पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

समाधान संवाददाता २०८१ कार्तिक २५ गते १३:१६

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ ।

Advertisement

उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरे ।
बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौवटा विस्तारा, थेरापी मेसिन एवम् औषधी उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो ।

कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य विमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए ।

स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनुु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीको आधारमा विमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुुपर्ने बताए ।
स्रोतको सुनिश्चितताका विभिन्न बैज्ञानिक आधार समेत प्रस्तुत गर्दै आफूले बिमाको रकम ५ लाख पु¥याउनुपर्ने विषयलाई प्रस्ताव गरेको उनले बताए ।

देशको बजेटको ४ प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै मन्त्री पौडेलले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुर्‍याउनुु आवश्यक भएको बताए । आफू आम सर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभै त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उले स्पष्ट पारे ।

Advertisement

सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निशुल्क उपचार, जलन रोगको निशुल्क उपचार जस्ता विषयलाई अघि सारेको बताउँदै उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरेहको बताए । पोखरामा बृद्धाश्रममा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षमा आवश्यक स्वास्थ्य उपकरण एवम् औषधीका लागि सहयोग गर्ने उनले आश्वासन दिए ।

पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रम सञ्चालन भए यता निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताए । ज्येष्ठ नागरिकहरूमा समस्याका रुपमा देखिने बिस्मृतिजन्य रोगको उपचारको लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले जानकारी दिए ।

पोखरा बृद्धाश्रमका उपाध्यक्ष एवम् ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य केशव लम्सालले २०५३ सालमा स्याउलाले छाएको छाप्रोमा तीन जना ज्येष्ठ नागरिकलाई राखेर सुरु गरिएको बृद्धाश्रम हाल सुविधासम्पन्न भवनमा सञ्चालन भएको जानकारी गराए । बृद्धाश्रममा १०६ वर्षीय नन्दु दहाल लगायत ज्येष्ठ नागरिक बस्दै आएका छन् । कार्यक्रममा बृद्धाश्रममा अक्षयकोष स्थापनार्थ सहयोगका साथै ज्येष्ठ नागरिकका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सीता बास्तोला, नरबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीको अध्यक्षता एवम् सचिव धर्मबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रीय मोहनलाल श्रेष्ठ, समाजसेवी ऋषि काफ्ले लगायतले बृद्धाश्रमका संस्थापक स्व.ऋषिकेशव पराजुलीको सामाजिक एवम् राजनीतिक व्यक्तित्वका साथै ज्येष्ठ नागरिकको हक हित तथा सरकारको भूमिका लगायतका विषयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया