नयाँ बर्ष मनाउन पोखरेलीको निम्तो

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु

समाधान संवाददाता २०८० चैत २९ गते १९:५२

पोखरा ।

होटल संघ पोखरा नेपालको आयोजनामा ३ दिने १९ औं फेवा नव वर्ष महोत्सव बिहीबार सुरु भएको छ । पञ्चेबाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सव सुरुआत गरियो ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सव पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । मेयर आचार्यले फेवा तालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए । फेवातालका विषयमा अदालतले गरेको ६५ मिटरसम्बन्ध्ी फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिक पक्ष बुझ्ने काम भइरहेको जानकारी दिंदै उनले कसैलाई अन्याय नहुने गरी महानगर अगाडि बढ्ने विश्वास दिलाए ।

Advertisement

पोखरा पर्यटनको राजधानी घोषणा भएकोतर्फ संकेत गर्दै आचार्यले यहाँका व्यवसायी र नागरिकको व्यवहार पनि पर्यटक मैत्री हुनुपर्नेमा जोड दिए । रातभरि सञ्चालन हुने रात्रिकालीन व्यवसायका लागि छुट्टै अनुमति लिनुपर्ने र आवश्यक मापदण्ड पूरा गरेका व्यवसायको हकमा स्टिकर वितरण गर्ने गरी महानगरले तयारी अगाडि बढाएको उनको भनाइ छ ।

महोत्सवका संयोजक लक्ष्मण सुवेदीले रत्यौली, पञ्चेबाजा, भजनचुड्का र नेपाली खाना महोत्सव जस्ता आकर्षणलाई फेवा महोत्सवले समेटेको जानकारी गराए । निःशुल्क प्रवेशको व्यवस्था भएको र स्थानीय ड्यामसाइडचोकदेखि खहरे चोकसम्म आयोजित महोत्सवका पाहुनलाई होटलको बिलमा २० प्रतिशतसम्म छुटको घोषणा गरिएको संयोजक सुवेदीले जनाए ।

Advertisement

महोत्सवमा दर्जनौं झाँकी र जातीय तथा सामाजिक पोशाकमा सजिएका समूहको सहभागिता थियो । महोत्सव उद्घाटनअघि निकालिएका झाँकी र ¥याली खहरेचोक र ड्यामसाइडचोकबाट अम्मट पुगेका थिए । महोत्सवमा पर्यटक दौड, विभिन्न खाना बिक्री, नाचगानका कार्यक्रम, कन्सर्ट र नेपाली कला र संस्कृतिको प्रस्तुति समेटिएको आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङ, आयोजक संघका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, आयोजक संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठ, महिला सञ्जाल पोखरा ६ की अध्यक्ष बबिता मल्ल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया