मुस्ताङमा ट्राफिक राजश्व ३५ लाख

समाधान संवाददाता २०८० जेठ ६ गते १८:५६
तस्विर :सुन्दरकुमार थकाली

मुस्ताङ —हिमाली जिल्ला मुस्ताङमा चालु वर्ष ट्राफिक राजश्व दोब्बरले वृद्धि भएको पाईएको छ । सवारी राजश्व वृद्धि तथा ट्राफिक नियम विपरित सवारी चलाउनेको संख्या बढेसंगै चालुवर्ष मुस्ताङमा ट्राफिक राजश्व अपेक्षाकृत वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङमा चालु आर्थिक वर्ष २०७९÷०८० को १० महिनामा २८५७ वटा सवारी साधनलाई कारवाही गर्दा ३५ लाख उन्नाईस हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका निमित्त ईञ्चार्ज प्रहरी हवल्दार महेश लम्सालले जानकारी दिए ।उनका अनुसार मुस्ताङ भित्रिएका सवारी साधन तथा स्थानीय स्तरमा संञ्चालन हुने सवारी साधनलाई नियम विपरित सवारी चलाएकालाई कारवाही गर्दा गतवर्षको तुलनामा दोब्बरले ट्राफिक राजश्व वृद्धि भएको हो ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङका अनुसार चालु वर्षको १० महिनाको अवधिमा ट्रक र टिपर ११०,बस १०३, जीपकार २०९३, मोटरसाईकल ४६४, ट्याक्सी १२ र मादक पदार्थ सेवन गरी सवारी चलाउने १२ गरी कुल २८५७ सवारी साधनलाई कारवाही गरिएको हो ।
यसैगरी चालुवर्ष कारवाहीमा परेका सवारी साधन मध्ये १४५५ वटा प्रयोजन विपरित सवारी चलाउने अर्थात नीजि सवारीलाई कारवाही गर्दा २९ लाख १० हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले बताएको छ ।
पछिल्लो समय यातायात व्यवस्था विभागले ट्राफिक नियम उलंघन गर्ने सवारी साधनको जरिवाना शुल्क ५ सय देखि २ हजारसम्म उठाउन व्यवस्था गरेको हो । यसअघि ट्राफिक नियम विपरित सवारी चलाउनेलाई ५ सयदेखि १ हजारसम्म मात्र जरिवाना रकम उठाउने व्यवस्था गरेको थियो ।
मुस्ताङमा गत आर्थिक वर्षको १२ महिनामा कुल १३ लाख ७४ हजार राजश्व उठेको थियो ।यसवर्ष गतवर्षको तुलनामा चालु वर्षको १० महिनामा ६० प्रतिशत राजश्व वृद्धि भएको हो ।

तपाईको प्रतिक्रिया