मुस्ताङमा मेडिकल पूर्वाधार नहुँदा तीर्थालुलाई सास्ती

सुन्दरकुमार थकाली
मुस्ताङ
पोखरा भद्रकालीकी प्रीति गुरुङ आफ्ना सहकर्मी साथीसहित सोमबार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आइन् । पोखरादेखि स्कार्पियो जिप लिएर मुस्ताङ आएका उनीहरु जोमसोममै बसे । भोलिपल्ट बिहानै मुक्तिनाथ दर्शन गर्न पुगेका उनीहरु दिउँसो हस्याङफस्याङ गर्दै जोमसोम अस्पताल पुगे । अस्पताल आएका उनीहरु आकस्मिक कक्षमा पुगे । कारण थियो प्रीतिलाई हाइअल्टिच्युड अर्थात लेक लागेर बिरामी परेकी रहिछन् ।उनलाई तुरुन्तै अस्पतालमा भर्ना गरियो ।
प्रीतिका साथी सुशील ज्वारचनले उनलाई जोमसोम अस्पतालमा भर्ना गराए । उनले मुक्तिनाथमा अक्सिनसहितको मेडिकल नभएकाले जोमसोम ल्याउनु परेको दुखेसो गरे । मुक्तिनाथ मन्दिरबाटै प्रीतिलाई स्टेचरमा बोकेर बसपार्कसम्म ल्याइयो । उनलाई ल्याउँदा उपचार सुविधाका बारेमा कसैले त्यहाँ जानकारी गराएनन् ।
प्रीतिलाई लेक लागेर ल्याएको १ घन्टा बित्न नपाउँदै अर्का १ जना बिरामी तीर्थालु अस्पतालमा थपिए । बुटवलकी चिनु श्रेष्ठलाई मुक्तिनाथ पुग्दा लेक लागेको उनका साथीले बताए । ६० वर्षीया चिनुलाई कागबेनीमै लेक लागेको लक्षण देखा परेको उनका साथी हरिशरण कार्कीले बताए ।
मुक्तिनाथ पुग्दा उनलाई अल्टिच्युटले गाल्यो । त्यसपछि बिरामी परेकी चिनुलाई उनका साथीले हतारहतार जोमसोम अस्पताल पुर्याउनु परेको हो ।
कार्कीले भने, ‘महत्वपूर्ण धार्मिक स्थलमा अक्सिजनसहितको मेडिकल बन्दोबस्त नहुनु दुर्भाग्यको कुरा हो । दिनहुँ सयौं तीर्थालु पुग्ने स्थानमा सरकार तथा त्यहाँको व्यवस्थापन पक्षले ध्यान नदिनु कमजोरी हो ।’
उनले थपे, ‘मुक्तिनाथमा हजाराैं रुपैयाँ भेटी दान हुन्छ तर गएका तीर्थालुको हितमा लोभलाग्दो पक्ष कुनै देखिएन ।’ सदरमुकाम जोमसोम अस्पतालमा अहिले दिनहुँ २ देखि ३ जना तीर्थालुलाई अल्टिच्युड लागेर ल्याइन्छ । मेडिकल सुविधा उपलब्ध नहुँदा मुक्तिनाथमा कतिपय तीर्थालुले ज्यान पनि गुमाउनु परेको छ । केही दिनअघि मात्रै भारत तामिलनाडुका १ भारतीयले ज्यान गुमाउनु परेको थियो ।
मुक्तिनाथ पुराङ रानीपौवावासीको आग्रहमा झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव तारानाथ अधिकारीले मेडिकल कक्ष सञ्चालन गरेको मेडिकल भरपर्दाे छैन । रानीपौवाबासीले घर र कोठा उपलब्ध गराई सहयोग गर्ने भनेपछि प्राइभेट रुपमा मेडिकल कक्ष खोलेको उनले जानकारी दिए । उनले मेडिकलका लागि सबै स्रोतसाधन आफैंले जुटाउनु परेको बताए । झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव अधिकारीले बिरामी परेको खबर पाएपछि मोटरसाइकलमा मेडिकल पुग्ने गरेको सुनाए । ‘तीर्थयात्रीको चाप हुने सिजनमा श्रीमतीलाई पनि खटाउने गरेको छु ।’ अहेव अधिकारीले भने । उनकी श्रीमती अनमी हुन् ।
अहेव अधिकारीले २० दिनमा १ सय ६९ जनाको उपचार गरेको उल्लेख गरे । ‘औंसीको दिनमा मात्रै ४९ जनाको उपचार गर्न भ्याएँ,’ उनले भने ‘अक्सिजन र अन्य सामान्य बिरामीको उपचार गरेको छु ।’ उनले मिनी अक्सिजन सिलिन्डर राखेको बताउँदै यो पर्याप्त नभएको सुनाए । इलेक्ट्रिक प्रविधिको अक्सिजन भए अल्टिच्युड बिरामीको उपचारमा सहज हुने उनको भनाइ थियो । मेडिकल सञ्चालन गरेका अहेब अधिकारीले तीर्थयात्रीको उपचारका लागि गाउँपालिका र मुक्तिनाथ विकास समितिले चासो दिनुपवर्नेमा जोड दिए ।
मुक्तिनाथ मन्दिर पुग्न घोडाको सुविधा भए पनि फर्किदा पैदल हिड्नु र्ने अवस्था छ । स्थानीयको व्यापारिक सिन्डिकेटले पैदल हिँड्नु परेको हो । शारीरिक अशक्तता र अपांगता भएका तीर्थालुलाई मुक्तिनाथ दर्शन सास्ती बनेको हो । हिँडेरै ओरालो झर्नुपर्न भएकाले अल्टिच्युडको बढी समस्या देखिने गरेको पाइएको छ । केही वर्ष अघि आउजाउका लागि मोटरसाइकल सुविधा भए पनि अहिले त्यो सुविधा हटाइएको छ ।
अपांगमैत्री बाटो नभएकाले मन्दिर पुग्ने तीर्थालुलाई थप समस्या उब्जिएको अनेरास्ववियुका अध्यक्ष पेमाछेतेन विकले बताए । उनले मुक्तिनाथ विकास समिति कमाउनेमात्रै संस्था भएको र तीर्थालुको हितमा सोच्न नसकेको बताए ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया