७ वर्षदेखि पुलको पर्खाइ

जोमसोम ।
राष्ट्रिय गौरवको बेनी जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका २ को कोवाङ सौरु जोड्ने सस्पेन्सन पुलको योजना २०७४ सालमा पर्यो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले थासाङको एउटै वडामा पर्ने कालिगण्डकी नदी वारिपारीका गाउँ (कोवाङ—सौरु)जोड्ने २ मिटर चौडा र ५ सय ७० मिटर लामो सस्पेन्सन पुलको ठेक्का खुलायो ।
कालिगण्डकी नदीमा निर्माण हुने पुलको ठेक्का इलाइट रुविना जेभी कन्ट्रक्सनले पायो । बर्सेनि बर्खा याममा कालिगण्डकी नदी वारपार गर्न सधै जोखिमपूर्ण यात्रा गर्नुपर्ने सौरु र सिर्खुम गाउँका स्थानीय पुलको योजना परेकोमा निकै उत्साहित बनेका थिए । पुल बन्ला र बर्खा याममा जोखिम मोलेर कालिगण्डकी नदी तर्नुपर्ने परिस्थिति हट्ला भन्ने पर्खाइमा बसेका सौरु र सिर्खुमबासीको सपना ७ वर्ष बितिसक्दासमेत पूरा हुन सकेको छैन ।
२०७४ कात्तिकमा ५ करोड लागतमा इलाइट रुविना जेभी कन्ट्रक्सनले ३० महिनामा पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । २०७७ वैशाखमा सम्पन्न हुनुपर्ने कालिगण्डकी नदीमा निर्माणाधीन सस्पेन्सन पुल ७ वर्ष पुग्दासमेत सम्पन्न हुन नसकेको हो । भौगोलिक विषमता, हिमपात, प्रतिकूल मौसम, कोरोना कहर लगायतका कारण देखाउँदै पटक पटक म्याद हुँदै आएको यो पुलको काम गतवर्षको जेठदेखि अलपत्र परेको छ ।
त्यसो त ज्वाइन्ट कम्पनीका रुपमा ठेक्का सम्झौता भएको कोवाङ सौरु जोड्ने सस्पेन्सन पुलको सुरुवाती चरणमा रुविना कन्ट्रक्सनका प्रतिनिधि जयदेव थापाले पुल बनाउने जिम्मा लिएका थिए । प्रतिनिधि थापाले पुलको सुरुवाती आंशिक काम गरेपछि त्यसयता पुलको कामअघि बढाउन सकेनन् । पुल बनाउने प्रतिनिधि नै पुलको कामअघि बढाउन छोडेर लामो समय सम्पर्कविहीन रहे ।
कोवाङ—सौरु झोलुंगे पुल ७ वर्षदेखि अलपत्र हुँदा स्थानीय वर्खामा काठेसाँघुबाट जोखिम मोलेर कालीगण्डकी तर्न बाध्य
त्यसपछि कोवाङ—सौरु पुल निर्माणको काम पूरै ठप्पै बन्यो । रुविना कन्ट्रक्सनका थापाले पुल अलपत्र छाडेकाले गत वर्षदेखि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ज्वाइन्ट कम्पनीको अर्को पार्टनर इलाइट कन्ट्रक्सनलाई पुल बनाउने अख्तियारी दिएर फिल्डमा फर्कायो । इलाइटमार्फत सहायक ठेकेदार निकेश श्रेष्ठ प्रतिनिधि बनेर पुल बनाउन जुटे ।
गत वर्ष वैशाखमा पुलको अधुरो कार्य सुरु गरेका निकेशले पनि जेठ लागेपछि निर्माण कार्यलाई तीव्रता दिन सकेनन् । उनले पुलका लागि व्यवस्थापन गरेको सामग्री बाढीले बगाएकाले निर्माणको काम रोकिएको जनाएका छन् ।
मुस्ताङको थासाङ गाउँपालिका स्थित कोवाङ—सौरु जोड्ने सस्पेन्सन पुलको पछिल्लो भौतिक प्रगति ७० प्रतिशत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इन्जिनियर प्रवेश रेग्मले जानकारी दिए । ‘पुलको काम केही बाँकी छ, त्यसलाई बैशाख महिनाभित्र पूरा गर्ने भनेका छौं,’ इन्जिनियर रेग्मीले भने, ‘सिभिल र पुलको फिटिङ गर्ने काम छ, निरन्तर काम भएमा धेरै समय लाग्दैन ।’
उनले निर्माण कम्पनीका प्रतिनिधि दसैं, तिहार र छठ पर्व सकिनेबित्तिकै काममा फर्किने जनाए । यता, इलाइटका प्रतिनिधि निकेश श्रेष्ठले पुल बैशाखअगावै सकिने दावी गरे । उनले पुलको काम सुरु गर्न जनशक्ति र उपकरण फिल्डमा परिचालन गर्ने तयारी गरेको जनाए । ‘पुलको केही सिभिलको काम र पुल फिटिङका काम बाँकी छन्, सबै आवश्यक सामान कार्यस्थलमा व्यवस्थापन गरिएको छ । केही प्राविधिक कारणले गर्दा पुलको काममा बाधा परेको थियो’, उनले भने ।
राष्ट्रिय राजमार्गको कालिगण्डकीपारी पूर्वमा अवस्थित सौरु र सिर्खुम गाउँमा १ सय २० घरधुरीको बसोबास छ । कालिगण्डकी नदीमा पुल नहुँदा वर्षौवर्षदेखि त्यस क्षेत्रका नागरिकले बर्खायाममा निकै कष्ठ र सास्ती झैल्दै आएको वडाध्यक्ष गौतम शेरचन बताउँछन् कालिगण्डकी नदीमा पुल नहुँदा त्यहाँका नागरिकले शिक्षा, स्वास्थ्य र स्थानीय तहको विभिन्न सेवा लिन कोखेठाँटीको पुल हुँदै करिब २ घण्टा पैदल हिड्नुपर्ने हुन्छ ।
कालिगण्डकी नदीमा पुल नबन्दा त्यहाँ उत्पादन हुने कृषि उपजको समेत सहज बजारिकण हुन नसकेको स्थानीय सोजन हिराचन बताउँछन् । उनले बर्सेनि बर्खा याममा खोला पार गर्न कालिगण्डकी नदीमा काठको साँघु हाल्ने र झिक्ने सास्ती व्यवहोर्नु परेको बताए ।
तपाईको प्रतिक्रिया