खुसी सधैं कैद गरौं

समाधान संवाददाता २०७५ चैत ७ गते ८:१६

बुद्धि मल्ल

भनिन्छ मानिस असन्तुष्ट प्राणी हो । उ जति बुझ्ने हुँदै गयो उसको आवस्यकता तथा महत्वकांक्षा बढ्दै जान्छ । उसको एकपछि अर्काे चाहना सिर्जना हुँदै जान्छ । त्यसैले पनि विद्धान मोस्लोले मानिसको आवश्यकताको शृखलाबद्ध सिद्धान्त प्रतिपादन गरेका छन् । मानिसको एउटा आवस्यकता पूरा भएपछि तत्कालै अर्काे आवस्यकता सिर्जना हुन्छ जुन नयाँ आवस्कताले खुसीलाई टाढा बनाउँदै लान्छ र आवस्यकता पूरा नहुँदासम्म अधिकांश समय चिन्तामा बिताउँछ ।

डेनिस बेइटलेले भनेका छन् कि, व्यक्तिगत सन्तुष्टि व्यक्तिको सफलताको लागि महत्वपूर्ण अंश हो । यदि कुनै व्यक्ति जिन्दगीमा सन्तुष्ट छैन भने उ सफल हुन सक्दैन किनकि असन्तुष्ट मानिसले राम्रोसँग कार्य सम्पादन गर्न सक्दैन । यहाँ सन्तुष्ट भन्ने शब्दले आफ्नो काममा सन्तुष्ट, घरपरिवार तथा सन्तानसँग सन्तुष्ट, साथीभाइसँग सन्तुष्ट, सहकर्मीसँग सन्तुष्ट, आफ्ना हाकिमसँग सन्तुष्ट, आफ्नो रुपरंगसँग सन्तुष्ट, आफ्नो देश, समाज तथा परिस्थितिसँग सन्तुष्ट, आफ्नो आर्थिक हैसियतसँग सन्तुष्ट आदि जे पनि हुन सक्छन् ।

Advertisement

१ मानिस एउटा गाउँमा बस्थ्यो । डाँडाकाँडा, नदीनाला, रुखैरुखको बीचको फूलबारी बीचमा त्यो गाउँ बस्नको लागि अत्यन्तै राम्रो थियो । त्यति राम्रो गाउँमा बस्न पाउँदा भने त्यो मानिस कहिल्यै खुसी थिएन । उसलाई सहरको परिवेशले अत्यन्तै मोहित बनाएकाले उसले त्यो गाउँको घर बेचेर सहरमा घर खरिद गर्ने सोच बनायो । उसले रियलस्टेट व्यापार गर्ने उसको १ जना साथीसँग सहयोग माग्यो । रियलस्टेट व्यापारीले भोलिपल्ट पत्रिकामा एउटा विज्ञापन निकाल्यो जसमा लेखिएको थियो- एउटा स्वर्ग जस्तै घर बिक्रीमा ः सहरको भीडभाडबाट टाढा, पहाडले, नदी, झरना, रुखैरुखको बीचको प्राकृतिक फूलबारी, सदाबाहर फूलहरुको सुगन्ध आउने, १२ महिना नै ताजा हावा बहने, एउटा स्वर्ग जस्तो घर खरिद गर्न इच्छुक व्यक्तिले निवेदन दिनुहोला । पत्रिकाको विज्ञापन उक्त गाउँले मानिसले पढेपछि मन परेर विज्ञापनमा दिएको नम्बरमा सम्पर्क गर्दा थाहा पायो कि, विज्ञापन त उसैको घर रहेछ । गाउँले मानिस दंग प¥यो र उसले सोच्दै नसोचेको सपनाको घर त उ आफै बसेको घर रहेछ र खुसी भयो ।

धेरैजसो मानिसहरु कथाको मानिस जस्तै आफूसँग रहेका सुन्दर चिजहरुको पहिचान गर्न नसक्दा दुखी भइरहेका हुन्छन् । अरुमा भएका चिजहरु राम्रो देख्ने तर, आफूसँग भएका चिजहरु नराम्रो देख्ने बानीले खुसीहरु कम गराइरहेको हुन्छ । तर, हिजोसम्म अरु मानिसहरुमा भएको चिज आफूले हासिल गरेपछि भने मानिसले खुसीलाई धेरै दिनसम्म राखिरहन सक्दैन । दिन बित्दै जाँदा उसको खुसीमा पनि कमी हुँदै आउँछ र अर्काे चिजको आवस्यकताले फेरी खुसी हराउँदै लान्छ र फलस्वरुप फेरि दुखी बन्न पुग्छ ।

Advertisement

वास्तवमा धेरैजसो मानिसहरुलाई उसले जिन्दगीमा के पाउन खोजिरहेको थाहा हुँदैन । के का लागि असन्तुष्ट भएर दुखलाई निम्त्याइरहेका छन् । जिन्दगीभर पत्तो नै पाउँदैनन् । विश्वव्यापीकरणको अहिलेको युगमा मानिसहरुमा प्रधिस्पर्धाको नाममा अति महत्वकांक्षी मानिस बढ्दै गएको जसले गर्दा अत्यन्तै भागदौड र अव्यवस्थित जिवनशैलीले उनीहरुलाई व्यस्त बनाउनुको साथै खुसीबाट टाढिँदै गइरहेका छन् ।

मानिसहरु भविष्यको लागि धन सम्पत्ती जोड्नको लागि परिवारलाई समय दिन सकेका छैनन् । स्वादको लागि स्वास्थ बिगारिरहेका छन् । अहिले जुन चिज मुख मिठ्याई मिठ्याई खाइरहेका छन् । त्यस्तो खानपिनले गर्दा पछि रोग लागेर धेरै चिजको मुख बार्नुपर्ने हुन्छ । लोभ, लालचले गर्दा क्षणिक आनन्दमा भूलेर भाविष्यमा लामो समयको लागि दुखलाई निम्त्याइरहेका छन् ।

सन् १९८१ मा बनेको जीतेन्द्र र मौसमी चटर्जी अभिनीत हिन्दी चलचित्र प्यासा सावनमा हिरो जीतेन्द्र एकदम गरिव हुन्छन् । हिरोले हिरोइनलाई भोको पेट राख्नुपरेको वाध्यताको कारणले उनी धनी बन्ने संकल्प गर्छन् र दिन रात नभनी अथक मेहनत गर्छन् । केही वर्षको अथक मेहनतपछि हिरो एकदमै धनी व्यक्ति बन्छ । जब हिरो धनी बन्छ, श्रीमती मौसमी चटर्जी बिरामी पर्छे । अब हिरो श्रीमतीलाई जे पनि किनेर खुवाउने हैसियत पुगिसकेको हुन्छ तर बिडम्बना बिरामीको कारणले श्रीमतीले खानेकुराहरु बार्नुपर्ने भएकोले धनी भइकन पनि खानेकुराहरु खुवाउन सक्दैन ।

चलचित्रमा हिरोले धनी बन्ने दौडमा श्रीमतीलाई यथेष्ट समय दिन सकेको हुँदैन र श्रीमती बिरामी भइसकेको हुन्छिन् । जुन खुसीको लागि त्यति धेरै दौडधूप गरिरहेको हुन्छ, त्यही दौडधूप उनीहरुको दुखको कारण बन्न पुग्छ । हिरोइन जुन दिन खान सक्थिन, त्यतिखेर उनिहरुसँग खानेकुरा किन्ने पैसा थिएन तर, जुन दिन उनीहरुसँग प्रसस्त पैसा हुन्छ, हिरोइनले खान नसक्ने भइसकेकी हुन्छिन् ।

चलचित्रमा रहेको कथा आजभोलिको आम मानिसहरुको कथा हो । नेपालीमा भनाइ छ- उम्केको माछा ठूलो लाग्छ । जुन कुरा गुमाएको हुन्छ, त्यो कुरा हामीलाई ठूलो हुन्छ । तर, जुन कुरा हाँसिल गरेको हुन्छ, त्यो ठूलै भए पनि समयसँगै सानो लाग्दै जान्छ र गुमेको कुरालाई सम्झेर दुखी बन्न पुग्छ । नेपालीमा भनाइ नै छ- मानिसलाई १० हजार भेट्टाएको खुसीभन्दा १ हजार गुमाएको दुखले बढी सताउँछ । मानिसहरुको आफूलाई अर्काेसँग तुलना गर्ने बानीले गर्दा पनि दुखी भइरहेको पनि देखिन्छ । आफ्नो घर, परिवार, काम, पेसा, व्यवसाय, गाडी, समाज, देश, परिस्थिति आदि भन्दा अर्काको राम्रो देख्दा उनीहरु दुखी बनिरहेका हुन्छन् । जसको मुख्य कारण आफूसँग भएका चिजहरुसँग सन्तुष्ट नहुनु हो ।

यसमा कुनै दुईमत छैन कि, कडा मेहनत नै सफलताको शूत्र हो । तर, अधिकांश मानिसहरु सफलता, महत्वकांक्षाको नाममा जिन्दगीको सन्तुलन मिलाउन नसकेको कारणले गर्दा खुसीलाई टाढा बनाइरहेका छन् । मानिस खुसी हुन सबै कुराको सन्तुलन मिलाउन जरुरी हुन्छ र भएको चिजमा आनन्द लिन सक्नुपर्छ तर, यसको मतलब मेहनत गर्न छोड्नु भने हुँदैन । जे छ त्यसमा आनन्द लिने भन्नुको मतलब किन बढी परिश्रम गर्ने र सफलताको लागि किन दौडधूप गर्ने भन्ने अर्थमा भने बुझ्नु हुँदैन ।

अमेरिकी अभिनेत्री ड्रिउ ब्यारिमोरले भनेकी छिन् ः खुसी सबैभन्दा राम्रो श्रृंगार हो । मानिसले जतिसुकै मेकअप गरेता पनि खुसी छैन भने उ राम्रो देखिँदैन तर, खुसी मानिस राम्रो देखिन्छ । हामीले इन्टरनेटमा सर्च ग¥यौं भने गरिब बालबालिका च्यात्तिएको कपडा अनि खालि खुट्टामा पनि साथीहरुसँग आफ्नो धुनमा उन्मत्त हाँसोको साथ साथीहरुसँग खेलेको फोटो देख्न सक्छौं र तिनीहरु हामीलाई राम्रो पनि लाग्छ । राम्रो कपडा नलगाउँदा पनि उनीहरुको फोटा राम्रो लाग्नुमा उनीहरुको अनुहारमा झल्केको सन्तुष्टि हो ।

प्रत्येक मानिसहरु प्रकृतिका अमूल्य बरदान हुन् । सबै मानिसहरु विषेश छन् । विल्मा रुडोल्फ जन्मेदेखि नै पोलियोबाट ग्रस्त थिइन् । तर उनले आफू पोलियो रोगको कारणले दुखी भइनन् र आफू जे गर्न सक्थिन् गरिरहिन फलस्वरुप अथक मेहनतपछि ओलम्पिक विजेता बनिन् । हंगेरीका क्यारोली ट्याकस निशानेबाजमा ओलम्पिकमा हुनु केही अगाडि मात्र अभ्यासको क्रममा निशाना लगाउने दाहिने हातमा ग्रिनेड पड्किएर हात गुम्यो । तर, उनी आफ्नो गुमेको हातको कारणले दुखी नभइ बाँकी रहेको देब्रे हातले अभ्यास गर्न थाले र ओलम्पिक विजेता बने । संसारका अन्य सफल व्यक्तिहरुमा पनि केही कमी कमजोरी थिए, कोही एकदमै गरिब थिए । कोही शारीरिक हिसाबले असक्त थिए तर, ती व्यक्तिहरुले आफूमा रहेको कमी कमजोरीप्रति असन्तुष्ट भएर नबसी आफूमा जे छ, त्यसमा सन्तुष्ट भइ भएका चिजहरुको सही सदुपयोग गरेर अगाडि बढ्दै गएर महान सफलता प्राप्त गरे, इतिहास रचे । यी सफल व्यक्तिहरुबाट हामीसँग जे चिज उपलब्ध छ, त्यसमा सन्तुष्ट हुन सिक्यौं भने हाम्रो जीवनमा खुसी आउँछ भन्ने सिक्न सक्छौं ।

जिन्दगी खुसीसाथ बिताउने हो भने बिहान उठ्नासाथ आफूमाथि कृतज्ञ बनौं । उठ्नासाथ यति सुन्दर जिन्दगी दिनुभएकोमा भगवानलाई धन्यवाद दिऊँ । अनि यति राम्रो परिवार दिनुभएकोमा धन्यवाद दिऊँ । दुखसुखमा साथ दिएकोमा श्रीमान, श्रीमती तथा परिवारलाई, त्यस्तै, देश, समाज, हाकिम, सहकर्मी, सुन्दर दिन, सुन्दर जीवन, आदि आदि लाई धन्यवाद दिऊँ । प्रत्येक दिन कसैले आफूलाई गरेको सहयोग सम्झेर ऊ प्रति कृतज्ञ भइ मुस्कुराउने गरौं । यो क्रिया दिनदिनै ग¥यौं भने हाम्रो जिन्दगीमा खुसी थपिँदै जान्छ । याद राखौं– मेहनत गर्न नछाडौं । सन्तुष्टि भए खुसी आउँछ । सन्तुष्ट बनौं खुसीलाई सँधै कैद गरौं ।

(मल्ल ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत हुन्)

तपाईको प्रतिक्रिया