हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की युक्रेनमा चुनिए नयाँ राष्ट्रपति
एजेन्सी, युक्रेन
केही समयअघि टेलिभिजनमा भोलोदमिर जेलेन्स्की राष्ट्रपतिको भूमिका निर्वाह गरिरहेका उनी अहिले साँच्चै युक्रेनको राष्ट्रपति निर्वाचित भएका छन् । ४१ वर्षीय जेलेन्स्कीले राष्ट्रपतीय चुनाव जितेका छन् त्यो पनि भारी मतका साथ ।
आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको मतदानमा जेलेन्स्कीले ७३ प्रतिशत मत पाएका छन् । उनका प्रतिष्पर्धी राष्ट्रपति पेट्रो पोरोसेन्कोले जम्मा २५ प्रतिशत मत ल्याएका छन् । औपचारिक रूपमा नतिजा घोषणा हुनु अगावै पोरोसेन्कोले हार स्वीकारिसकेका छन् ।
सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याएका छन् । त्यही भएर तीन साताअघि भएको पहिलो चरणमा ३० प्रतिशतमात्र मत पाएका उनले दोस्रो चरणमा आफ्नो पक्षमा ४५ प्रतिशत मत थपे । जबकी पहिलो चरणका ३७ उम्मेद्वारमध्ये १५ प्रतिशत मत पाएका राष्ट्रपतिले दोस्रो चरणमा १० प्रतिशत मात्र मत बढाउन सके ।
एक्जिट पोलका नतिजाहरू सार्वजनिक भएपछि राष्ट्रपति पोरोसेन्कोले चुनावी परिणामले अनिश्चितता र अस्थिरतातर्फ लिएको प्रतिक्रिया दिएका छन् । धनाढ्य पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई रूसमा गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए । तर उनको कार्यकाल पनि युक्रेनीको जीवनस्तरमा सुधार नआएको र सरकारी भ्रष्टाचार झन् बढेको भन्दै नागरिकमा असन्तुष्टि थियो । ‘म राष्ट्रपति कार्यालय छोड्नेछु तर जोड दिएर भन्न चाहन्छु, म राजनीति छोड्ने छैन,’ उनले भने ।
जेलेन्स्कीले भने समर्थकहरूलाई सम्बोधन गर्दै उनीहरूलाई निराश नपार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
चुनावी अभियानमा कुनै राजनीतिक र सामाजिक विषयलाई भन्दा अरू उम्मेदवारभन्दा आफू किन ठीक छु भन्ने कुरालाई एजेन्डा बनाएका जेलेन्स्कीले भने- आधिकारीक रूपमा म अझै राष्ट्रपति भइसकेको छैन । तर युक्रेनी नागरिकको हैसियतमा पोस्ट सोभियत युनियनका देशहरूलाई म भन्न सक्छ- हामीलाई हेर, जे कुरा पनि सम्भव छ ।
युक्रेनका राष्ट्रपतिलाई सुरक्षा, प्रतिरक्षा र विदेश नीति निर्धारणमा विशेष भूमिका हुन्छ ।
चुनावी प्रचारताका सरकार कसरी चलाउने भन्ने स्पष्ट भिजन सार्वजनिक नगरेको, यसअघि कुनै राजनीतिक जिम्मेवारी नसम्हालेको र संगठनभन्दा पनि स्टारडमको प्रयोग गरी नागरिकलाई हसाएर चुनाव जितेका जेलेन्स्कीले वास्तविक जीवनमा यसको प्रयोग कसरी गर्छन् भन्ने हेर्न बाँकी छ ।
उनको राष्ट्रपति कार्याकाल किन पनि कठिन छ भने युक्रेनको राजनीतिमा पूर्वीछिमेकी शक्ति राष्ट्र रूसको प्रभाव निकै बलियो छ ।
पाँच वर्षअघि रूसविरोधी नारा दिएर चुनाव जितेका हारपछि ट्वीटरमा भनेका लेखेका छन्- अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन् ।
तपाईको प्रतिक्रिया