पोखराका मेयरको विदेश मोहः चीनबाट फर्केलगत्तै काेरिया

समाधान संवाददाता २०७६ भदौ १८ गते १३:२४

अमृत सुवेदी
पोखरा

मेयर र विदेश भ्रमणको सवाल उठ्नेबित्तिकै काठमाडौंका तत्कालीन मेयर पिएल सिंहको धेरै चर्चा हुन्छ । तत्कालीन मेयर पिएल सिंह यसरी भ्रमण गए, विदेशको ज्ञान काठमाडौं बनाउन लगाउँछु भन्दाभन्दै कार्यकाल सकियो । अहिले पोखराका मेयर मानबहादुर जिसीलाई पनि पिएल सिंहसँग जोडेर हेर्न थालिएको छ ।

मेयर जिसीको विदेश मोह यसरी बढेको छ, एउटा देशबाट आउन नपाउँदै अर्को देश उडेका छन् । मेयर जिसी चीन भ्रमणबाट फर्केलगत्तै मंगलबार फेरि दक्षिण कोरियाको भ्रमणमा उडेका छन् । यो मेयर जिसीको नवौं विदेश भ्रमण हो ।

Advertisement

महानगर व्यवस्थित गराउने, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने, जनताका आवश्यकता र आफैंले गर्छु भनेका काम कार्यान्वयन गर्नतिरभन्दा विदेशतिर रमाएको भन्दै नेकपाकै नेताहरुले उनको आलोचर्ना गर्न थालेका छन् । नेकपाका प्रदेशस्तरका एक नेता भन्छन्, ‘पोखरा महानगरपालिका मेयर सांसदभन्दा शक्तिशाली छन् । बजेट र नीति निर्माणको तहमा पनि उनलाई अवसरै अवसर छ तर केही गर्नै नसक्ने हुन् कि भन्ने चिन्ता लाग्न थालेको छ ।’

नेकपाकै नेताहरुले मेयर जिसीको निर्णय गर्ने र कार्यान्वयन गर्ने क्षमतामाथि नै शंका गर्न थालेका छन् । महानगरका जनप्रतिनिधि पनि उनीको कार्यशैलीप्रति त्यति खुसी देखिएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल पोखराका नेता वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने भन्छन्, ‘महानगरमा ढेंगुको प्रकोप बढिरहेको छ । मेयरसाब विदेश घुमिरहनुभएको छ ।’

Advertisement

मेयरलाई पोखराप्रति चिन्तित नै नदेखेको उनको आरोप छ । पोखराका पूर्व मेयर भोला थापा मानबहादुरको विदेश मोह हेर्दा पिएल सिंहकै बाटोमा देख्छन् । ‘विदेश घुम्न मन पराउने तर गर्ने हो, पोखरा बनाउने हो भन्दाभन्दै कार्यकाल सकिन्छ,’ भोला भन्छन्, ‘विदेश मोहले तानेपछि अरुमा त्यति ध्यान नजान सक्छ ।’

मेयर विदेश घुमुन् तर उडन्ते नहुन्
भोला थापा
पूर्व मेयर
तत्कालीन पोखरा उपमहानगरपालिका

वैदेशिक भ्रमणको खासै उपलब्धि देखिएन । पहिलेदेखि नै पदमा पुग्नेबित्तिकै देशबित्तिकै भ्रमणमा गइहाल्ने देखिन्छ । तर, विदेशमा मैले यस्तो रैछ, अब हामीले यहाँ यस्तो गरौं भनेर सुरुआत गरेको देखिएन । बरु मैले त के देखेको छु भने, ‘विदेश जाने, घुमघाम गर्ने, अलिअलि पैसा र उपहारहरु आउँछन्, पोको पार्ने फर्कने ।

नत्र पोखरा महानगरपालिकाका मेयरले ८ औं पटक वैदेशिक भ्रमण गरेर फर्किसकेका छन् भने के चाहिँ उनले प्रयत्न गरे त ? भनेर खोज्ने हो भने केही पाइँदैन । पोखराका मेयरका विषयमा २÷३ वटा कुरा सुन्छु । सुरुमा उनी असल छन् भन्ने थियो । अहिले हाम्रा मेयर काम न काजका परेछन् भनेर टोल, टोल र चिया पसमा चर्चा हुन्छ । वैदेशिक भ्रमणमामात्रै जाने अनि काम गर्ने इच्छाशक्ति र प्रयत्न नै भएन भने कसरी असल भन्ने ?

दलीय राजनीतिबाट आउने व्यक्ति भएकाले सबै कुरामा विज्ञता हुँदैन । तर, विज्ञहरुलाई साथमा लिएर काम गर्न सक्छन् । निर्णय गर्ने र कार्यान्वयनमा जाने क्षमता नै भएन भने उनको भविष्यमाथि त धक्का लाग्छ नै महानगरकै अवस्था पछाडि धकेलिन्छ । हाम्रा असल भनिएका मेयरले पोखरालाई नै पछि पार्ने हुन् कि भन्ने सुन्छु बजारमा ।

म एउटा किस्सा सुनाउँछु । कांग्रेसका १ नेताको घरमा बाटो लैजानु परेछ । जहाँ बाटो लैजाने घर नै मापदण्डविपरीत जग्गा मिचेर बनेको छ । ती नेताले मेयरलाई बोलाएछन् र मेयर पुगेछन् । त्यसबेला स्थानीयले उनलाई भनेछन्, ‘तपाईं नेताको घर भनेर चोख्याउन भनेर आउनुभएको होला । जनताले बोलाएको भए आउनुहुन्थ्यो ?’ मेयर अध्यारो मुख लाएर फर्किएछन् । के हो वास्तविकता ? किन बल गरिरहेका छन् भनेर मेयरजत्तिको मान्छेले सोच्नुपर्छ कि पर्दैन ? यो सामान्य लाग्ने तर जटिल विषय हो । बुझ्दै नबुझी जसले जहाँ बोलाएर पनि पुग्ने तर सत्य पहिल्याएर काम गर्न नसक्ने हो भने हाम्रो महानगर त पछि पर्‍यो, पर्‍यो ।

मेयर जिसीले पोखराप्रतिको चिन्तन र चिन्ता कसरी गर्छन् भन्ने कामबाट देखिने हो, अनुहारबाट होइन । रमाउने, हिँड्नेमात्रै देखिन थाल्यो । काठमाडौंका मेयर पिएल सिंहकै बाटो देखिन थाले जिसी पनि । लिस्ट बनाएर प्राथमिकताका आधारमा यो यो काम गर्छु भनेर एक्सनमा जालान् भनेर कामना गर्दागर्दै कार्याकालै सकिने भयो ।

विदेशबाट सिकेर २÷३ वटा नयाँ काम गरे पुग्छ
ध्रुव वाग्ले
पूर्व मेयर
व्यास नगरपालिका
वैदेशिक भ्रमण ज्ञान, अनुभव र विकासको मोडल सिक्ने एउटा माध्यम हो । विदेशमा प्राप्त ज्ञानलाई आफ्नो नगरअनुसार जनताका आवश्यकतालाई जोडेर काममा परिणत गर्न सक्यौं भने त राम्रो हुने भइहाल्यो । तर, यहाँ सरकारी कर्मचारी नेतादेखि विभिन्न व्यक्तिहरु रमाइलोका लागि विदेश भ्रमण गर्ने चलन छ । अरुको देशको विकास देख्यो, दंग प¥यो, फर्कियो ।

फोहोरमैला व्यवस्थापनको कुरा होस्, कार्बन उत्सर्जन घटाउने कुरा होस्, पर्यावरण, यातायात व्यवस्थापन धेरै कुरामा विदेशबाट सिक्न सकिन्छ । वैदेशिक भ्रमणमा हुने कार्यक्रमहरुमा भाग लिएर फर्केपछि त्यहाँको ज्ञानलाई आफ्ना जनताका आवश्यकता र व्यवस्थित सहर बनाउनका निम्ति बजेट र नीति तथा कार्यक्रमभित्र पार्ने कुरा महत्वपूर्ण हो ।

म मेयर हुँदा युएनडिपीको सहयोगमा थुप्रै देश घुमें । २०२८ सालमा सिटी प्लानिङसहित दमौली तनहुँको सदरमुकाम त बन्यो तर व्यवस्थित हुन सकेको थिएन । २०५४ सालमा व्यास नगरपालिकाको मेयर भएपछि सहरलाई व्यवस्थित गराउने काम गरें । जुन युनडिपीको सहयोगमा विभिन्न देश घुमेर पाएको ज्ञानलाई प्रयोग गरेको थिएँ ।

चाक्ला बाटा, प्रत्येक चोकमा एउटा चौतारो र प्रत्येक चौतारोमा आम सभा नै गर्न मिल्ने खालको फराकिलो बनाउने, नाला व्यवस्थित गर्ने काम म मेयर हुँदा गरें । ड्रेन र पिच गर्ने अनि चोक र सडक व्यवस्थापन गरेपछि अहिलेसम्म सहज छ । त्जसको ब्याज अहिलेसम्म पनि खाइरहेको छु ।

अहिले पनि दमौली बजार घुम्नुभयो भने सडकका दायाँबायाँ हरिया रुखहरु देख्नुहुन्छ । त्यो विदेशबाटै सिकेर गरेका थियौं । म युरोपिन देश, ल्याटिन अमेरिका र अफ्रिकन मुलुकहरु पनि म घुमें । विदेशबाटै सिकेको कुरा सहरी गरिबको विषयमा थियो । उनीहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउनका निम्ति बिना धितो, बिना धरौटी ऋण दियौं । त्यसले धेरै जना गरिबीको रेखाभन्दा माथि उठे । डेढ करोड रुपैयाँको एउटा कोष खडा गर्‍यौं ।

कोषका माध्यमबाट पेसागत हिसाबले लगानी गर्‍यौं । त्यसको रिजल्ट धेरै राम्रो आयो । जनताको आम्दानी बढ्यो । गोजीमा पैसा पर्‍यो । खानेपानी व्यवस्थापनको काम व्यास नगरले नयाँ ढंगबाट गर्‍यो । नगरभित्रका गाउँका लागि एउटा नीति र सहरका निम्ति अर्को नीति बनाएर काम गरेका थियौं ।

त्यसैले विदेश कुन प्रयोजनका लागि जाने र के कुरा ग्रहण गरेर आफ्नो नगरमा कार्यान्वयन गर्ने भन्ने चाहिँ हुनुपर्छ । त्यो मेयरको क्षमता र ज्ञान भर्ने भाँडो अनुसार फरक पर्ने कुरा हो । विदेश जानै हुँदैन भन्ने होइन । फर्केपछि के चाहिँ नयाँ भयो भन्ने कुराले ठूलो अर्थ राख्छ । पोखराका मेयरलाई सुझाव छ, ‘विदेश यसरी जानुस् कि जनताले पनि भनुन्, मेयरले फर्केपछि केही न केही नयाँ कुरा सिकेर आउँछन् र कार्यान्वयन गर्छन् ।

विदेशबाट सिक्ने कुरा थुप्रै छन् । ज्ञान र अनुभवलाई आफ्नो नगरको नीति र बजेटमा ढाल्नुस् । धेरै पर्दैन्, २÷३ वटा नयाँ काम गर्नुस्, जसले दीर्घकालीन फाइदा पुर्‍याओस् । तपाईंको वाहवाही हुन्छ ।’

तपाईको प्रतिक्रिया