालका घटनालाई यथार्थको नजिक रहेर लेखिएको भन्दै पौडेलले उपन्यास आकारका हिसाबले सानो भए पनि विषयवस्तुका हिसाबले बृहत् रहेको धारणा राखे । ठुटेले प्रस्तुत गरेको कथावस्तु हाम्रै समाजको कथावस्तु भएको पौडेलको भनाइ छ ।
कास्कीको मादी गाउँपालिकामा जन्मेर हाल बेल्जियम बस्दै आएका लेखक सापकोटाले आफूले कृति नेपाल हुँदै लेखे पनि प्रकाशनमा भने ढिलाइ भएको सुनाए । कृति लेखनका क्रममा नेपाली सेना र युद्धसम्बन्धी थुप्रै कृति र चलचित्र हेरेको बताउँदै उनले विषयवस्तुबारे बुझ्न विभिन्न ठाउँमा पुगेको स्मरण सुनाए । आफूले प्रत्यक्ष देखेका र पढेका घटनालाई उपन्यासमा उतारेको उनको भनाइ थियो । आफू विदेश बसे पनि नेपाली साहित्यमा सकेसम्म काम गर्ने उपन्यासकार सापकोटाले बताए ।
गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटले अनुभूति सबैसँग हुने र तिनलाई जनताका लागि हुने गरी लेख्नुपर्ने आवश्यकता औँल्याए । दीपशिखा साहित्य सङ्गमका सल्लाहकार रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सम्पादक दशरथ सापकोटाले पनि बोलेका थिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया